काठमाण्डौ, ७ फागुन– मेलेम्ची खानेपानी आयोजनाले पहिलो चरणमा राजधानीबासीलाई दैनिक ४ घण्टा मात्र पानी उपलब्ध गराउने जनाएको छ ।
काठमाण्डौ उपत्यका खानेपानी लिमिटेडका प्रवन्ध निर्देशक डा. महेश मास्केले दैनिक माग ३९ करोड लिटर भएपनि आयोजनाले पहिलो चरणमा प्रति दिन १७ करोड लिटर पानी मात्र उपलब्ध गराउने जानकारी दिए ।
उनले काठमाण्डौ उपत्यका खानेपानी लिमिटेडको चुहावट भईरहेको ४० प्रतिशत पानी सदुपयोग हुने दाबी पनि गरे । ‘एशियाली बिकास बैंकको सहयोगमा निर्माण भएको आयोजनाले पानी लिकेज हुन नदिन अत्याधुनिक यन्त्र जडान गर्न लागेको छ, डा. मास्केले भने, ‘साउण्डिङ डिभाईस्, डाटा लक सिस्टम लगायतको प्रविधी प्रयोग हुनेछ ।’
मेलम्ची आयोजनाले खानेपानी लिमिटेडलाई पानी हस्तान्तरण गरेपछि महांकाल, आरुबारी, तिगेनी, कटुञ्जे, बाँसबारी, बालाजु, पानीपोखरी, अनामनगर, मिनभवन, किर्तिपुर, खुमलटारमा पानीको भण्डार राखेर राजधानीबासीलाई पानी उपलब्ध गराउनेछ ।
ती पानी ट्याङ्कीको क्षमता ३ हजार क्युबिक मिलिलिटर देखि ९ हजार क्युबिक मिलिलिटरको हुनेछ । मेलम्चीदेखि लार्केबीचको सुरुङको लम्बाइ ११ किमि छ । मेलम्चीबाट आउने दैनिक १७ करोड लिटर पानी टयांकीमार्फत उपत्यकाका ३५ लाख बढी जनतालाई समानुपातिक ढंगले वितरण गर्ने जानकारी डा.मास्केले दिए ।
आयोजनाका अनुसार १७ करोड मेलम्ची, १७ करोड याङग्री र १७ करोड लार्के गरी दैनिक ५१ करोड लिटर पानी उपत्यकामा ल्याईनेछ । हाल काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले सुन्दरीजललगायत विभिन्न स्थानबाट ल्याईएको पानी वितरण गर्दै आएको छ ।
मेलम्चीको पानी काठमाण्डौ आएपछि तीन महिना टेस्ट गरिनेछ । उपत्यकाको ११ वटा ठाउँमा ट्याङ्की निर्माण गरेर पानीको वितरण गरिने मेलम्ची आयोजनाका निर्देशक रामचन्द्र देवकोटाले जानकारी दिए । पटक–पटक प्रतिबद्धता फेर्दै आएको सरकारले नयाँ वर्षको सुरुमै उपत्यकामा पानी ल्याउने दाबी गरेको छ ।
‘सिन्धु अडिटदेखि सुन्दरीजलसम्म सबभन्दा लामो सुरुङखण्ड हो, त्यो जोडिइसक्यो । सम्पूर्ण सुरुङको ९० प्रतिशत काम पूरा भइसकेको छ । अम्बाथानमा हेडवर्कको निर्माण पनि तीव्र गतिमा भइरहेको छ,’ आयोजनाका निर्देशक देवकोटाले भने, ‘सबैतिर काम सन्तोषजनक रूपमा भइरहेको छ ।’
सन् २०१८ जुन महिना सम्म पानी सुन्दरीजल आईपुग्नेछ, निर्देशक देवकोटाले भने, सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकादेखि काठमाण्डौको गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलसम्मको २७.५ किलोमिटर दुरी सुरुङमध्ये अब २ सय मिटर मात्र खन्न बाँकी छ । सुरुङको २ सय मिटर काम सकेर आउँदो फागुन सम्ममा पानी उपलब्ध गराईनेछ । मेलम्चीले काठमाण्डौ रिङरोड भित्रको ६० प्रतिशत काम पुरा गरिसकेको जनाएको छ ।
सुन्दरीजलदेखि सिन्धुसम्म करिब ९ किमि सुरुङ खन्ने काम १ वर्षअघि पूरा भइसकेको छ । त्यसैगरी एक महिनाअघि अम्बाथान–ग्यालथुम ९ किमि सुरुङ ब्रेक थ्रु भइसकेको छ । सरकारले गत असोजमा मेलम्चीको पानी उपत्यका ल्याउने प्रतिबद्धता जनाएको थियो ।
खानेपानीको समानुपातिक वितरणका लागि ८० हजार धारा जडान भइरहेको खानेपानी आयोजना निर्देशनालयका निर्देशक त्रिरेशप्रसाद खत्रीले जानकारी दिए । जसमध्ये ४० हजारभन्दा बढी धारा जडान भइसकेका छन् ।