Sunday, November 24, 2024

पानी भरिदैछ पाँचथरका पोखरीहरुमा संरक्षण एवं विस्तारमा जुटे स्थानीयबासी

जिल्लाको मिक्लाजुङ गाउँपालिका–१ उत्तरे वजारका स्थानीयबासीहरु यतिवेला पोखरीको संरक्षणमा जुटेका छन् । जलवायु परिवर्तनका कारण पानीका स्रोतहरु धमाधम सुक्न लागेको वेला स्थानियवासीको यो पहल प्रशंसनिय देखिन्छ ।

पाँचबर्ष पहिला हिउँदको समयमा करिब–करिब पोखरी सुक्ने अबस्थामा पुगेको थियो तर अहिले पोखरी पानीले भरिएको छ । कमल पोखरी संरक्षण समितीका अध्यक्ष  भरतकुमार आङदेम्बे भन्छन, ‘पहिला एउटा मात्र पोखरी थियो तर अहिले स्थानीयवासीको सहयोगमा ३ वटा पोखरीमा टन्न पानी भरिएको छ ।’

उनी थप्छन,‘हामीलाई पोखरी संरक्षण गर्नुपर्छ भनेर कसैले पनि जानकारी गराएको थिएन । माओवादी जनयुद्धको समयमा घरबाट टाढा गएर श्रम गर्न जानुको सट्टा पोखरीको संरक्षण गर्ने कार्यमा लाग्यौ ।’ स्थानिय वासिन्दाहरुले कुनै पनि विशेष कार्यक्रम नवनाइकन आफ्नै पहलमा पोखरीको संरक्षण शुरु गरेका हुन् ।

स्थानियको पहललाई सहयोग गर्न जिल्ला भूसंरक्षण कार्यालय पाँचथरले ग्याबिन पर्खाल लगाउनका लागि सहयोग गरेको थियो । त्यसैगरी मेची पहाडी क्षेत्र पर्यटन बिकास तथा प्रवद्र्धन समितीले संरक्षणका लागि सहयोग गरिरहेको छ । स्थानियवासीले अहिले भएका दुईवटा पोखरीमा पानी भरिन लागेकाले तेस्रो पोखरी निर्माणको कार्यलाई अगाडी वढाएका छन् । स्थानिय जनता गाउँमा सातवटा पोखरी निर्माण गर्ने तयारीमा छन् ।

कमल पोखरी छेउमा रहेको सानो पानीको स्रोत र सिमसारलाई छेकेर अर्को पोखरी समेत उनीहरुले निर्माण गरेका छन । अहिले कमल पोखरी आसपासमा तीनवटा पोखरी बनेका छन जुन पोखरीमा रहेका सुनौला माछा हेर्न र घुम्न आउने आन्तरिक पर्यटकहरु समेत बढेको स्थानीय शिक्षक गायत्रीप्रसाद रिजालले वताए ।

पोखरीमा पानीको मात्रा बढेपछि त्यस ठाउँबाट शुरु हुने सावाँ खोलाको पानी बढेको छ । ‘यसले खानेपानी सिंचाई गर्नमा सहयोग गरेको छ,’ वडा अध्यक्ष बिष्णुकुमार राईले भने । उत्तरे पोखरी मात्र होइन अहिले जिल्लाका अन्य पोखरीहरको समेत संरक्षणमा स्थानीयवासीहरु जुटेका छन । पाँचथरकै मिक्लाजुङ गाउँपालिकाको वडा नं ७ मा रहेको गोदुला भोजुला सिमसारलाई संरक्षण गरेर स्थानीय लाली गुराँस क्लबले गोजुला भोजुला ताल बनाएको छ ।

तीन सय मिटर लम्बाई एक सय ४० मिटर चौडाइ रहेको यो तालमा अहिले जंगली हाँस सारस लगायत ४÷५ प्रजातीका चराहरु आउने गरेको क्लबका सदस्य बिराज राईले जानकारी दिए । राकेभञ्ज्याङ–रबि–छनम्बर बुधबारे सडकको कन्याटार कम्प्युटार खण्डले छोएको सो ताल घुम्न आउनेको संख्या समेत बढ्दै गएको छ । बिदाको समय र अन्य चाडबाडका बेला यो ताल हेर्नका लागि धनकुटा इलामबाट समेत पर्यटकहरु आउने गरेको राईले वताए ।

