‘राजनीतिक प्रतिवद्दता बिना बागमती सफा हुदैन’
काठमाडौं ,४ चैत– सघिंय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले इन्जिनियरहरुले काठमाडौ उपत्यकाको ढलहरुको डिजाइन गलत तरिकाले गरेकाले बागमती नदि फोहोर भएको बताएका छन् ।
नेपाल राष्ट्रिय जल तथा मौसम सप्ताहका अवसरमा जल तथा उर्जा आयोगले शनिबार आयोजना गरेको कार्यक्रममा उक्त कुरा बताएका हुन । इन्जिनियरहरुले काठमाडौको ढलको डिजाइन गर्न नजानेको बताए ।
‘बागमतीलाई पवित्र बनाउन इन्जिनियरले के गरेका छन् । दैनिक फोहोर जती पानीमा हाल्ने अनि स्वच्छ जिवन र पवित्र त्यही खोजेर कहाँ हुन्छ’, उनले प्रश्न गरे ।
‘चर्पीको फोहोर नालामै फाल्ने प्रवृतिको अन्त्य गर्नुपर्छ’, उनले भने ‘ढललाई खोलामा लगेर मिसाउने ,अलिपर लगेर नदीमा मिसाउने र त्यही नदीलाई अपवित्र बनाउने । ठिक तरिकाले नबुझेको इन्जिनियरले बनाएको ढलको डिजाइनले गर्दा यो सबै समस्या आएको हो ।’
पण्डितले ढलको डिजाइन र व्यवस्थापन प्रणाली परिवर्तन गर्न सुझाएका छन् । मन्त्री पण्डितले बाह्रौ महिना पानी रोक्न सकिने कुनकुन नदीहरु छन् भनी इन्जिनियरहरुलाई प्रश्न गरे ।
‘जो इन्जिनियरहरु छन् उनीहरुलाई म सोध्न चाहान्छु काठमाडौंकै बाग्मती, विष्णुमति, हनुमन्त्तेदेखि लिएर कुनकुन नदी छन् जसमा बाह्रौ मास पानी रोक्न सकिन्छ’,पण्डितले भने ।
उनका अनुसार बर्षाको पानीलाई ठाउँ ठाउँमा सामान्य चेक ड्याम बनाउने र त्यो पानीमा ढल मिसिन नदीने हो भने बाह्रौ महिना बाग्मतीमा मान्छे डुब्ने पानी राख्न सकिन्छ ।
‘नदीमा ससाना चेक ड्याम बनाउँदा यसले पोखरीको पनि काम गर्छ । देशभरका त्यस्ता नदीको सर्वे गरेर दशौं हजार पोखरीको निर्माण गर्न सकिन्छ’ मन्त्रि पण्डितले भने ।
मन्त्री पण्डितले बाग्मती कहाँसम्म फोहोर छ भनेर हेर्दै जादा काठमाडौंबाट मकवानपुरसम्म पुगेको जानकारी दिदै भने, ‘बागमतीको पानीमा मैले ढल मात्र भेटे ।’
त्यस्तै मानिसले नदी, नाला र पोखरीको जमिन समेत अतिक्रमण गरेर बसिरहेको उनले उल्लेख गरे । ‘जती पनि नदी नाला पोखरीहरु छन् त्यसको डिलमा गएर बस्छन् । अझ सरकारले स्वीकृत दियो भने तलदेखि नदी बगोस म माथी ठुला–ठुला घर बनाउन पाए पुरुषार्थ हुन्थियो भन्ने घमण्ड छ कतिपयमा । अझ तिनै बाढी पीडित भए भन्दै क्षेतिपूर्ती माग्न आउँछन्’, मन्त्री पण्डितले भने ।
उनले नदी, नाला सुक्न्ु, हिउँ नपर्नु जस्ता कारणले नेपालको जमिन मरुभुमीमा परिणात हुने क्रम बढ्दो रहेको बताए ।
२०३२ मा काठमाडौं छिर्दा धेरै पटक सुन्धारामा घाम तापेर नुहाएको सम्झना गर्दै मन्त्री पण्डितले भने ‘पहिला काठमाडौंको पानी बढि भएर बगेर जान्थ्यो । अहिले सबै धारा सुकिसकेका छन् । अझ २२ धारामा त अन्तैबाट पानी ल्याएर बगाइरहेका छन्’,मन्त्री पण्डितले भने ।
‘सांस्कृतिक मान्यता अनुसार बाग्मतीलाई पवित्र नदीका रुपमा लिन्छौं । सबै भन्दा बढी त काठमाडौं पवित्र हुनुपर्ने तर सबै भन्दा बढी अपवित्र त बाग्मती नदी बनेको छ, ढलको लेदो मात्र छ’, उनी भन्छन् । बागमती नदी प्रदुषण नियन्त्रणमा राजनीतिक दल जिम्मेवार हुनुपर्ने बताए ।
२२ मार्चका दिन विश्वभर मनाइने ‘विश्व पानी दिवस’ र २३ मार्चका दिन मनाइने ‘विश्व मौसम दिवस’ को सन्दर्भमा नेपालमा ‘नेपाल राष्ट्रिय जल तथा मौसम सप्ताह २०७४’ मनाइन्छ ।
जल तथा उर्जा आयोगको सचिवालयको नेतृत्वमा मनाउन लागिएको यस सप्ताहव्यापी कार्यक्रममा पानीको क्षेत्रमा काम गर्ने ५० भन्दा बढी संघसंस्थाको सहभागिता छ । मन्त्री पण्डितले शनिबार ‘नेपाल राष्ट्रिय जल तथा मौसम सप्ताह २०७४’ को विरुवामा पानी हालेर उद्घाटन गरेका थिए ।