Saturday, October 19, 2024

मानव वस्तीबीच खुम्चिएको ‘भगरैया ताल’, लोप भए जलचर 

वर्दिया, मधुवन– नेपाल भारत सिमानाको एउटा गाउँ हो, वर्दियाको ‘धनौरा’ । यही गाउँको बीचमा कुनैबेला ‘महासागर’जस्तै लाग्ने भगरैया ताल अहिले जीवनको अन्तिम सास फेरिरहेको छ । 

यही तालको संरक्षण, अनि सम्बद्र्धनका चुनौती र सम्भावनाहरुको विषयमा नेपाल वातावरण पत्रकार समूहले चैत १२ गते यहाँ ‘पानी छलफल’ कार्यक्रम गरेको थियो । यूएसएआइडीको साझेदारीमा भएको छलफल कार्यक्रममा स्थानीयवासी, जनप्रतिनिधि तथा सरोकारवाला निकायहरुबीच ताल संरक्षणका उपायहरुका बारेमा बहस भएको थियो ।

करिब १५ वर्षअघि यो भगरैया ताल विशाल थियो । करिब ४५ विगाहा क्षेत्रफलमा फैलिएको यो ताल अहिले टिठ लाग्दो अवस्थामा छ । त्यही तालको वरिपरि जन्मे, हुर्केका हुन्, भदै थारु । बाघसँग जुधेर आँखासमेत गुमाएपछि उनी प्रकृति संरक्षणका अभियन्ता बने र, अहिले उनी ‘द टाइगर म्यान’ले चिनिन्छन् । उनी भन्छन् ‘कुनै बेला कमलको फूलले ढकमक्क भएर फैलिएको ताल अहिले खोज्नुपर्ने भएको छ । अहिले त तालमा लेउ र जकुम्भीले राज गरिरहेका छन ।’ 

उनका अनुसार यो ताल संरक्षणले एकातिर जैविक विविधताको संरक्षण हुन्छ भने अर्काेतिर स्थानीयको जीविकोपार्जनका लागि पनि विकल्पहरु खुल्न सक्छन् । कार्यक्रममा उनले भगरैया ताल संरक्षण सन्देश दिने थारु भाषाको गीत पनि सुनाएका थिए । 

‘हामी आफैँ यहाँका जनता जाग्नुपर्छ, वरिपरी बस्ने जनताहरुले नै यो ताललाई माया गर्नुपर्छ’ उनी भन्छन् ‘सबैभन्दा पहिला त स्थानीयवासीको चेतना आउनुपर्छ र राज्यले पनि ध्यान दिनुपर्छ ।’

बर्दियाको मधुवन नगरपालिका ३ धनौरा गाउँको बीचमा नेपाल भारतको सिमानामै अडिएको यो तालको संरक्षणले दुबै क्षेत्रको जैविक विविधतालाई फाइदा पुग्छ । यो तालसँगै भारतीय जंगलमा अर्काे ताल पनि फैलिएको छ । 

जिल्लाको एकमात्रै ठूलो सिमसार ताल हो, भगरैया । यो भगरैया ताल पनि कुनै बेला त्यस्तै विशाल क्षेत्रमा फैलिएको थियो । तर, विस्तारै मानवीय क्रियाकलापहरु अनियन्त्रित हुन थाले । गाउँभरि बग्ने वर्षाको पानी, खेतबारीमा हुने सिंचाइको झरन अनि अव्यवस्थित विकास निर्माणका क्रियाकलापहरुले गर्दा विस्तारै तालमा माटो थुप्रिदैँ गयो । अनि ताल पनि सुस्त सुस्त पुरिँदै गयो । सिमसार रसाउन छोड्यो । त्यो विशाल ताल अहिले एउटा सानो कुण्डमा खुम्चिएको छ । छेउछाउमा मानववस्ती बाक्लिएको छ, तालको आधा जमीन खेलकूद मैदान बनेको छ भने कतै गौचरण भएको छ ।

यही तालका कारण कुनै समय गाउँमा पानीको मुहान प्रशस्तै थियो । ठाउँठाउँमा पानी रसाउँथ्यो । भारतीय जंगल अनि नेपालका जंगलबाट जंगली जनावरहरु आउने जाने गर्थे । जलीय जलचरहरु प्रशस्तै थियो । १० वर्ष अघिमात्रै यही तालबाट स्थानीयले बोराका बोरा माछा मार्थे । गोही अनि अजिगंरहरुको वासस्थान थियो, यो ताल । त्यसैले राति १२ वजेपछि तालको वरीपरि जान पनि स्थानीय वासिन्दा डराउँथे । ‘आफ्नै ठाउँ, आफ्नै छेउमा भएको यो हाम्रो सम्पत्तीलाई पनि हामीले चिनेका रैनछौँ जस्तो भएको छ अहिले’ छलफलमा सहभागी स्थानीय टिकाबहादुर ठाडा मगरले भने ‘हामी आफैले गरे सबै हुन्छ भने प्रकृतीले नै दिएको चीजलाई हामीले किन संरक्षण गर्न सकेनौँ ? हामीले नगरे अरु कसले गर्छ र ?’

