Friday, September 20, 2024

फोहोरवाला होइन सफाइवाला

काठमाडौं– ग्वार्कोकी भुजेलमाया देउला हरेक दिन बिहानै ४ बजे मंगलबजार पुग्छिन्। उनी पुरानो बोरा समात्छिन् अनि  सडकको छेउछाउ बढार्न थाल्छिन्, जहाँ फोहोर थुप्रिएको हुन्छ। सडक बढार्न, फोहोर एक ठाउँमा जम्मा पार्न र बोरामा संकलन गर्न भुजेलालाई उनका साथीसंगीले पनि साथ दिन्छन्।

भुजेलको दिनचर्या २५ वर्षदेखि यसरी नै बितेको छ। ललितपुर महानगरपालिकाभित्रका गल्लीगल्ली पुगेर सफाइ गर्नु उनको कर्म बनेको छ।

भनिन्छ, काम सानो र ठूलो हुँदैन, श्रमको सम्मान गर्नु सक्नुपर्छ। तर, यसरी झिसमिसे बिहानीमा फोहोर उठाएर सडक चिटिक्क पार्न क्रममा कयौं पटक अपमान सहनु परेको तितो अनुभव उनीसँग छ।

‘हामी त फालेको फोहोर उठाउँदै सडक सफा गर्दै हिँड्छौं। सडक सफा गर्नेवाला भनेर हेँला गर्छन,’ उनले भनिन्, ‘दुःख लाग्छ, के गर्नु नगरी खान पुग्दैन।’

बंगलामुखीकी हिरादेवी देउलाको दीनचर्या पनि ३० वर्षदेखि ललितपुरका सडक र गल्लीमा थुप्रिएको फोहोर उठाउँदै बितिरहेको छ। धुलो र फोहोरसँग नाता नै जोडिसकेको जस्तो लाग्छ,’ हिरादेवी भन्छिन्, ‘न फोहोरले हामीलाई छोड्छ न फोहोरलाई हामी छोड्न सक्छौं। यही फाहोरसँग जोडिएको गहिरो सम्बन्धले होला रूघा खोकीले पनि छाड्दैन।’

यो ३० वर्षमा उनले धेरै परिवर्तन देखिन्। तर, मानिसहरूले जथाभावी फोहोर फाल्ने प्रवृत्ति ज्यूँकात्यूँ रहेको उनको अनुभव छ। ‘अहिले पनि मानिसले जथाभावी फोहोर फाल्ने गरेका छन्,’ उनले भनिन्, ‘सचेत र शिक्षित छन्। तर,सडकमै फोहोर फाल्छन्।’

अहिले नेपालमा पनि कामको सम्मान हुन थालेको उनी बताउँछिन्। ‘पहिले हामीले पसलमा चिया खाएपछि पनि भाँडा आफैं माझ्नुपथ्र्याै। तर, अचेल हाम्रो कामलाई पनि सम्मान मिल्न थालेको छ,’ हिरादेवी भन्छिन्।

त्यसैगरी, कुलेश्वरकी सावित्री देउला पनि २७ वर्षदेखि फोहोर बढार्ने काम गर्दै आएकी छिन्। ‘रूट अनुसार कहिले कता कहिले कता जानुपर्छ,’ उनले भनिन्, ‘बिहानै सबै स्वच्छ हावा खान मर्निङ वाकमा निस्कन्छन्, हामी धुलो र फोहोर उठाउन।’

फोहोरसँग सीधैं जोडिएका उनीहरूसँग नत पञ्जा छ, न मास्क नै। महानगरले वर्षमा एक पटक मास्क र पञ्जा उपलब्ध गराउने भएपनि बाँकी समय आफैं किन्नुपर्ने बाध्यता रहेको सावित्री बताउँछिन्।

‘हामी सडक सफा सर्न पुगेमा फोहोरवाला आए भन्छन्। यो सुन्दा दुःख लाग्छ,’ सावित्री भन्छिन्, ‘दिदी वा अरू केही भनेर भनिदिए हुन्थ्यो।’

हामी घर, आगन सफा होस् चाहान्छौं तर कतिपय सडकमा फोहोर फ्याक्छन्। भुजेल, हिरा र सावित्री जस्तै धेरै कूचीकारले नगर सफा गर्दै हिँड्छन्।

ललितपुर महानगरपालिकाका फोहोर सफाइ विभागका नाइके भाइ विजेन्द्र देउला अहिले उठाउनै नसकिने गरी सडकमा फोहोर थुप्रिने गरेको बताउँछन्। ‘पहिले सडकमा झाडु लगाए पुग्थ्यो, खासै फोहोर हुँदैनथ्यो। तर, अचेल सडकभर जथाभावी फोहोर फ्याँकिएको हुन्छ। सफा गर्न नै समस्या हुन्छ,’ उनले भने।

उनका अनुसार कुचीकारले झाडु लगाएर बोरामा संकलकन गरी ठाउँठाउँमा जम्मा गरेको फोहोर महानगरको गाडीले उठाउँदै हिँड्छ।

ताजा समाचार

सम्बन्धित समाचार