Thursday, November 14, 2024

पत्रपत्रिकामा आज : २२ लाख रूख तीन चरणमा काटिँदै , जुनारमा  किराकाे प्रकाेप

काठमाडौँ –आजको पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएको छ ।

अभियान
–आजको अभियानमा १ लाख स्याउका बिरुवा आयात गरिँदै शिर्षकमा दुर्गा लामिछानेको समाचार छापिएको छ । प्रधानमन्त्री कृषि परियोजनाअन्तर्गत विदेशबाट स्याउका बिरुवा आयात गरिने भएको छ । उच्च घनत्व(बाक्लो गरी रोप्न मिल्ने) र धेरै उत्पादन दिने स्याउको खेती बिस्तार गर्ने योजनाअनुरुप विदेशबाट आयात गर्नुपरेको परियोजनाले जनाएको छ ।

कान्तिपुर 
–अाजकाे कान्तिपुरमा जुनारमा  किराकाे प्रकाेप  शिर्षकमा रामकुमार कार्कीकाे समाचार छापिएकाे छ। छिमेकी गाउँका एकैसाथ अाम्दानी लिने कृषक यतिखेर दुर्इ कित्तामा बाँडिएका छन् । गाेलन्जाेर गाउँपालिका ४ काे माझकुबिन्डे र डुँडेका कृषकहरू यसरी बाडिँएका हुन् । यसरी कित्ताकाट भने अाफ्नाे बगैँचामा भएका जुनारले गराइदिएकाे हाे।  माझकुबिन्डेका कृषकहरूकाे बाेट नै व्यापारीले ठेक्का लिए भने डुँडेका कृषकका जुनार उनीहरूले रूचाएनन्।

तीन वर्ष अघिदेखि जुनारमा किरा भेटिएपछि व्यापारीहरू राेजीछाडी जुनार छान्न थालेका छन्। एक व्यापारीका अनुसार डुँडेका कृषककाे बगैँचामा रहेकाे जुनारमा ८० प्रतिशत किरा लागेकाे छ। माझकुबिन्डेमा भने यसैवर्षदेखि गरिएकाे राेकथामका कारण २५ प्रतिशतमा मात्र किरा पाइएकाे छ ।

नागरिक 
–अाजकाे नागरिकमा धादिङबेंसीमा अब पानीको समस्या हुँदैन शिर्षकमा सरिता श्रेष्ठको समाचार छापिएको छ। खुला रूपमा जडान गरिएका पाइप ठाउँ–ठाउँमा काटिएका कारण पूरै पानी उपभोक्ताका धारासम्म आइनपुग्नु धादिङ सदरमुकाम धादिङबेंसीको समस्या नै हो।

नीलकण्ठ नगरपालिका क्षेत्रमा पर्ने यहाँका धारामा नियमित पानी नआउँदा सदरमुकामबासीले दैनिक समस्या व्यहोर्नु परिरहेको छ। बढ्दो जनसंख्याका कारण यहाँ बर्सेनि खानेपानीको समस्या चुलिँदै गएको छ। वितरित धारामा पानी नआउने भएपछि आसपासका ढुंगेधाराहरूमा दिनरात पानी थाप्नेको भीड लाग्नेगरेको छ। बढ्दो सहरीकरणका कारण कतिपय ढुंगेधारा पनि सुक्दै गएका छन्। धादिङबेंसीकी मनमाया तामाङ खानेपानीको जोहो गर्न वरपरका ढुंगेधारा तथा कुवाहरूमा दैनिक धाउनुपर्ने बाध्यता रहेको बताउँछिन्। ‘धारामा नियमित पानी आउँदैन,’ उनले भनिन्, ‘बिहान र बेलुकाको समय पानी जोहो गर्दैमा जान्छ।’

लामो समयदेखि यस्तो समस्या झेल्दै आएका धादिङ सदरमुकामबासीले अब सहज रूपमा खानेपानी पाउने भएका छन्। स्थानीय नागरिकको समस्यालाई मध्यनजर गर्दै नीलकण्ठ नगरपालिकाले वडा नम्बर ३, डाँडागाउँमा चार लाख लिटर क्षमताका दुईवटा पानीट्यांकी निर्माण गरेको हो। यो ट्यांकीबाट पानी वितरण हुन थालेपछि सदरमुकामबासीको खानेपानी समस्या समाधान हुने अपेक्षा गरिएको छ।

त्यस्तै वीरगन्ज–पथलैया व्यापारिक मार्ग निर्माण सुस्त शिर्षकमा उपेन्द्र यादवको समाचार छापिएको छ । वीरगन्ज–पथलैया सडक खण्डमा हुने सवारीसाधनको चापलाई कम गर्ने उद्देश्यले विस्तार गर्न लागिएको २६ किलोमिटर लामो ६ लेनको व्यापारिक मार्ग निर्माणमा ढिलाइ भइरहेको छ। निर्माण कम्पनीहरूको लापरवाहीका कारण गत असार मसान्तमै बनिसक्नुपर्ने सडक अहिलेसम्म नबनेको हो।

तोकिएको मितिमा नसकिने भएपछि ६ महिना म्याद थप गरिएको व्यापारिक मार्ग योजना कार्यालय(पथलैया)ले जनाएको छ। तर थपिएको समय सकिन लाग्दा पनि वीरगन्ज–पथलैया सडक निर्माण आधा मात्रै सकिएको छ।

