Saturday, October 19, 2024

फोहर पानीको प्रशोधनका प्रविधीहरुबारे गहन छलफल  

वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेतले नागरिकको स्वच्छ वातावरणमा बस्न पाउने संवैधानिक अधिकारको संरक्षण र प्रत्याभूतिको लागि फोहर पानी र ढलको उचित प्रशोधन र व्यवस्थापन आवश्यक रहेको वताएका छन् ।

नेपालमा फोहर पानी प्रशोधनको विकेन्द्रीत मार्गचित्रः दक्षिण  एशियाली अनुभवबाट सिकाई विषयक एक दिने अन्तराष्ट्रिय गोष्ठीको उद्घाटन गदै मन्त्री वस्नेतले पानीको अभावलाई पूर्ति गर्ने, वातावरण स्वच्छ पार्ने र सफा पानीको स्रोतलाई जोगाउनका लागि पनि फोहर पानीको प्रशोधन अनिवार्य भएको जिकिर गरे । उनले सन २०३० सम्म संयुक्त राष्ट्रसंघद्धारा निर्धारित दिगो विकासका लक्ष्यहरु प्राप्त गर्ने प्रतिबद्धता व्यक्त गरेको हुनाले नेपालले सरसफाईको क्षेत्रमा विशेष तयारीका साथ काम गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा पूर्व मन्त्री गणेश शाहले फोहरलाई पनि स्रोतको रुपमा प्रयोग गर्न सकिने वताए । उनले फोहर पानीलाई प्रशोधन गरेर शुद्ध बनाउन ९ गुणा वढी खर्च लाग्ने बताउँदै भने,“यसैले प्रदूषण गर्नु अपराध हो र प्रदूषकहरुलाई दण्ड वा जरिवाना गरिने व्यवस्था गर्नुपर्छ ।” शाहले पानीलाई प्रशोधन गरी शुद्ध पारेर मात्र अन्य पानीको स्रोतमा मिसाउन पाइने व्यवस्था गर्नको लागि प्रशोधित पानीको गुणस्तरको पनि मापदण्ड बनाउनुपर्नेमा जोड दिए ।  

कार्यक्रममा नेपाल इञ्जिनियर्स एशोसियसनका अध्यक्ष हरेराम श्रेष्ठले  जनसंख्या बढेपछि फोहर पनि बढने भएकोले वातावरण स्वच्छ राख्न फोहरको उचित व्यवस्थापनमा जोड दिए ।  गोष्ठीको उद्घाटन समारोहलाई सम्बोधन गर्दै विल एण्ड मिलिन्दा गेट्स फाउण्डेशनका डा. रोशनराज श्रेष्ठले दक्षिण एशियाली देशहरुमा फोहर पानी प्रशोधनमा धेरै किसिमका प्रविधिमा आधारित थुप्रै प्रणालीहरु प्रयोगमा आइसकेकोले दिगो विकासका लक्ष्यहरु हासिल गर्न तिनलाई तीव्र गतिमा विस्तार गरी उपयोगमा ल्याउन आवश्यक रहेको वताए ।

उद्घाटन कार्यक्रमलाई वातावरण तथा स्वास्थ्य संस्थाका अध्यक्ष तथा वातावरणविद् भूषण तुलाधरले नेपालमा ९६ प्रतिशत घरपरिवारमा चर्पीको सुविधा भए पनि चर्पीमा जम्मा भएको फोहरको व्यवस्थापन चुनौति पूर्ण रहेको वताए । कार्यक्रममा सोसाइटी अफ पब्लिक हेल्थ इञ्जिनियर्स अफ नेपाल(सोफेन)का अध्यक्ष रामदीप साहले यसै बर्ष सम्पन्न निर्वाचनबाट स्थानीय र प्रादेशिक तहमा आएका राजनीतिक नेतृत्व सरसफाईप्रति अत्यन्त संवेदनशील देखिएको र साझेदारीमा काम गर्न इच्छुक देखिएकोले यो अवसरलाई उपयोग गर्नुपर्ने वताए । मंगलबारदेखि आयोजना हुने पानी,वातावरण र जलवायु परिवर्तन सम्बन्धी अन्तराष्ट््िरय सम्मलेनको पूर्व कार्यक्रमको रुपमा रहेको आजको गोष्ठीमा साना स्तरका सरसफाई प्रणालीका बारेमा नेपाल, भारत, वंगलादेश र पाकिस्तानका अनुभवहरुमा आधारित कार्यपत्र प्रस्तुत भई छलफल भईरहेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार