Saturday, October 19, 2024

कहिलेसम्म आउँछ धारामा पानी ? यस्तो छ मेलम्चीको नालीवेली

काठमाण्डौ–बहुचर्चित मेलेम्ची खानेपानी आयोजनाको सुरुङ निर्माणको काम सम्पन्न भएको छ । काठमाण्डौ मेलम्ची २६ किलोमिटर सुरुङ निर्माणको काम मध्ये ३.९ मिटर काम मंगलवार पुरा भएको आयोजनाका बरिष्ठ ईन्जिनियर राजेन्द्र प्रसाद पन्तले जानकारी दिए । सुन्दरीजलदेखि सिन्धुसम्म करिब ९ किलोमिटर सुरुङ खन्ने काम १ वर्षअघि पूरा भइसकेको थियो । त्यसैगरी दुई महिनाअघि अम्बाथान–ग्यालथुम ९ किमि सुरुङ खन्ने काम सकिएको थियो । सरकारले गत असोजमा मेलम्चीको पानी उपत्यका ल्याउने प्रतिबद्धता जनाएको थियो ।

आगामी बिहीबार प्रधानमन्त्रीले विशेष कार्यक्रममा बीच औपचारिक घोषणा गर्ने आयोजनाले जनाएको छ । आयोजनाले हेडवक्र्सको मुख्य संरचना भेण्ट साफ्ट तथा सुरुङको फाइनल फिनिसिङको काम भने अझै बाँकी नै रहेको जनाएको छ । हालसम्म मेलम्ची आयोजनामा २४ अर्ब २२ करोड रुपैयाँ खर्च भैसकेको पनि जानकारी दिएको छ ।

आयोजनाले दोस्रो चरणको तयारी समेत थालेको जनाएको छ । जस अनुसार याङ्री र लार्के नदीबाट दैनिक १७ करोड लिटर गरी थप ३४ करोड लिटर खानेपानी थप गर्ने कामका लागि परामर्शदाता परिचालन भैसकेको बताइएको छ ।  परामर्शदाताले एक वर्षभित्रमा आयोजनाको विस्तृत डिजाइन प्रतिवदेन पेश गर्ने बताइएको छ । दोस्रो चरणको परियोजनाको पनि आगामी आर्थिक वर्षबाट निर्माणकार्य सुरु गर्ने आयोजनाले जनाएको छ ।

आयोजनाका अनुसार सुरुङमार्ग छिचोलिए पनि राजधानीमा पानी आउन राजधानीवासीले दशैंसम्म कुर्नुपर्ने छ । ‘मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्ने काम पुरा भएपछि फाईनल सपोर्टका लागि ढलान गर्ने काम सुरु हुनेछ,’ बरिष्ठ ईन्जिनियर पन्तले भने, ‘२६ किलोमिटर मध्ये २२ किलोमिटर ढलान गर्न बाँकी रहेको छ । सुरुङको ब्रेक थ्रु सँगै ५ ठाउँबाट ढलानको काम थालिने ईन्जिनियर पन्तले जानकारी दिए ।

‘पाँच ठाउँबाट ५० मिटरको दरले काम गर्दा दैनिक २ सय ५० मिटर काम सम्पन्न हुनेछ, उनले भने, ‘दैनिक २ सय ५० मिटरका दरमा काम गर्दा महिनामा ७.५ किलोमिटर काम पुरा हुनेछ ।’ जनशक्ति अभाव नभए आगामी तीन महिनासम्ममा मेलम्ची खानेपानी आयोजनाको सुरुङ भित्रको ढलानको काम सकिने छ ।  जनशक्ति भए तीन महिनामा ढलानको काम सम्पन्न गर्ने लक्ष्य आयोजनाको रहेको उनले जानकारी दिए ।

‘सुरुङ भित्र ढलान गर्नका लागि कन्क्रिट मेसिन ल्याईसकिएको छ,’ उनले भने, ‘अब आवश्यक भनेको सिमेन्ट, गिट्टी, वालुवा र जनशक्ति हो ।’ वर्षा लाग्नु भन्दा अगाडी आवश्यक सामग्री ल्याए तीन महिनामा काम पुरा हुनेछ । सुरुङको काम सकिएपछि हावा पास गर्नका लागि तीन ठाउँमा भ्यान्टिलेटर राखिने ईन्जिनियर पन्तले जानकारी दिए । ढलान सकिएपछि मेलम्चीको मुखमा र सुन्दरीजलमा १६ सय एमएमको पाईप राखिने उनले बताए ।