कार्यालयका अनुसार दुई वर्षभित्र सडक बनाइसक्ने गरी वीरगन्जस्थित आररकन्टेक जेभी, शर्मा/युनिटेक बिल्डर्सरदिवा निर्माण सेवा जेभी, एएमआररपप्पुरकन्टेक जेभी, हेटौंडास्थित श्रेष्ठ/बिरुवा/एपेक्स जेभी र वीरगन्जकै पप्पुरलुम्बनी जेभीले २०७३ असार २८ गते ठेक्का सम्झौता गरेका थिए।

नयाँ पत्रिका
–आजको नयाँ पत्रिकामा २२ लाख रूख तीन चरणमा काटिँदै वीरेन्द्र ओलीको समाचार छापिएको छ । पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि तीन चरणमा रूख काट्ने प्रस्ताव अघि सारेको छ । एकैपटक २४ लाख रूख काट्न थालिएको भन्दै व्यापक विरोध भएपछि मन्त्रालयले तीनपटक गरेर २२ लाख ३५ हजार रूख काट्ने प्रस्ताव वन तथा वातावरण मन्त्रालयमा पेस गरेको हो ।

‘आवश्यक रूख बिस्तारै काट्ने योजनाअनुसार तीन चरणमा काट्न वन मन्त्रालयमा प्रस्ताव गरेका छौँ,’ नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी त्रिलोचन पौडेलले भने, ‘वन मन्त्रालयबाट स्वीकृत भएलगत्तै विमानस्थल निर्माणका लागि रूख काट्न सुरु हुन्छ ।’

पहिलो चरणमा २ हजार ५ सय ९३ दशमलव ९५ हेक्टरका ७ लाख ६९ हजार ६ सय ९१ रूख काट्ने प्रस्ताव छ । पोल आकारका ५ लाख ७५ हजार २ सय ११ र साना १ लाख ९४ हजार ४ सय ८० रूख छन् ।

दोस्रो चरणमा २ हजार ८६ दशमलव ४० हेक्टर क्षेत्रका ६ लाख ९२ हजार ८ सय ३ रूख काट्न प्रस्ताव छ । ५ लाख ३१ हजार ६ सय ४८ पोल आकारका र १ लाख ६१ हजार १ सय ५५ साना रूख छन् ।

तेस्रो चरणमा २ हजार १ सय ५० दशमलव ७५ हेक्टर क्षेत्रका ७ लाख ७३ हजार ४ सय ४८ वटा रूख काट्ने प्रस्ताव गरिएको छ । जसमा ६ लाख १ हजार १ सय ५४ वटा पोल आकारका र १ लाख ७२ हजार २ सय ९४ रूख साना छन् ।

एकैपटक २४ लाख रूख काट्ने योजना नै नभएको र तीन चरणमा गरेर पनि २२ लाख ३५ हजार ९ सय ४२ रूख मात्रै काट्ने सूचना अधिकारी पौडेलले बताए । यी रूख भौतिक संरचना निर्माण गर्ने क्रममा आवश्यकताका आधारमा मात्रै काटिने उनको भनाइ छ ।

राजधानी
–आजको राजधानीमा पेट्रोलियम पाइपलाइन निर्माण जारी, ५ हजार रूख काटिने शिर्षकमा कौशिला कुँवरको समाचार छापिएको छ । पेट्रोलियम पाइपलाइन निर्माणको काम तीव्र गतिमा भइरहेको छ । नेपाल र भारत सरकारको प्राथमिकतामा रहेको मोतिहारी अमलेखगन्ज पेट्रोलियम पाइपलाइन निर्माण कार्य जारी छ । ‘मोतिहारी अमलेखगन्ज पेट्रोलियम पाइपलाइन नेपालतर्फको ३९ दशमलव २ किलोमिटर भू–भागमध्ये २ किलोमिटर क्षेत्रमा जमिनमुनि पाइप बिछ्याउने काम सकिएको छ,’ नेपाल आयल निगम, आपूर्ति तथा वितरण विभागका उपनिर्देशक बिनितमणि उपाध्यायले भने ।

मोतिहारी अमलेखगन्ज पेट्रोलियम पाइपलाइन जमिनमुनी बिछ्याउन अब १८ दशमलव २ किलोमिटर मात्र बाँकी छ ।

दुई÷तीन महिनाभित्र बाँकी काम सम्पन्न हुने उपाध्यायले दाबी गरे । सम्पूर्ण काम सकिएसँगै भारतको पटनाबाट पाइपलाइनमार्फत पेट्रोलियम पदार्थ ल्याइनेछ । उनले भने, ‘बाधा अवरोध नभए तीन महिनाभित्र नेपालमा पेट्रोलियम पदार्थ आउनेछ । यसलाई समयमै सम्पन्न गर्न परियोजनाले सक्रिय रूपमा काम अगाडि बढाइरहेको छ ।’

‘बाँकी पाइपलाइन बिछ्याउने भू–भागमध्ये पर्सा राष्ट्रिय निकुञ्जमा ८ किलोमिटर, नाला ससाना पुलपुलेसा, नदी, क्रसिङ सडक, गण्डक क्षेत्रमा रहेको छ,’ उपाध्यायले भने । उनले भने, ‘निकुञ्जभित्र रहेको करिब ५ हजार रूख काट्ने काम अब छिट्टै हुनेछ । भारतको मोतिहारीदेखि रक्सौलसम्म ३३ दशमलव ७ किलोमिटरमध्ये मोतिहारी–रक्सौल क्षेत्रमा केही काम बाँकी रहेको छ ।’

ताजा समाचार

सम्बन्धित समाचार