Friday, September 20, 2024

आहा! बागमती छेउमै लोभलाग्दो पार्क

काठमाडौं–दुई वर्ष अघिसम्म फोहोरैफोहोरले भरिएको ललितपुरको शंखमुलस्थित शंखपार्क अहिले हरियाली तथा फुलैफूलको ‘फूलबारी’ बनेको छ।

तस्वीरहरू : अमिष रेग्मी

कुनै समय फोहोर र झाडीका कारण त्यहाँ जानसमेत डर मान्ने स्थानीयहरू अहिले साँझबिहान टहलिन शंख पार्कमा पुग्ने गरेका छन्।

काठमाडौं उपत्यकाका घरहरूमा बगैंचा, खुला ठाउँ तथा हरियाली भेट्न मुश्किल छ। तर, अहिले खुला स्थानको खोजी गर्दैै यहाँका मानिस परिवासहित शंखमुलस्थित बागमती किनारामै बनेको शंखपार्कमा जाने गरेका छन्।

‘अहिलेको जस्तो सफा र हराभर होला भन्ने सोचेको पनि थिएन। मान्छे तथा जनावर गाड्ने ठाउँमा यति सफा र हराभर होला कहिले कल्पना गरेको थिएन,’ पार्क घुम्न आएका स्थानीय महेश महर्जनले भने, ‘यहाँ फोहोर र झाडी मात्र थियो। यहाँ मानिस आउन समेत डर मान्थे।’

पहिले यो बाटो हिँड्दा दुर्गन्धले नाकमुख छोपेर हिँड्ने गरेकोमा अहिले हरियाली पार्क बन्दा चकित भएको त्यहाँ पुगेकी कल्पना चौधरीले बताइन्।

‘यो ठाउँमा घुम्न आउने गरेको वर्षाै भइसक्यो। पहिले हिँड्नै गाह्रो हुन्थ्यो,’ बच्चा लिएर घुम्न आएकी उनले भनिन्, ‘अहिले पार्क बन्दा रमाइलो छ। तर, बागमतीको दुर्गन्घ हटाउन सके राम्रो हुन्थ्यो।’

अहिले स्थानीयको रोजाइमा शंखपार्क नै पर्ने गरेको छ। बच्चाले घुम्न जान जिद्धि गर्न थालेपनि अभिभावकको शंखपार्क लग्ने गरेका छन्।

साँझ बिहान अभिभावकसहित बच्चाहरू पार्क पुग्ने गर्छन्। यहाँको सुन्दर दुश्य क्यामेरामा कैद गरि फेसबुकमा फोटो पोस्ट गर्छन्।

‘यहाँ घुम्न आइएला। फोटो खिच्ने सुन्दर ठाउँ बन्ला भन्ने कुरा सायदै हामीले कल्पना गरेका थियौं,’ उर्मिला महर्जनले भनिन्, ‘अहिले त साँझ बिहान तथा शनिबार होस् या अन्य विदाको दिन बच्चाहरू खेल्न तथा घुमाउन यहाँ ल्याउने गरेका छौं।’

कोटेश्वरबाट पार्क घुम्न आएका सरोज बास्तोला पनि पार्कमा फुलेका ढकमक्क फूल, हरियो दुबोले र बागमती नदी किनारामा लगाइएको बोटविरुवाले निकै मन लोभाएको बताउँछन्। ‘यति सुन्दर ठाउँ छ। अझ बागमती किनारामा सफा पानी बगेको देख्न पाए कति गजब हुन्थ्यो,’ उनले भने।

दैनिक हजारभन्दा बढीले शंखपार्क अवलोकन गर्ने गरेको बताइएको छ।

३२ रोपनी क्षेत्रफलमा फैलिएको शंखपार्क गैर आवासीय नेपाली संघ(एनआरएनए) ले निर्माण गरेको हो।

एनआरएनएले ललितपुर महानगरपालिकालाई असोज २५ गते शंखपार्क हस्तान्तरण गरेको थियो।

सन् २०१६ मा शुरु भइ२०१८ मा सम्पन्न परियोजनाको कूल लागत ३ करोड ५० लाख रुपैयाँ रहेको ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जनले बताए ।


ताजा समाचार

सम्बन्धित समाचार