Saturday, November 23, 2024

तापक्रम वृृद्धिसँगै हिमतालको जोखिम

जलवायु परिवर्तनका कारणले हिमतालको संख्या र आकारमा वृद्धि भइरहेको छ। त्यो भनेको जोखिमको अवस्था हो। किनभने हाम्रा हिमताल करीबकरीब ५ हजार मिटरको उचाइँमा छन्। त्यो उचाइँमा ठूल्ठूला हिमताल बन्नु र प्राकृतिक संरचनायुक्त अत्यन्त कमजोर बाँध हुनुले जोपखम बढी नै हुन्छ। हिमताल जुनसुकै बेला पनि बिस्फोट हुन सक्ने खतरा कायमै रहन्छ। केही हिमतालको जोखिम न्यूनीकरण पनि गरिएको छ, भने अझै धेरै हिमतालको पहिचान गरी जोखिम न्यूनीकरण गर्न बाँकी छ।
सन् २०११ मा अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) को अध्ययन अनुसार ३ हजारभन्दा बढी हिमताल छन् । त्यसमध्ये ६ वटा हिमतालमा बढी जोखिमयुक्त छन्। ६ वटा हिमतालमध्ये दोलखा जिल्लाको च्छो रोल्पा र सोलुखुम्बुको इम्जा हिमतालमा संरचनागत निर्माण गरेर त्यहाँको जल सतह घटाएका छौँ। ती बाहेक अन्य हिमतालमा काम गर्न बाँकी नै छ। यस्तै ठूलागी र तल्लो बरुण लगायतका हिमतालको काम पनि हुन सकेको छैन।

हिमताल कसरी बन्छ
हिउँ नै बग्ने नदी हिम नदी हो। हिमनदी पग्लिएर हिमताल बनेको हुनुपर्छ। हिमताल माथिल्लो उचाइँमा बनेको हुन्छ। हिउँ बग्दा यसले वरपरका ढुंगा माटो, गिट्टी, बालुवा पनि सँगसँगै लैजाने हुँदा कतिपय ठाउँमा अलि बढी नै खाल्टो पर्ने या गहिराइ बढ्ने हुन्छ। त्यस्तो अवस्थामा जब हिउँ पग्लिन्छ, पग्लिइसकेपछि त्यस्तो खाल्टोमा जमेको पानीलाई हिमताल भनिन्छ।

फाइदा र बेफाइदा
कतिपय अवस्थामा हिमताललाई व्यवस्थित गर्न सक्यौँ भने यो पानीको स्रोत हो। यदी त्यहाँ हामीले कन्ट्रोल च्यानल बनाएर, कन्ट्रोल गेट निर्माण गरेर आवश्यक मात्राको पानी प्रवाह गर्यौँ भने बिजुली पनि निकाल्न सकिन्छ। पर्यटनका लागी राम्रो ‘हट् स्पट’ बन्न सक्छ। हिमतालको पानी स्वच्छ हुने भएकाले खानेपानीको रुपमा पनि प्रयोग गर्न सक्छौँ। त्यसमा बोटलिङ गरेर या प्रशोधन गरेर विश्व बजारमा पानी बेच्न पनि सकिन्छ।

जुन अवस्था र जुन ठाँउमा हिमताल बनेको छ, त्यो नै यसको जोखिम हो। हिमालयको भौगोलिक बनावटको अवस्था कमजोर हुन्छ। हिमनदीको अस्थायी बाँध बनेको हुन्छ। पानीको बहाव हुन ठाउँमा सामान्यतया गेगर, ढुंगा, माटो, बालुवा, चट्टानले बनेको हुन्छ त्यो अत्यन्त नरम खालको हुन्छ र त्यो कुनै पनि बेला फुट्न सक्ने जोखिम रहन्छ।

हिमतालको (ड्याम) मोराइनभित्र माथिपट्टी ढुंगा, बालुवा, माटो आदि देखिएपनि तलतल हिउँ नै रहेको हुन सक्छ। जसलाई ‘डेड आइस’ भनिन्छ। त्यो ‘डेड आइस’ पनि भित्रभित्रबाट जम्मा भएर भ्वाङ परेर ताल एकै पटक फुट्न पनि सक्ने खतरा हुन्छ। त्यसकारण जोखिम पक्षलाई आँकलन र पहिचान गर्नुपर्ने हुन्छ। त्यसैगरी यसको जोखिम न्यूनीकरणका लागि काम गर्नुपर्ने देखिन्छ।

जलवायु परिवर्तन, मौसम र हिमताल
नेपालमा जलवायु परिवर्तनको दर अत्यन्त उच्च छ। जल तथा मौसम विज्ञान विभागले इसिमोडसँगको सहयोगमा गरेको अध्ययनमा गत वर्ष नेपालको सरदर अधिकतम तापक्रमको वृद्धि शून्य दशमलव शून्य ५७ डिग्री सेल्सीयस् रहेको पाइएको छ। यो ठूलो परिवर्तन हो। यसलाई १ सय वर्षमा तुलना गर्ने हो भने ५ दशमलव ७ डिग्री सेल्सियस तापक्रम वृद्धि हुन्छ। आइपिपिसीसीले सन् २१०० सम्ममा विश्वमा तापक्रम वृद्धि ३ देखि ५ डिग्रीभन्दा बढ्न नदिन भनेको छ। तर, नेपालको तापक्रम यसको रेन्जभन्दा माथि पुग्ने देखिएको छ। जसकारण जलवायु परिवर्तनको असर हिमतालमा पनि पर्ने देखिएको छ। यस्तै केही वर्ष यता मनसुनी प्रणालीमा परिवर्तन आएको छ। ढिलो गरी मनसुन शुरु हुने ढिलो नै मनसुन अन्त्य हुने गरेको छ। यस्तै अतिवृष्टि र अनावृष्टि हुने घटना पनि वृद्धि भएको छ। पानी प¥यो भने ठूलो पानी पर्ने जसबाट बाढीपहिरो आउने, डुबान हुने तथा कहिले पानी नै नपर्ने र जसले कृषि क्षेत्रमा असर पर्ने लगायतका समस्या हुने गरेका छन्।