मेलम्चीबाट आएको पानी भण्डारणका लागि सुन्दरीजलमा दुई वटा पानी प्रशोधन केन्द्र रहनेछ । १७ करोड मिलीलिटर पानी अट्ने पानी भण्डारण मध्ये ९ करोड मिलिलिटर क्षमताको पानी भण्डारण निर्माण भईसकेको छ भने ८ करोड मिलिलिटर पानी भण्डारको आधा काम पुरा भईसकेको आयोजनाले जनायो ।

मेलम्ची खानेपानी पुरा भएपछि सुरुमा राजधानीबासीलाई प्रत्येक दिन ४ घण्टाको दरले पानी उपलब्ध गराउने जनाएको छ । काठमाण्डौको दैनिक माग ३९ करोड लिटर पानी आवश्यक पर्ने भएपनि मेलम्ची आयोजनाले पहिलो चरणमा मेलम्ची खोलाको पानी प्रति दिन १७ करोड लिटर पानी काठमाण्डौ उपत्यका खानेपानी मार्फत उपलब्ध गराईने काठमाण्डौ उपत्यका खानेपानी लिमिटेडका प्रवन्ध निर्देशक डा. महेश मास्केले बताए ।

हाल काठमाण्डौ उपत्यका खानेपानी लिमिटेडको ४० प्रतिशत पानी लिकेज भईरहेकोमा अब मेलम्ची आयोजना आएसँगै सबै समस्या हट्ने जनाएको छ । ‘एशियाली बिकास बैंकको सहयोगमा निर्माण भएको आयोजनाले पानी लिकेज हुन नदिन अत्याधुनिक यन्त्र जडान गर्ने लागेको छ, डा. मास्केले भने, ‘साउण्डिङ डिभाईस्, डाटा लक सिस्टम लगायतको प्रविधी प्रयोग हुनेछ ।’

मेलम्ची आयोजनाले काठमाण्डौ उपत्यका खानेपानीलाई हस्तान्तरण गरेपछि महांकाल, आरुबारी, तिगेनी, कटुञ्जे, बाँसबारी, बालाजु, पानीपोखरी, अनामनगर, मिनभवन, किर्तिपुर, खुमलटारमा पानीको भण्डार राखेर राजधानीबासीलाई पानी उपलब्ध गराउनेछ । उक्त पानी ट्याङ्कीको क्षमता ३ हजार क्युबिक मिलिलिटर देखि ९ हजार क्युबिक मिलिलिटरको हुनेछ । मेलम्चीदेखि लार्केबीचको सुरुङको लम्बाइ ११ किमि छ । मेलम्चीबाट आउने दैनिक १७ करोड लिटर पानी टयांकीमार्फत उपत्यकाका ३५ लाख बढी जनतालाई समानुपातिक ढंगले वितरण गरिने केयुकेयलका प्रवन्ध निर्देशक डा.मास्केले बताए । १७ करोड मेलम्ची, १७ करोड याङग्री र १७ करोड लार्के गरी दैनिक ५१ करोड लिटर पानी उपत्यकामा ल्याईनेछ । हाल काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले सुन्दरीजललगायत विभिन्न स्थानबाट ल्याईएको पानी वितरण गर्दै आएको छ ।

मेलम्चीको पानी काठमाण्डौ आएपछि तीन महिना टेस्ट गरिनेछ । उपत्यकाको ११ वटा ठाउँमा ट्याङ्की निर्माण गरेर पानीको वितरण गरिने मेलम्ची आयोजनाका निर्देशक रामचन्द्र देवकोटाले जानकारी दिए । पटक–पटक प्रतिबद्धता फेर्दै आएको सरकारले नयाँ वर्षको सुरुमै उपत्यकामा पानी ल्याउने दाबी गरेको छ । ‘सिन्धु अडिटदेखि सुन्दरीजलसम्म सबभन्दा लामो सुरुङखण्ड हो, त्यो जोडिइसक्यो । सुरुङको काम पूरा भइसकेको छ ।

‘सन् २०१८ अगष्ट महिना सम्म पानी सुन्दरीजल आईपुग्नेछ, निर्देशक देवकोटाले भने, ‘मेलम्चीले काठमाण्डौ रिङरोड भित्रको ६० प्रतिशत काम पुरा गरिसकेको छ ।’खानेपानीको समानुपातिक वितरणका लागि ८० हजार धारा जडान भइरहेको खानेपानी आयोजना निर्देशनालयका निर्देशक त्रिरेशप्रसाद खत्रीले जानकारी दिए । जसमध्ये ४० हजारभन्दा बढी धारा जडान भइसकेका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार