Monday, April 21, 2025

जलचर प्राणीको संरक्षणमा सरोकारवालाको चासो

केही वर्षयता कर्णाली लगायत अन्य सहायक नदीमा बस्ने प्राणी लोप हुन थालेपछि स्थानीयवासी चिन्तित बन्न थालेका छन् ।

कर्णाली नदीमा पाइने सहर जातीका माछा, स–साना भूरामाछा, घडियाल गोही, विश्वमै दुलर्भ मानिने डल्फिन लगायतका प्राणीहरु लोप हुन थालेपछि उनीहरु चिन्तित बनेका हुन् ।  

गत  शनिबार नेपाल वातावरण पत्रकार समूहले टिकापुरमा आयोजना गरेको पानी छलफल कार्यक्रममा सरोकारवालाहरुले सो चासो व्यक्त गरेका हुन् । सो छलफलमा पानीजन्य प्राणीहरुको संरक्षण कसरी गर्ने भन्ने विषयमा व्यापक छलफल भएको थियो ।

पानी जन्य प्राणी लोप हुन थालेपछि तिनीहरुको संरक्षणका लागि विशेष नीति बनाएर कार्यान्वनमा ल्याउन पहल गर्नुपर्ने रानी जमरा कुलरिया जल सिँचाई मूल कुला उपभोक्ता समितिका सचिव परशुराम चौधरीले जानकारी दिए । पृथ्वीमा भएका अन्य प्राणी सरह बाँच्न पाउने अधिकार पानीमा बस्ने प्राणीको पनि भएकोले तिनीहरुको संरक्षणका लागि मानवजातीले सोच्ने बेला आएको उनको भनाइ छ ।

विगत २०/२५ वर्ष अघि कर्णाली नदीमा सहर (महाशेर) माछा छ्यापछ्याप्ती पाइने गरेकोमा अहिले निकै कम भएको संरक्षणकर्मीको गुनासो छ । ‘कर्णाली नदीमा २० देखि ३० केजी सम्मका  सहर (महाशेर) माछा पाइने गरेकोमा अहिले हराएर गएको देखिन्छ, कर्णाली नदीमा जथाभावी माछा मार्ने प्रचलनले पानीजन्य प्राणाीहरु संकटमा पर्दै गएकोले त्यसलाई रोक्नुपर्ने आवश्यकता देखिन्छ,’ सचिव चौधरीले भने ।

पर्यटन व्यवसायी थर्कबहादुर शाह सहर प्रजातिका माछाको संख्या घट्दै गएकोले कैलालीका सबै नदी खोलमा माछा मार्ने कार्यमा रोक लगाउनुको विकल्प नभएको बताउँछन् । उनी भन्छन– ‘जाल हानेर, विषादी प्रयोग गरेर माछा मारिन थालेपछि उनीहरु संकटमा परेका छन् ।’

त्यसले गर्दा डल्फिन, घडियाल गोही पनि कम देखिन थालेको शाहको भनाइ छ । कर्णाली नदीमा चैत १५ देखि असार १५ सम्म गरी तीन महिना माछा मार्न प्रतिबन्ध लगाउनुपर्छ, प्रतिबन्ध नलगाउने हो भने डल्फिन, घडियाल गोही र सहरमाछा केही वर्षपछि देखिनै मुस्किल पर्ने शाहको भनाई छ ।

सहरमाछा, डल्फिन, घडियाल, ओतरको आहारा ससाना माछाका भूरा हुन, ती माछाका भूरा पनि मानवीय गतिविधिका कारण कम हुन थालेको रानी जमरा कुलरिया सिचाई कुलो समितिका अध्यक्ष लालबीर चौधरी बताउँछन् । उनी भन्छन्– ‘मानवीय गतिविधिका कारण कर्णाली नदीमा पाइने पानीजन्य प्राणी लोप भएर जान थालेका हुन् ।’

कर्णाली नदीमा मात्रै होइन् सो नदीमा मिसिने मोहना लगायत अन्य सहायक नदीनालामा पानीको सतह बढेका बेला सहरमाछा, डल्फिन, घडियाल, ओतर देखिने गरेको डल्फिन संरक्षण केन्द्रका सचिव विजयराज श्रेष्ठ बताउँछन् ।

जथाभावी माछा मार्ने प्रचलनले गर्दा सहरमाछा, डल्फिन, घडियाल, ओतर जस्ता पर्या पर्यटनका लागि महत्वपूर्ण मानिने जलचर प्राणाी लोप हुनु दुःखद भएको उनको भनाई छ । उनी भन्छन्– ‘सहरमाछा, डल्फिन, घडियाल, ओतर जस्ता पानीजन्य प्राणीको संरक्षणका लागि जनस्तरबाटै लाग्नुपर्छ ।’

कर्णाली, मोहना नदीमा जिल्ला समन्य समितिले विगत लामो समयदेखि ठेक्का आव्हान गर्दै आएको छ । माछा मार्नका लागि ठेक्का दिने गरेका कारणले पनि महत्वपूर्ण जलचल प्राणी लोप हुनुको कारण भएको डल्फिन संरक्षण केन्द्रका संयोजक भोजराज ढुंगानाको भनाई छ ।  टीकापुर नगरपालिकाले नदी, ताल तलैया र जलचर प्राणीको संरक्षणका लागि नीति बनाएर लागू गर्ने उपप्रमुख केशरी विष्टले बताइन् ।

कर्णाली, मोहना नदीमा पाइने डल्फिन र माछा संरक्षणका लागि नदीमा माछा मार्ने सम्बन्धी टेण्डर रद्द गरिने जिल्ला समन्वय समिति कैलालीका संयोजक सूर्यबहादुर  थापाको दाबी छ । विगतमा माछा मार्नका लागि टेण्डर गरिँदै आएकोमा अब आफूले स्थानीय तहसँग छलफल र समन्वय गरेर सो कार्य रोक्न पहल गर्ने थापाको भनाइ छ । उनले कैलालीका सबै स्थानीय तहाई पानी र प्रकृतिको संरक्षण गर्ने योजना बनाउन आग्रह गरे ।

ताजा समाचार

सम्बन्धित समाचार