गाई बस्तु चराउने ठाउँको रुपमा प्रयोग भइ रहेको सिमसारलाई स्थानीय क्लबले संरक्षण गरेर ताल बनाए पछि गाउँको सुन्दरता बढेको त्यस तालबाट बगेर जाने कोप्चे खोलामा पानीको स्रोत बढेको र अहिले नै यहाँ आन्तरिक पर्यटक समेत आउने गरेको हुनाले यो तालले पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने स्थानिय शिक्षिका सुष्मा राईले जानकारी दिइन् ।

यसै गरी फिदिम नगरपालिका– ८ मा पर्ने साधुटारमा रहेको पुरानो सुकाइएको पोखरीको ठाउँमा स्थानीय युवाहरुले पुन पानीको ब्यबस्था गरेर पोखरीको रुप दिए पछि अहिले मिनी मुस्ताङ अवलोकन भनेर पर्यटकहरु आउन थालेका छन् । पहिला विभिन्न गतिविधीका कारण पोखरी सुक्न गयो अहिले युवाहरुले फेरी पोखरी वनाएका छन् । पाँचथरको हिलीहाङ गाउँपालिका– ६ मा पर्ने जोरपोखरीले पनि अहिले पर्यटकको ध्यान खिच्न थालेको छ । ५÷६ बर्ष अघि हिउँदमा सुक्ने अवस्थामा पुगेको पोखरीको संरक्षणको पहल गरेपछि अहिले हेर्न लायक मात्र होइन प्रशस्त मात्रामा पर्यटक समेत आउने गरेको छ ।

केही बर्ष अघिसम्म हिउँदमा पानी सुक्ने अबस्थामा पुगेको पोखरीमा अहिले रंगि चंगी माछाले भरिएको देख्न पाइन्छ  जोरपोखरी आगेजुङ पर्यटन बिकास समाजका सचिव रबिन तिम्सिनाले जानकारी दिए ।  पोखरीमा पानीको मात्रा बढे पछि बिभिन्न प्रजातिका चराहरु र मृगहरु समेत बेला बेलामा आउने गरेको उनले वताए ।

 मेची राजमार्गको जोरपोखरी बजार छेउमा रहेको सो पोखरी पर्यटकिय र धार्मिक दृष्टिले समेत महत्वपूर्ण छ । यसले यस जिल्लाकै प्रमुख पर्यटक केन्द्रको रुपमा विकास गर्न सकिने भएकाले स्थानियहरु यसको संरक्षणमा जुटेका हुन् । राजमार्गको छेवैमा रहेको सो पोखरीमा रहेको सुनौला माछा हेर्न अनि फोटो खिच्न र घुम्नका लागि दिनमा १०÷१२ जना आन्तरिक पर्यटकहरु आउने गरेको होटल व्यवसायी कर्णश्याम लावतीले जानकारी दिए ।

 पाँचथरको फालेलुङ गाउँपालिकाको वटा नं ३ मेमेङको सुकेधापमा रहेको सुकेपोखरीलाई पनि स्थानीयवासीले संरक्षण गर्न थालेपछि अहिले पोखरीमा पानी बढ्नुका साथै पोखरीका सुन्दरतामा वृद्धि भएको छ । ‘केही बर्ष अघिसम्म पोखरीको वेहाल थियो गाउँका युवाहरु मिलेर पोखरीको वरिपरि सरसफाई गर्ने अनि वाल लगाए पछि पोखरीको रुप नै फेरिएको छ,’ स्थानिय पत्रकार दिपेन्द्र राईको भनाई छ ।

पाँचथर उद्योग बाणिज्य संघका अध्यक्ष मित्रप्रसाद काप्mले तालहरुको संरक्षणले स्थानियको आय स्रोतको वाटो खुल्ने वताए । ‘अहिले हामी कहाँ भएका खोलाका मुहान अनि पोखरीहरु सुक्दै गईरहेको समयमा जिल्लामा पोखरी संरक्षणमा युवाहरुको सचेतना आउनु सुखद पक्ष हो,’ उनले भने । जैविक विविधता तथा पर्यटन क्षेत्रमा कार्यरत संस्था दिपज्योति क्लव पाँचथरका कार्यकारी निर्देशक सुनिल वान्तवा राईले तालहरुको संरक्षणले जलवायु परिवर्तनको असरलाई कम गर्न सहयोग पुग्ने वताए ।

ताजा समाचार

सम्बन्धित समाचार