यो तालको संरक्षणसँग जैविक विविधमात्रै होइन, स्थानीयले पनि जीविकोपार्जनका उपायहरु देखेका छन् । तालको संरक्षण भयो, यो पर्यटकीय क्षेत्रको रुपमा विकास भयो भने स्थानीयको पनि जीविकोपार्जनको उपायहरु खुल्नसक्छन् भन्ने स्थानीयको आशा पनि गाँसिएको छ । तालको छेउमै रहेको ‘नयाँ वस्ती’बाट छलफल कार्यक्रममा सहभागी हुन आएकी अनिता परियार भन्छिन् ‘ताल संरक्षण भयो, राम्रो भयो भने टुरिस्टहरु आउनुहुन्छ होला, गाउँलेहरुलाई राम्रो हुन्छहोला, केही गरिखाने बाटो पनि खुल्छ होला जस्तो पसलहरु चल्नसक्छन् । खाजा, नास्ता पसलहरु चलाउन सकिन्छ, हामी सबैलाई फाइदा नै हुन्छ ।’

नेपाल वातावरण पत्रकार समूहका अध्यक्ष अर्जुन ढकालको अध्यक्षतामा भएको पानी छलफल कार्यक्रमका प्रमुख अतिथि थिए जिल्ला समन्वय समिति वर्दियाका उप संयोजक मानबहादुर विस्ट । छलफल कार्यक्रममा सहभागीहरुका कुरा सुनिसकेपछि उनले जिल्ला समन्वय समितिले स्थानीय निकायहरुसँग समन्वय गरेर ताल संरक्षणका लागि नीति र योजनाहरु तर्जुमा गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । ‘सबैभन्दा पहिला यो तालको लालपूर्जा, नापनक्सा गर्नुपर्ने हुन्छ, त्यसका लागि यहाँको वडा कार्यपालिकाले पहल गर्नेछ र नगरपालिकामार्फत यो काम अघि बढाउनुपर्ने हुन्छ’ उनले भने ‘जनताका आवाज सुनेर स्थानीय सरकारले ताल संरक्षणको लागि नीति र योजनाहरु बनाउनुपर्छ ।’ उनले कुनै पनि प्राकृतिक स्रोत मासेर जीविकोपार्जन नहुने बताए । ‘तपाइँहरु सचेत हुनुस्, माछा मारेर हैन, माछा पालेर जीविकोपार्जन हुन्छ’ उनको सन्देश थियो । 

ताल संरक्षणका सम्भावना र चुनौतिका बारेमा स्थानीयको कुरा सुनिसकेपछि मधुवन नगरपालिकाका उपप्रमुख सुभरानी थारु अनि प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले ताल संरक्षणका विभिन्न योजनाहरु र उपायहरु सुनाएका थिए । अनि मधुवन नगरपालिकाले २०७५ साललाई ‘भगरैया ताल संरक्षणको वर्ष’का रुपमा मनाउने पनि प्रतिवद्धता व्यक्त गरे । 


करिब तीन घण्टासम्म चलेको पानी छलफल कार्यक्रमले भगरैया ताल संरक्षणका लागि विभिन्न प्रतिवद्धताहरु पनि पारित गरेको थियो । 
छलफलले पारित गरेका प्रतिवद्धताहरु ः 
१. वर्दिया जिल्लाको एकमात्रै सिमसार तालका रुपमा भगरैया ताल संरक्षणका लागि यहाँका स्थानीयवासी आफै एकतावद्ध भइ, जुट्नुपर्नेमा हामी प्रतिवद्ध छौँ । 
२. जैविक विविधताको संरक्षण र प्रवद्र्धनसँगै तालको विकास र स्थानीयको जीविकोपार्जनका लागि बृहत कार्ययोजना बनाउनुपर्नेमा पहल गर्ने । 
३. भगरैया तालमा डुङ्गा सन्चालन, तथा ताल वरिपरिका वस्तीमा हामेस्टे सञ्चालनजस्ता स्थानीयको जीविकोपार्जन हुने अन्य विकल्पबारेमा अध्ययन गर्नुपर्ने । 
४. भगरैया तालको एकीन क्षेत्रफल नापी र नक्साङ्कन गरिनुपर्ने । 
५. दुई देशबीचको जैविक विविधता तथा अन्र्तदेशीय जलीय सम्बन्धलाई सुमधुर बनाउनका लागि अन्र्तदेशीय समन्वयात्मक बैठकहरुको पहल गरिनुपर्ने ।
६. भगरैया तालको अतिक्रमित क्षेत्र फिर्ताको पहल गर्ने र वस्तीको उचित व्यवस्थापन गरिनुपर्ने । 
७. ताल संरक्षणका लागि संरक्षण अभियानमा जुटेका छिमेकी सामुदायिक बनहरुको आम्दानीको केही प्रतिशत रकम लगानी गर्न प्रोत्साहित गर्ने । 
८. २०७५ साल, भगरैया ताल संरक्षणको वर्षका रुपमा मनाउने । 

रिपोर्ट/ तस्बीरः गजेन्द्र बोहरा

ताजा समाचार

सम्बन्धित समाचार