Saturday, October 19, 2024

बाँदरको मृत्युप्रति किन संवेदनाशून्य ?

मृतक बच्चालाई काखमा राखेर रुदै आमा बाँदर

काठमाडौं । सोमबार विहानीपख । सदा झै पशुपति क्षेत्रमा तिर्थालुहरुको भीड बढ्दै थियो । यताउताको चहलपहल पनि बढ्दै थियो । बाँदरहरु आफ्ना बथानसँगै खेल्न व्यस्त देखिन्थे ।

धेरैजसो आमा बाँदरहरु आफ्ना सन्तान बोकेर सडक किनार तिर खानेकुरा खोजिरहेका थिए । यतिकैमा गौशालाबाट पशुपति तिर हुँइकिदै गरेको निजी नम्बर प्लेटको गाडी आयो । सडकमा खेलीरहेका बाँदरमध्ये एक बाँदरको बच्चालाई गाडीले वास्तै नगरी किचेर अगाडी बढ्यो, त्यसपछि त  गाडी झन् तुफानले हँुईकियो ।

पशुपति क्षेत्रमा विगत लामो समयदेखि सडकपेटीमा पूजा सामाग्री बेच्दै आएकी विष्णुमाया पोखरेलले घटनाको दुःखद् स्मरण गदै भनिन्– ‘चोट लागेपछि वच्चा वाँदर निकै चिच्याईन । आमा बाँदर लगायत सबै बाँदरहरु भेला भए । आमाले घाइते बच्चालाई सडक छेउ पु¥याउँदासम्म उसको प्राण गइसकेको रहेछ ।’

घटना भएको क्षेत्रमा मानिसको भीड समेत लाग्यो । कसैले रमाइलो माने भने केहीले बाँदरको पारिवारिक शोकमा पीडा बोध गरे । वाँदरको वच्चालाई किचेको गाडी एकछिन पनि रोकिएन । उल्टै जानाजान किचेजस्तै उ झन् भाग्यो । बाँदर भएकै कारण मान्छेले उसको पारिवारिक शोकको परवाह नगरेको हुन सक्ने विष्णुको वुझाई छ ।

उनी थप्छीन– ‘चार ओटा बाँदरले शव राखेर बिहानभर बसिरहे । ती सबै उसको परिवारका सदस्य हुनुपर्छ । रुदैँ आँखा पु्छदै टुलुटुलु हेरिरहे । म पनि निरिह भएर उसको पीडा नियाँले, जनावर भएकाले हुनुपर्छ वाँदरको मृत्युमा मानिसलाई मतलब नै भएन ।’

पशुपति क्षेत्रमा विष्णुले देखेको यो प्रतिनिधी घटनामात्रै हो । निमुखा प्राणी भएकाले उनीहरुले आफ्नो पीडा र चोट व्यक्त गर्न मात्रै नसेकेका हुन् ।  ‘मैले यस्ता धेरै घटना देखेँ तर मानवीय कमजोरी हुने कुनै पनि घटनामा दोषी ठह¥याएको छैन्, न त कसैले कारवाही नै भोगेका छन,’ उनले भनिन् ।

यसरी दुर्घटनामा परि कैयौं वन्यजन्तुको मृत्यु हुने गरेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले बताउँछ । आर्थिक वर्ष २०७३÷७४ मा १३३ वन्य जन्तुको दुर्घटनामा मृत्यु भएको तथ्यांक छ । यसरी मर्नेमा सबैभन्दा धेरै वन्यजन्तु बर्दिया राष्ट्रिय निकुञ्जमा छन् ।  

०७३÷७४ मा बर्दियामा मात्रै ६६ वटा वन्यजन्तु राजमार्ग दुर्घटनामा परी मरेका छन् । जसमा ३८ वटा चित्तल,४ वटा रतुवा , ७ बंदेल , ५ वटा लंगुर , ५ जरायो ५ , १ सर्प , २ बाँदर, १ खरायो, १ बाघ,१ दुम्सी र १ अजिङ्गर रहेका छन् ।

त्यस्तै बाँके राष्ट्रिय निकुञ्जमा ५८ वन्यजन्तुको दुर्घटनामा मृत्यु भएको छ । २१ बँदेल,१० चित्तल, ९ बाँदर, २ नील गाइ, २ वन कुकुर, २ अजिंगर,२ मलसाप्रो, ५ दुम्सी, एक– एक  खरायो र सुनगोहोरा रहेका छन् ।

पर्सा राष्ट्रिय निकुञ्जको राजमार्ग दुर्घटना ७ वटा वन्यजन्तु मरेका छन् । पर्सा निकुञ्जमा २ वटा चित्तल, २ वटा बँदेल ,जरायो एउटा, लगुना र बाँदर एउटा–एउटा मरेका छन् । त्यसैगरी चितवन राष्ट्रिय निकुञ्जमा राजमार्ग दुघर्टनाबाट एउटा चित्तल मरेको छ । लाङटाङ राष्ट्रिय निकुञ्जमा एउटा रतुवा मृगको मरेको छ । विभागका सुचना अधिकारी नारायण रुपाखेतीले वन्यजन्तुको मृत्यु हुने मुख्य कारण सडक दुर्घटना र प्राकृतिक रहेको बताउँछन् ।

उनका अनुसार गत वर्ष राष्ट्रिय निकुञ्ज/आरक्ष/संरक्षण क्षेत्रमा ३० प्रजातिका ३२६ वटा वन्यजन्तुको मृत्यु भएको थियो । जसमध्ये १३३ सडक दुर्घटनामा,१०१ प्रकृतिक कारण र बाँकी ९२ अन्य कारणले मृत्युभएको विभागले जनाएको छ ।

त्यसैगरी सुचना अधिकारी रुपाखेतीले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ का उपदफा (२) मा संरक्षित वन्यजन्तु मार्ने वा घाइते बनाउनेलाई एक लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिबाना वा एक वर्ष देखि दश वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था रहेको बताउँछन् ।

त्यस्तै संरक्षित वन्यजन्तु बाहेक अन्य वन्यजन्तु मारेमा वा घाइते बनाएमा २० हजार रुपैयाँदेखि ५० हजार रुपैयाँ सम्म जरिवाना वा ६ महिनादेखि १ वर्षसम्म कैद वा दुवै सजाँयको व्यवस्था रहेको छ ।

सुचना अधिकारी रुपाखेतीले आ.व.२०७३/७४ मा राष्ट्रिय निकुञ्ज/आरक्ष/संरक्षण क्षेत्रमा वन तथा वन्यजन्तु सम्बन्धी ११४ वटा मुद्दाहरु दर्ता भएका थिए जसमध्ये २५ वटा मुद्दाहरु फैसला भएका थिए र बाँकी ८९ वटा मुद्दाहरु जिल्ला अदालत र सम्बन्धीत राष्ट्रिय निकुञ्ज/आरक्ष/संरक्षण क्षेत्र कार्यालयमा बिचाराधीन अवस्थामा रहेको छन् ।

रिपोर्ट/ तस्बीरः खेमा बस्नेत

 

 

 

ताजा समाचार

सम्बन्धित समाचार