Friday, September 20, 2024

नासिँदै गैंडहवा ताल, संरक्षणमा गाउँपालिकाको बेवास्ता

रुपन्देही–विश्व रामसार सूचीमा सूचीकृतका लागि प्रस्तावित जैविक विविधताले महत्वपूर्ण रुपन्देहीको गैंडहवास्थित गैंडहवा ताल संरक्षणको अभावमा नासिँदै गएको छ।

   गैंडहवा गाउँपालिकाका स्थानीय बाबुराम मल्ल गाउँपालिकाले ताल माछा पालनको लागि ठेक्कामा लगाउँदा तालको जैविक विविधता नासिन पुगेको बताउँछन्। सिमसार क्षेत्रका जानकार शैलेन्द्र पोखरेलका भनाइमा, गैंडहवा ताल सिंचाइ र जैविक विविधताका हिसावले धेरै महत्वपूण ताल हो। ताल तथा वरिपरिका क्षेत्रमा २ सय प्रजातिका चराचुरुङ्गी, २० प्रजातिका घस्रने जीवजन्तु, निलगाई, कछुवा, पाइन्छन्। पोखरेलका अनुसार, अहिलेसम्म नेपालका अन्य ठाउँमा कहिंकतै नपाइएको इण्डियन आई टटल प्रजातिको कछुवा गैंडहवामा पाइएको थियो। गाउँपालिकाले उक्त ताललाई पाँच वर्षको लागि ८५ लाखमा ठेक्का दिएको छ।

यो ताल क्षेत्र भुंडिफोर, सारस लगायत लोपोन्मुख चराको वासस्थान हो। यस बाहेक गर्मीयाममा तालकै कारण सितलताको महसुश हुने स्थानीयको अनुभव छ। मल्लका भनाइमा हिउँदको समयमा तालमा जाडो छल्न सावेरिया, मंगोलिया लगायतका ठाउँबाट चरा आउने गरेकोमा पछिल्लो समयमा त्यो क्रम घट्दै गएको छ।

‘माछा पाल्ने ठेकदारले तालमा पानी सुकाउने र मानिसको गतिविधि धेरै हुँदा आगन्तुक चराहरु घटेका छन्,’ मल्ल भन्छन्, ‘हिउँदमा त आगन्तुक चराले ताल छपक्कै छोपिन्थ्यो । अहिले त, छिटफुट रुपमा मात्रै चरा आउँछन्।’ मल्लका अनुसार ठेकदारले पालुवा माछा हुर्काउने नाममा रासायनिक मल तथा दानाको प्रयोग गर्दा तालका जलचर तथा प्राकृतिक वनस्पति पाइन छोडेका छन्।

त्यसबाहेक गैंडहवा ताल भूमिगत पानीको भण्डार हो। बर्खाको समयमा तालमा संकलन हुने पानीले गर्दा तालदेखि वरपरका क्षेत्रमा भूमिगत पानीको लागि सहयोग पुगेको तालदेखि दक्षिणको जोगडाका स्थानीय विजय शर्मा बताउँछन्।

पर्यापर्यटनको सम्भावना
जैविक विविधताले धनी यो क्षेत्रमा पर्यापर्यटनको राम्रो सम्भावना छ। पर्यटन व्यवसायी सागर अधिकारी लुम्विनी आउने पर्यटकलाई गैंडहवा पुर्याउन सकिने बताउँछन्। तर, त्यसका लागि तालको पूर्वाधार राम्रो हुनुपर्ने उनको भनाए छ।

बाह्रै महीना पानीसहित डुंगा सञ्चालन गर्न मिल्ने गरी व्यवस्थापन र सौन्दर्यकरण गर्दा गैंडहवा ताललाई पोखराको फेवाताल जस्तै बनाउन सकिने लुम्बिनीका अर्का पर्यटन व्यवसायी हिरामणी शर्मा बताउँछन्। ‘लुम्बिनी आएका पर्यटकलाई गैंडहवा आकर्षक गन्तव्य बन्न सक्छ, तर त्यहाँको पूर्वाधारमा ध्याउन दिनु आवश्यक छ,’ पौडेल भन्छन्।

गैंडहवा तालको सौन्दर्यकरणका लागि लामो समयदेखि लागेका रामअवतार यादव तालको विकासका लागि सरकारी निकायले सहयोग नगरेको गुनासो गर्छन्। उनी भन्छन्, ‘हामीले तालको विकासका लागि धेरै पहल गर्यौं, तर कसैले ध्यान दिएनन् । गाउँपालिकाको ध्यान ठेक्का दिएर माछा पालनमै देखियो।’

तत्कालीन जिल्ला विकास समिति, जिल्ला वन कार्यालय लगायतका सरकारी निकाय र केही गैरसरकारी संस्थाको पहलमा तालको व्यवस्थापन कार्ययोजना तयार गरी ताललाई पर्यापर्टनको रुपमा अघि बढाउने प्रयास भएपनि अहिले त्यो प्रयास अलपत्र परेको छ । तालको पञ्चवर्षीय कार्ययोजना समेत बनाइएको थियो।

संरक्षणका लागि ध्यान नदिँदा तालको क्षेत्र दिनप्रतिदिन अतिक्रमण हुँदै गएको छ । ८४ विघा तालको क्षेत्र भएपनि अतिक्रमण गरेर हाल ६० विघा मात्र रहेको यादव बताउँछन् । गाउँपालिकाले तालबाट बार्षिक १५ लाख बढी आम्दानी लिएपनि तालको विकासमा खर्च गरेको छैन।

बजेटको दुरुपयोग
स्थानीयहरुका भनाइमा तालको विकासका नाममा सरकारका विभिन्न निकायबाट ३० लाख भन्दा बढी बजेट अहिलेसम्म निकास भएको छ। तर, तालमा देखिने गरी विकास भएको छैन। स्थानीय बाबुराम मल्ल हरेक वर्षको अन्त्यमा डोजर लगाएर माटो खन्ने बाहेक अन्य कुनै काम नभएको बताउँछन्। ‘कहाँबाट पैसा आउँछ, कसरी खर्च भयो, त्यसको कुनै हिसाव किताव हुँदैन, एक दुई दिन डोजर लगाउँछन्, माटो काटेर जान्छन्, ताल जस्ताको तस्तै छ,’ उनी भन्छन्।

गैंडहवा गाउँपालिकाका अध्यक्ष बच्चु केवट तालको विकासका लागि गाउँपालिकाले आगामी दिनमा काम गर्ने बताउँछन् । आफूहरु पनि नयाँ भएको बताउँदै ताल र जैविक विविधतासँग सम्वन्धित विज्ञसँगको रायरामर्शमा तालको विकासका लागि गाउँपालिकाले काम गर्ने उनको भनाइ छ।

ताजा समाचार

सम्बन्धित समाचार