Friday, September 20, 2024

इँटा भट्टाको धुवाँले यसरी प्रदूषित बन्दैछ पाँचखाल (फोटो फिचर)

पाँचखाल– सञ्चालित इँटा भट्टा र प्लाइ उद्योगको धुवाँका कारण काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल उपत्यका प्रदूषित बन्दै गएको छ। नगर क्षेत्रमा सञ्चालित ७ वटा इँटा भट्टा र एउटा प्लाइ उद्योगको धुँवाका कारण बारीको तरकारी डढाउने, काउली कालो बनाउने, पानी सक्ने र धोएर सुकाएको लुगा कालो हुने गरेको ‘पाँचखाल उपत्यका वातावरण जोगाऔं अभियान’ का संयोजक सूर्यबहादुर भेटवाल बताउँछन्।

वडा नम्बर ७ मा हनुमान र श्ववइनेश्वर इँटा उद्योगसँगै हिमालयन मल्टी प्लाइ उद्योग सञ्चालनमा छन्। यसैगरी, वडा नम्बर ८ मा नवदुर्गा र उपकार इँटा उद्योग, वडा नम्बर १२ मा पलाञ्चोक र जयभीमसेन इँटा उद्योग तथा वडा नम्बर ९ मा चाइनिज इँटा उद्योग छन्।

हिउँद याममा इँटा पकाउन शुरु भएकाले झन समस्या बढेको स्थानीय बताउँछन्। तरकारीका लागि प्रख्यात पाँचखाललाई नगरपालिकाले ‘पाँचखाल कृषि सहर’ घोषणा गरेको छ।

तर, तरकारी नै कालो हुन थालेपछि कालीमाटीबाट समेत फिर्ता हुने गरेको स्थानीय कृषक लक्ष्मण राईको गुनासो छ।

परम्परागत रुपमा चल्दै आएका इँटा उद्योगलाई प्रदूषणमुक्त र ऊर्जा खपत कम गर्न नयाँ मोडल बनाइएको छ। जसलाई ‘जिक–ज्याक’ प्रविधि भनिन्छ। भट्टाको डिजाइनमा सुधारका साथै वैकल्पिक ऊर्जा र प्वाल भएको ९होलो ब्रिक्स० इँटाको प्रयोगबाट प्रदूषणलाई अझै न्यून बनाउन सकिन्छ।

तर, पाँचखालमा सञ्चालित कुनै पनि इँटा उद्योगले नयाँ प्रविधिको प्रयोग गरेका छैनन्। बस्तीमै सञ्चालित इँटा उद्योगको धुँवाले खोकी लाग्ने, शरीरमा घाउखटिरा हुने समस्या बढ्दै गएको स्थानीय बताउँछन्।

पाँचखालमा सञ्चालित इँटा उद्योग वस्तीमै छन्। श्ववइनेश्वर इँटा उद्योग किटीनी चोकभन्दा करिव ५० मिटर टाढा छ, भने जयभीमसेन इँटा उद्योग र भुवनेश्वरी आधारभूत विद्यालयको दूरी २०–३० मिटर मात्र छ।

तर, घरेलु तथा साना उद्योग विभागले २०७२ मा जारी गरेको इँटा उद्योगको कार्यविधिमा ‘घनावस्तीभन्दा २ किलोमिटरको दूरीमा मात्र इँटा उद्योग खोल्न पाइने’ उल्लेख छ।

यसरी मापदण्डविपरीत वस्ती बीचमै इँटा उद्योग स्थापना हुँदा समेत पाँचखाल नगरपालिकाले कदम नचालेपछि स्थानीय बासिन्दाले ‘पाँचखाल उपत्यका वातावरण जोगाऔं अभियान’ थालेका छन्।

ताजा समाचार

सम्बन्धित समाचार