काठमाडौं, ३० फागुन– सन् २०१७ सम्म शत प्रतिशत जनसंख्यालाई खानेपानी पुर्याउने सरकारी लक्ष्य पुरा भएन् ।
पछिल्लो लक्ष्य (१६ प्रतिशत) प्राप्तिका लागि खर्च गरिएको ३ अर्ब रुपैयाले जनसंख्याको तीन प्रतिशतले मात्र खानेपानी पाएका छन् ।
सरकारी तथ्याङ्क अनुसार अहिलेसम्म ८४ प्रतिशत जनसंख्या खानेपानीको पहुँचमा छ । सन् २०१७ सम्म बाँकी १६ प्रतिशत जनसंख्यालाई पनि खानेपानी पुर्याउने लक्ष्य राखिएको थियो । यो १६ प्रतिशतमध्ये तीन प्रतिशनले मात्र खानेपानी पाएका छन् । यो लक्ष्य पुरा गर्न सरकारले ३ अर्ब रुयैया बजेट छुट्टाएको थियो ।
खानेपानी तथा ढल निकास विभाग भने बजेट तथा स्रोत साधनको कमीका कारण लक्ष्य पुरा गर्न नसकेको दाबी गर्छ । ‘सन् २०१७ सम्म १६ प्रतिशत जनसंख्यालाई खानेपानीको पहुँचमा ल्याउने लक्ष्य लिए पनि ३ प्रतिशत मात्र काम पुरा भएको छ,’ खानेपानी विभागका महानिर्देशक तेजराज भट्टले बताए ।
‘नेपालको राष्ट्रिय जल योजना २००५ अनुसार सन् २०१७ सम्ममा शतप्रतिशत जनसंख्यालाई आधारभूत स्तरको खानेपानी सेवा र सरसफाइ सेवा उपलब्ध गराउने लक्ष्य थियो । तर लक्ष्य अनुसारको काम हुन सकेन’, महानिर्देशक भट्टले भने ।
पानीका मुहानहरु सुकेपछि अधिकांस गाउँ बस्तीहरुमा बसोबास गर्ने सर्वसाधारणको दिनचर्या कष्टप्रद हुँदै गएको उनी बताउँछन् ।
संविधानले धारा ३५ (४) ले प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक सुनिश्चित गरेको छ ।
सन् २०१७ सम्म आम नागरिकलाई खानेपानी तथा सरसफाइको प्रत्याभूत गर्ने घोषणा गरेपनि अहिलेसम्म खानेपानीमा ८७ प्रतिशत र सरसफाइमा ९५ प्रतिशत सफलता प्राप्त भएको विभागको तथ्यांक छ ।
विभागले यो वर्ष लक्ष्य अनुसार काम गर्न नसकेपछि सन् २०१९ सम्ममा शत प्रतिशत जनतालाई आधारभुत स्तरको खानेपानीको सुविधा दिने लक्ष्य लिएको महानिर्देशक भट्टले बताए ।
‘बाकी १३ प्रतिशत जनसंख्या अझै खानेपानीको पहुँचबाट बन्चित छन् । सन् २०१९ सम्ममा १३ प्रतिशत जनसंख्यालाई खानेपानीको पहुँचमा ल्याउने लक्ष्य लिएका छौं’,उनले भने ।
विभागले विश्वव्यापी रुपमा भइरहको मौसम परिवर्तन जस्ता कारणहरुले गर्दा हिमाल, पहाड तथा तराईमा भित्री मधेसहरुमा पानीका मुहानहरु दिन प्रतिदिन सुक्ने क्रम बढेपछि आर्थिक वर्ष २०६८÷८९ देखि सुख्खा क्षेत्र खानेपानी आयोजना तर्जुमा गरेको छ ।
‘सुख्खा क्षेत्र खानेपानी आयोजना पनि निरन्तररुपमा सञ्चालन हुँदै आएको छ । पानीको समस्या समाधान गर्न विभागले यो तर्जुमा गरेको हो’,महानिर्देशक भट्टले बताए ।