Monday, April 21, 2025

मर्करीको अवस्थावारे अध्ययन शुरु

‘मर्करीबाट नेपाललाई जोगाउनुपर्ने’

काठमाडौं । वन तथा वातावरण मन्त्रालयका सचिव प्रकाश माथेमाले हानिकारक रसायन मर्करी (पारो) को प्रयोगबाट नेपाल र नेपालीलाई जोगाउन त्यस्ता पदार्थको उचित व्यवस्थापनमा जोड दिएका छन् । 

पारोजन्य पदार्थको निष्कासन एवं उत्सर्जनबाट मानव स्वास्थ्य तथा वातावरणमा परिरहेको प्रतिकूल प्रभाव न्यूनीकरणबारे मन्त्रालयले आयोजना गरेको नेपालमा मिनामाता महासन्धिको प्रारम्भिक मुल्याङकन सम्वन्धी पहिलो कार्यशाला गोष्ठिमा बोल्दै सचिव माथेमाले सो धारण व्यक्त गरेका हुन् ।   
 

सचिव माथेमाले मानवीय गतिविधिका कारण पारो तथा पारोजन्य पदार्थहरुको निस्कासन तथा उत्सर्जनबाट मानव स्वास्थ्य र वतावारणमा प्रतिकुल प्रभाव पारेको वताउँदै यसको प्रयोग घटाउन मर्करीको अवस्थाबारे अभिलेख राख्न लागिएको जानकारी दिए ।  

‘सो रसायनको प्रयोगबाट जोगिन यस्ता प्रदार्थहरुको उपयुक्त व्यवस्थापन गर्न आवश्यक छ’,सचिव माथेमाले भने ‘पारो ब्यवस्थापनका विषयमा नेपाल सरकारले अन्तराष्ट्रिय स्तरमा प्रतिवद्धता जनाए अनुरुपको काम गर्दै जाने छ ।’ उनले पारोजन्य पदार्थयुक्त फोहोरको व्यवस्थापनको विषय समावेश गरी यसै  आर्थिक वर्षमा मन्त्रालयले जोखिमपूर्ण पदार्थ व्यवस्थापन नियमावली २०७४ तर्जूमा गर्न लागेको जानकारी दिए ।
 मन्त्रालयले नेपालमा मर्करी (पारो)को अवस्थाबारे अध्ययन शुरु गर्न लागेको बताएको छ । ग्लोबल एनभारमेन्ट फेसिलिटि (जिइएफ) को आर्थिक सहयोग र संयुक्त राष्ट्र संघिय औद्योगिक विकास संगठनको प्राविधिक सहयोगमा एक वर्षमा ‘राष्ट्रिय मर्करी अभिलेख’ तयार पार्ने लक्ष्य मन्त्रालयले लिएको छ ।  

मन्त्रालयले एक वर्षमा मर्करीको तथ्यांक राख्नका लागि ‘इनेवलिङ ऐकटिभिटिज टु कन्डक्ट मिनामाता कन्भेन्सनः इनिसियल असेसमेन्ट’ परियोजना सञ्चालन गरेको जानकारी गराएको छ । 

नेपालमा पारो र पारोजन्य प्रदार्थहरुको वास्तविक अवस्था यकिन अभिलेख तयार गर्न एवं् उक्त महासन्धिमा सम्मिलन हुनका लागि आवश्यक कानूनी व्यवस्थाको पहिचान गर्न परियोजना सञ्चालन गरिएको मन्त्रालयले बताएको छ । 

>    नेपालमा मर्करी तेस्रो मुलुकबाट भित्रने गरेको
>    एक वर्षमा ‘राष्ट्रिय मर्करी अभिलेख’ तयार पारिने 
>     २०—२१ मा मर्करीको अभिलेख राख्ने वारे तालिम प्रदान 
>    १२८ मुलुकले मिनामाता सन्धीमा हस्ताक्षर गरिसकेका छन् 
>    ९१ वटा मुलुकले उक्त महासन्धी अनुमोदन गरिसकेका छन
>    नेपाल सो महासन्धी अनुमोदन गर्ने प्रक्रियामा 
>    मर्करीले मानव स्वास्थ्यमा गम्भीर असर 
>    जोखिमपूर्ण पदार्थ व्यवस्थापन नियमावली २०७४ तर्जूमा गरिने 
>    वैकल्पिक व्यवस्था गरेर मार्करको आयात रोक्नुपर्नेमा जोड 

कार्यक्रममा नेपालमा मिनामाता महासन्धिको विद्यमान अवस्थाबारे कार्यपत्र प्रस्तुत गदै मन्त्रालयका सिनियर  डिभिजन इन्जिनियर विपिन राजभण्डारीले नेपालमा मर्करी तेस्रो मुलकबाट भित्रिरहेको जानकारी गराए । 

