Friday, September 20, 2024

कलंकी– कोटेश्वर सडकमा पैदल यात्रुका लागि ‘नो सेफ्टी’

काठमाडौं–चक्रपथ अन्तर्गतको कलंकी– कोटेश्वर सडक पैदल यात्रुका लागि असुक्षित बन्दै गएको छ।

चक्रपथकाे कलंकी–काेटेश्वर खण्ड अन्तर्गत धाेवीघाटमा गाडी छलेर सडक पार गर्दै पैदलयात्रु। तस्बिर : हाकाहाकी

कोटेश्वर–कलंकीसम्मको १० दशमलव ३९ किलोमिटर दूरी रहेको आठ लेनको सडकमा एउटा पनि जेब्रा क्रसिङ छैन। जसले गर्दा पैदलयात्रु जोखिम मोलेरै बाटो काट्न बाध्य छन्।

बिहीबार यातायात व्यवस्था कार्यालय, एकान्तकुना अगाडि बाटो काट्दै गरेकी सीता बुढाथोकीले भनिन्, ‘यहाँ न त जेब्रा क्रसिङ छ, न त आकाशे पुल। गाडी हेरेर बाटो काट्नुपर्छ।’ चक्रपथ विस्तार भएपनि जेब्रा क्रसिङसँगै पर्याप्त आकाशे पुल नहुँदा तीव्र गतिमा आएका गाडीलाई छल्दै बाटो काट्नुपर्ने बाध्यता पैदलयात्रुको छ।

कलंकीदेखि कोटेश्वरसम्म विस्तार भएको सडकमा बागडोल, ग्वार्को र कोटेश्वर गरी जम्मा तीन स्थानमा मात्र आकाशे पुल छन्। तर, एउटा पनि जेब्रा क्रसिङ छैन।

स्थानीय मनिष मानन्धरका अनुसार कोटेश्वर, कलंकी, सातदोबाटोमा पैदलयात्रुको पनि उत्तिकै चाप हुन्छ। ‘त्यो ठाउँमा बाटो काट्ने बढी हुन्छन् तर, जेब्रा क्रसिङ र आकाशे पुल नहुँदा जोखिम मोलेर सडक पार गर्नुपर्छ,’ उनले भने।

मानन्धर अगाडि थप्छन्, ‘बस एकातिर रोक्छ, जानुपर्ने अर्कोतिर हुन्छ। आठ लेनको सडकमा गाडीको गति झनै बढी हुन्छ। जसले गर्दा बाटो काट्दा दुर्घटना हुनसक्ने सम्भावना धेरै छ। हामीलाई त बाटो काट्न मुस्किल छ। अझ बद्धबृद्धाहरूलाई कति ग्राहो हुन्छ होला।’

कार्यालय, घर, विद्यालय जाँदा आउँदा यही बाटो प्रयोग गर्ने पैदल यात्रुहरूले जेब्रा क्रसिङ र आकाशे पुल नबन्दा सास्ती खेप्नुपरेको अजुर्न कार्की बताउँछन्।

वातावरणविद् भुषण तुलाधरका अनुसार काठमाडौं उपत्यकामा ४० प्रतिशत पैदलयात्रु छन्। ‘धेरैजसो मानिस पैदल नै हिँड्छन्। सार्वजनिक यातायात चढ्नेले पनि पैदल हिँड्नुपर्ने हुन्छ। उनीहरुले पनि बाटो काट्नुपर्ने हुन्छ। त्यसले सडक सुरक्षालाई ध्यान दिन जरूरी हुन्छ,’ उनी भन्छन्। सवारी दुर्घटनामा मृत्यु हुनेमा ४० देखि ५० प्रतिशत पैदलयात्री रहने गरेको तथ्यांक हुने गरेको उनले बताए।

‘बाटो काट्न तीन मिनेटभन्दा बढी समय अथवा दायाँबायाँ हिँड्नु पर्न हो भने मानिसहरू हिँड्न कष्ट नगरी सोझै बाटो काट्ने प्रयास गर्छन् । त्यसले गर्दा दुर्घटना हुनसक्ने सम्भावना धेरै हुन्छ,’ उनले भने।

महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौंका प्रवक्ता जयराज सापकोटाका अनुसार कोटेश्वर–कलंकी सडक खण्डमा आर्थिक वर्ष २०७५/७६ को असोजसम्म ६ सय १५ सवारी दुर्घटना भएका छन्। दुर्घटनामा १० जनाले ज्यान गुमाएका छन्। २३ जना गम्भीर घाइते भएको र ४ सय ४५ सामान्य घाइते भएको उनले बताए।  पैदल यात्रुहरूका लागि आकाशे पुल तथा जेब्रा क्रसिङ नहुँदा दुर्घटना बढेको हुनसक्ने उनी बताउँछन्।

चक्रपथ सुधार आयोजनाका प्रमुख सुजन खनाल कालोपत्रेको काम अन्तिमचरणमा रहेको र त्यसपछि जेब्रा क्रसिङका लागि रेखा निर्माण गरिने बताउँछन्। ‘कालोपत्रे गर्ने काम नसकिएकाले जेब्रा क्रसिङका लागि रेखा निर्माण गर्ने काम रोकिएको हो,’ उनले भने, ‘कालोपत्रे हुनासाथ रेखा निर्माण गरिन्छ।’

डिसेम्बरको अन्तिममा सडक निर्माण सकेर नेपाल सरकारलाई हस्तान्तरण गरिने उनले बताए। चक्रपथ सुधार आयोजनाले कंलकी–कोटेश्वर सडकखण्डमा थप १० वटा आकाशे पुल बनाउने लक्ष्य लिएको बताइएको छ।

ताजा समाचार

सम्बन्धित समाचार