तापक्रम बढ्ने वित्तिकै हिमनदी संकुचन हुन्छ। पहिले तलतल हिमनदी फेला पर्थे भने अहिले आएर हिमरेखामाथिमाथि सर्दै गएको छ। हिमाल नाङ्गा भएपछि त्यहाँबाट पनि खहरे खोला जस्तो पानी बग्दा विभिन्न दुर्घटना निम्तने खतरा हुन्छ।

हिमतालबाट हुने क्षति न्यूनीकरणको प्रयास
खतराको सूचीमा रहेका केही हिमतालबाट हुने सम्भावित क्षतिलाई आँकलन गरेर न्यूनीकरणको प्रयास थालिएको छ। दोलखा जिल्लाको च्छो रोल्पा र सोलुखुम्बुको इम्जा हिमतालमा संरचनागत निर्माण गरिएको छ। गेट या नहर जस्तो प्रणाली बनाएर नियन्त्रित रुपमा पानी घटाइएको छ। यद्यपी, केही पानीसहितको ताल अझंै बाँकी रहेकाले जोखिमलाई ध्यानमा राख्दै बिस्फोट भइहालेमा त्यसको सूचना तल्लो तटीय क्षेत्रमा बस्ने नागरिकमा पुर्याउन पूर्वसूचना प्रणाली राखिएको छ। यी बाहेक अन्य हिमतालमा पनि जोखिम न्यूनीकरणका लागि प्रयास गर्नुपर्ने आवश्यकता रहेपनि अध्ययन अनुसन्धान नै नहुँदा क्षति न्यूनीकरणको प्रयासमा कठिनाइ छ।

हिमतालको क्षतिबाट कसरी बच्ने ?
खोलाको छेउछाउमा घर लगायतका मानवीय बसोबास हुने संरचना सकेसम्म नबनाउँदा राम्रो हुन्छ। खोलाको बहाव क्षेत्रलाई छलेर मात्र बाटो निर्माण गर्नुपर्छ। पुल पनि पानीको बहावले कमभन्दा कम क्षति गर्ने स्थानमा अग्लो खाले निर्माण गर्नुपर्छ। हिमतालबाट हुने जोखिमबाट बच्न जनचेतना जगाएर मात्र पुग्दैन सरकारले पनि विभिन्न नीतिगत तहमा छलफल र बहस गरी ठोस कदम चाल्न आवश्यक छ। तिब्बतमा रहेका केही हिमतालको असर नेपालमा पनि पर्ने हुँदा यी तालका सन्र्दभमा चीन सरकार र नेपाल सरकारबीच नीतिगत तहमा छलफल हुनुपर्छ।

अरु हिमतालको अध्ययन
नेपाल सरकारको आर्थिक स्रोतलेभन्दा पनि अन्य दातृ निकायको सहयोगमा विभिन्न हिमतालको अध्ययन अनुसन्धान गर्नुपर्ने देखिएको छ। पछिल्लो समय युएनडीपीको सहयोगमा प्रस्ताव तयार भइरहेको छ। यो प्रस्ताव पारित भएमा बाँकी रहेका हिमतालको नक्सांकन गरी जोखिम पहिचान गर्ने र स्थलगत रुपमै विस्तृत अध्ययन गर्ने काम हुनेछ। त्यसबाट जोखिम औंल्याइएमा न्यूनीकरणका लागि संरचना बनाउने दिशामा प्रस्ताव तयार भइरहेको हो।

अनुसन्धानमा कठिनाइ
उच्च हिमाली क्षेत्र भएकाले त्यहाँ मानव बसोबास छैन। त्यहाँ कुनै होटल हुने कुरै भएन। बाटोको राम्रो व्यवस्था पनि नभएकाले विभिन्न अध्ययन अनुसन्धान गर्न कठिन छ। त्यहाँ पुग्न शेर्पा, गाइड, खाना पकाउने मान्छे, भरीया लगायत आवश्यक पर्छ। केही दिनको वसोबासका लागि खानेकुरा र अरु आवश्यक सामग्रीको जोहो गर्न पनि कठिन हुने भएकाले सजिलै त्यहाँ गएर काममा लाग्न चुनौती छ। अध्ययन अनुसन्धान मात्र नभइ हिमतालको जोखिम न्यूनीकरणका लागि बनाइने संरचना निर्माणका लागि धेरै खर्च लाग्ने हुँदा महंगो पनि पर्छ। विभागले पनि जोखिम न्यूनीकरणका लागि कतिपय काम गर्न सकिरहेको छैन।

अन्तर्राष्ट्रिय सन्धि,सम्झौता भएको छैन
हिमतालकै बारेमा अन्तर्राष्ट्रिय सन्धि। सम्झौता अहिलेसम्म भएको छैन। तापक्रम वृद्धिले हिमतालमा पारेको असरका बारेमा उल्लेख भएपनि यसका विषयमा सन्धि सम्झौता भने भएको छैन। यद्यपी जलवायु परिवर्तनबाट निम्तने हिमताल बिस्फोटबाट हुने बाढीपहिरोका कारण हुने क्षति र नोक्सानीका बारेमा भने संयुक्त राष्ट्रसंघको जलवायु महासन्धिमा उल्लेख छ।
(शर्मा जल तथा मौसम विज्ञान विभागका महानिर्देशक हुन्)

ताजा समाचार

सम्बन्धित समाचार