Sunday, June 8, 2025

भूकम्प अतिप्रभावित १४ जिल्लाका ७१ प्रतिशत लाभग्राही पुनर्निर्माण प्रक्रियामा

काठमाडौं, फागुन १४ः राष्ट्रिय पुनर्निर्माण प्राधिकरण स्थापना भएको दुई बर्ष दुई महिनामा भूकम्प अतिप्रभावित १४ जिल्लाका ७० प्रतिशतभन्दा बढी लाभग्राही नीजि आवास पुनर्निर्माण प्रक्रियामा संलग्न भएका छन् ।

आजसम्मको तथ्याङ्कअनुसार भूकम्प अतिप्रभावित १४ जिल्लाका कुल ६,६७,६६२ मध्ये ६,१०,५०० भूकम्पपीडितसँग अनुदान सम्झौता भइसकेको छ भने १,००,२३६ घरको पुनर्निर्माण सम्पन्न भएको र ३,३२,३२१ घर पुनर्निर्माण भइरहेको कुरा प्राधिकरणले आज एक विज्ञप्ती प्रकाशित गरी जनाएको छ ।

पाँच बर्षको कार्यादेशसहित सरकारले २०७२ पुस १२ गते स्थापना गरेको प्राधिकरणले नीजि आवास पुनर्निर्माणलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको पनि जनाएको छ । यही अनुपातमा नीजि आवास पुनर्निर्माणको काम अघि बढे आगामी बर्खाअघि करिब ६० प्रतिशत पुनर्निर्माण भइसक्ने प्राधिकरणले दावी गरेको छ ।

नीजि आवास पुनर्निर्माणको समयसीमा तोकिएको र प्राविधिकहरु स्थानीय स्तरमा परिचालन गरिएको, डकर्मी तालिम व्यापक रुपमा संचालन गरिएको एवं निर्माण सामग्री तथा काठको आपुर्ति सहज भएकाले जिल्लामा घर बनाउने लाभग्राहीकोृ संख्या उल्लेख्य रुपमा बढेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भूसालले बताएका छन् ।

“हामीले स्थानीय जनप्रतिनिधि तथा लाभग्राहीसँग अन्तत्र्रिmया गरेर पुनर्निर्माणका लागी थप प्रोत्साहन गरिरहेका छौं, त्यसैले आउँदो बर्खाअघि करिब ६० प्रतिशत लाभग्राहीलाई छानोमूनि ल्याउने लक्ष्य पुरा हुनेमा हामी विश्वस्त छौं,” उनले भने ।

भूकम्प कमप्रभावित १८ जिल्लामा बनिसकेका र बन्दै गरेका घरको विवरण प्राधिकरणको केन्द्रिय सूचना प्रणालीमा समाविष्ट नभएकाले निर्माणाधीन र निर्माण सम्पन्न घरको संख्या अझै बढ्ने प्राधिकरणका प्रबक्ता यम लाल भूसालले बताएको छ ।

ती जिल्लामा रहेका कुल १ लाख ४३ लाभग्राहीमध्ये अनुदान सम्झौता भएका ९० हजार ८ सय ५० को पछिल्लो तथ्याङ्क आउने क्रममा रहेको सूचना व्यवस्थापन तथा संचार शाखाका प्रमुख मनोहर घिमिरेले जानकारी दिए ।

ताजा समाचार

सम्बन्धित समाचार