Friday, September 20, 2024

राष्ट्रिय गौरवका आयोजनाको २२ अर्ब खर्च, कुन आयोजनाको कति ?

काठमाडौं– आर्थिक वर्ष २०७५-०७६ को ६ महिनामा राष्ट्रिय गौरवका आयोजनाको २२ अर्ब रुपैयाँ खर्च भएको छ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको बजेटको अर्धवार्षिक समीक्षा अनुसार गौरवका २२ वटा आयोजनाका लागि चालू आर्थिक वर्षमा ८८ अर्ब ५५ करोड ५७ लाख विनियोजन गरिएकोमा पुस मसान्तसम्म २२ अर्ब ८ करोड ७१ लाख अर्थात् २४ दशमलव ९ प्रतिशत रकम खर्च भएको छ।

मन्त्रालयका अनुसार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, उत्तरदक्षिण (कोशी) लोकमार्ग र उत्तरदक्षिण (कालीगण्डकी कोरिडोर) लोकमार्गको प्रगति राम्रो छ।

सरकारले आर्थिक वर्ष २०६८-०६९ देखि ऊर्जा, सडक, रेल, सिंचाइ, खानेपानी, विमानस्थल जस्ता ठूला योजनाहरूलाई प्राथमिकतामा राखेर राष्ट्रिय गौरवको योजनामा वर्गीकरण गर्दै आएको छ। सो अनुरुप आर्थिक वर्ष २०६८-०६९ मा १७ वटा योजनालाई राष्ट्रिय गौरवको योजनामा रुपान्तरण गरिएकोमा २०७०-०७१ मा थप ४ वटा र २०७२-०७३ मा थप १ गरी २२ वटा योजना सो अन्तर्गत रहेका छन्।

राष्ट्रिय गौरवका आयोजनामा पुष्पलाल (मध्यपहाडी) लोकमार्ग, मेलम्ची खानेपानी आयोजना, सिक्टा सिंचाइ आयोजना, रानीजमरा कुलरिया सिंचाइ आयोजना, भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना, गौतम बु्द्ध अन्तर्राष्ट्रिय विमानस्थल, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल समावेश छन्।

यसैगरी, पशुपति क्षेत्र विकास कोष, लुम्बिनी क्षेत्र विकास कोष, माथिल्लो तामाकोशी जलविद्युत आयोजना, काठमाडौं–तराई–मधेस द्रुतमार्ग, उत्तर–दक्षिण (कोशी) लोकमार्ग, उत्तर दक्षिण (कालीगण्डकी कोरिडोर) लोकमार्ग, उत्तर–दक्षिण (कर्णाली कोरिडोर) लोकमार्ग, हुलाकी राजमार्ग, रेल, मेट्रोरेल तथा मोनोरेल विकास आयोजना, बबई सिंचाइ आयोजना, गल्छी–त्रिशुली–मैलुंग–स्याफ्रुबेसी–रसुवागढी सडक, राष्ट्रपति चु्रे संरक्षण कार्यक्रम, बुढीगण्डकी जलविद्युत आयोजना र पश्चिम सेती जलविद्यु्त आयोजना पनि गौरवका आयोजनामा रहेका छन्।

नाेट: गाैरवका आयोजनामा २२ वटा रहेपनि अर्धवार्षिक समीक्षामा १९ वटा आयोजनाकाे मात्र विस्तृत खर्च विवरण उल्लेख छ।

ताजा समाचार

सम्बन्धित समाचार