‘नेपालमा पारो उत्पादन गर्ने उद्योग तथा पारो खानीहरु छैन तर पारोयुक्त वस्तुहरु थर्मीमिटर,रक्तचाप नाप्ने उपकरण,ट्यूवलाईट सिएफएल चिमहरु,कोइला तेस्रो मुलकबाट आयात भैरहेको छ’, उनले भने ‘यस्ता पारोजन्य पदार्थको प्रदूषणले मानविय स्वास्थ्यमा असर गरिरहेको छ ।’ 
इन्जिनियर भण्डारीले नेपालमा विषेशगरी आयुर्वेदिक औषधीहरु र परम्परागत रुपमा बनाईदै आएका हस्तकलाका मुर्तिहरु तयार पार्नेका लागि मर्करीको आयात भैरहेको बताउछन् । ‘कुन–कुन क्षेत्रमा के कति परिमाणमा यसको प्रयोग भैरहेको छ भन्ने राष्ट्रिय अभिलेख राख्न परियोजनाले मद्दत गर्ने छ’,इन्जिनियर भण्डारीले भने । 

मन्त्रालयका सहसचिव रामेश्वर दंगालले परियोजनाले पारो तथा पारोजन्य वस्तुहरुको अभिलेख तयार भएपछि राष्ट्रिय कार्यान्वयन योजना तयार गर्ने लक्ष्य रहेको बताए । 

सचिव दंगाल वातावरण संरक्षण गर्ने पारो जस्तो घातक रसायनको सम्पर्कबाट उत्पन्न हुने जोखिम न्यूनिकरणका लागि सबैले आ–आफ्नो  क्षेत्रबाट योगदान गर्नुपर्ने बताउछन् । 

एमआईएका राष्ट्रिय परियोजना संयोजक डा.भुपेन्द्र देवकोटाले धातुको मूर्तिहरुमा मर्करी र सुनको लेप बनाउने, लगाउने, तताउने काम गर्ने कामदार लगातार मर्करीको सम्पर्कमा आईराख्ने व्यक्तिहरुलाई जोखिम रहेको बताउँछन् । 

‘मर्करी वायू तथा यसको प्रत्यक्ष सम्पर्कमा रहने व्यक्तिलाई स्वास्थ्य समस्या देखिन्छ जस्तै शरीर स्थिर हुने,काम्ने र मृत्युसम्म हुने गर्छ’, डा. देवकोटाले भने । 

उनले मर्करीले माटो,हावा,वन्यजन्तु तथा माछाहरुलाई बढी असर गरिरहेको बताउछन् । ‘मर्करी खुला राखे हावामा उडेर जान्छ । उडेको मर्करी बोट–बिरुवा, जीवजन्तु, पानीसम्म पुग्छ । त्यहाँबाट मानिसमा प्रवेश गर्छ, त्यसपछि मानविय स्वास्थ्यमा असर गर्दै जान्छ’, उनले भने । 
देवकोटा नेपालले मर्करी उत्पादन नगर्ने आयात मात्र गर्न भएकाले वैकल्पिक व्यवस्था गरेर मार्करको आयात रोक्नुपर्ने बताउछन् । 
मर्करीयुक्त उपकरणहरु वरिपरिको वातावरण पनि प्रदूषित भैरहेकोले यसले मानिस, जिवजन्तु तथा बोटविरुवाहरु घातक असर गरिरहेको अमेरिका स्थित वायोडाभरसिटि रिसर्च इन्सिच्युटका विज्ञद्धय मोली टेलर र वैज्ञानिक विन्सेन स्प्यालुओनोको भनाई छ । 

त्यस्तै नेपालमा पारो तथा पारोजन्य पदार्थहरुको अभिलेख तयार पार्नेका लागि चैत २० र २१ गते टेलर र स्प्यालुओनोले ‘अभिलेख तालिम’ प्रदान गरेका छन् । उक्त तालिममा सरोकारवाला निकाय,सरकार तथा गैरसरकारी संस्था र शैक्षिक संस्थाका प्रतिनिधिहरुको सहभागिता थियो ।
पारोजन्य पदार्थको प्रयोगबाट मानव स्वास्थ्य तथा वातावारणमा परीरहेको प्रतिकूल असर प्रभाव न्यूनीकरण गर्ने उद्देश्यले मिनामाता पारो सम्मेलनमा नेपालले १० अक्टोबर २०१३ मा हस्ताक्षर गरिसकेको छ । हालसम्म विश्वका १२८ देशहरूले उक्त महासन्धिमा हस्ताक्षर गरिसकेका छन् भने ९१ देशहरूले उक्त महासन्धि अनुमोदन गरिसकेका छन् । नेपाल उक्त महासन्धिमा अनुमोदन गर्ने प्रक्रिया थालेको छ । 

ताजा समाचार

सम्बन्धित समाचार