Friday, September 20, 2024

सुधारिएको चुल्हो, धुवाँबाट मुक्ति

धनगढी– कैलारी गाउँपालिका–छुट्की पलियाकी जानकी चौधरीको आँखा घरमा सुधारिएको चुल्हाे प्रयोग गरेदेखि पाकेको छैन। उनले भान्सामा सुधारिएको चुल्हाे प्रयोग गर्न थालेको चार वर्ष भयो। खाना पकाउँदा स्वास फुल्ने र खोकी लाग्ने समस्या हटेको पनि चार वर्ष भयो। ‘खाना पकाउदा आँखा पोल्ने, स्वाँ–स्वाँ हुने समस्या हटेको धेरै वर्ष भयो,’ हँसिलो अनुहार लगाउँदै जानकीले भनिन्, ‘धुँवा बाहिर फाल्ने चुलोमा खाना पकाउन थालेपछि यस्तो समस्या कम हुँदै गयो। अब त त्यस्तो समस्या छैन।’

जानकीलाई अझै सम्झना छ, ‘साधारण चुलोमा खाना पकाउँदा घर भरि धुँवा भरिन्थ्यो। आँखा मिचेर राता हुन्थे। स्वाँस फुलेर आउँथ्यो। खोकी लागेर हैरान भइन्थ्यो।’

गृहणीलाई मात्रै होइन, साधारण चुल्होमा खाना पकाउँदा घरभित्र रहेका बालबालिका र बृद्धहरुलाई समेत स्वाँसप्रस्वाँस सम्बन्धी समस्या थियो। ‘घरमा खाना पाक्न थालेपछि कि त घर छोडेर निस्किनु पथ्र्यौ, कि त सहेर बस्नुको विकल्प थिएन,’ कैलारी–५, पवेराका बयोबृद्ध टिंगुराम थारुले भने, ‘घरमा धुँवा नहुँदा कुनै चिन्ता छैन। घर सफा छ। परिवारमा विरामी हुनेको संख्या पनि घटेको छ। बालबालिकालाई पढ्न लेख्न पनि सजिलो भएको छ।’

घरमा सुधारिएको चुलो प्रयोगले कैलारी–५, पवेराकी रञ्जिता चौधरीको घर पनि सफा छ। ‘धुँवाले घरको छाना कालो हुन्थ्यो, धुँवाले सेता कपडा काला हुन्थे। बल्भ पनि कालो भएर उज्यालो कम दिन्थ्यो,’ रञ्जिताले भनिन्, ‘अहिले त्यस्तो छैन। साधारण चुल्हो प्रयोग गर्दा हुने आँखा दुख्ने, टाउको दुख्ने, जिउ चिलाउने, घाँटी बस्ने, स्वास फुल्ने जस्ता रोग कम भएका छन्। घर उज्यालो भएको हुनाले बालबालिकालाई साँझको बेला पढ्न सजिलो छ।’

कैलारी–५ गोब्रैलाकी गृहणी रमा चौधरीले सुधारिएको चुल्हो प्रयोग गर्न थालेपछि दाउराको खपत कम भएको बताइन्। उनले घरभित्रको धुँवा चिम्नीले बाहिर फालिदिँदा खाना पकाउन सजिलो भएको बताइन्। ‘धुँवा हुँदैन, घर सफा हुन्छ,’ मुस्कुराउँदै रमाले भनिन्, ‘साधारण चुल्होमा खाना पकाउँदा घर धुँवैधुँवाले भरिन्थ्यो, आँखा मिच्दै खाना पकाउनु पथ्र्यौ।’
कैलाली गाउँपालिका–५ का एक हजार एक सय भन्दा बढि परिवारले सुधारिएको चुल्हो जडान गरेका छन्। गाउँपालिकाको अनुसार सो वडाका चार सय ८३ परिवारले सुधारिएको चुल्होसहित वायोग्यास पनि प्रयोग गरेका छन्, भने पाँच परिवारले सुधारिएको चुल्होसहित खाना पकाउने एलपी ग्यास प्रयोग गर्ने गरेका छन्।

कैलारी गाउँपालिकाका नायव सुब्बा बलराम चौधरीले वडा नम्बर १ र ३ मा समेत सुधारिएको चुल्हो जडान गर्ने अभियान शुरु भएको बताउ। उनले गत आर्थिक वर्षमै गाउँपालिकालाई पूर्ण सरसफाइयुक्त घोषणा गर्न कार्यादेश आएदेखि पूर्णसरसफाइ अभियान तीव्र पारिएको बताए। आउँदो आर्थिक वर्षमा गाउँपालिकाको प्रत्येक घरमा सुधारिएको चुल्होे लगायत सरसफाइका सबै मापदण्ड पूरा गरी घोषणा गरिने उनले बताए। ‘कैलारी गाउँपालिकाको वडा नं. ५ (तत्कालीन पवेरा गाविस) ओडिएफ गर्ने र पूर्ण सरसफाइयुक्त घोषणा गर्ने पहिलो गाविस भएको थियो,’ नायव सुब्बा चौधरीले भने, ‘कैलारी गाउँपालिका नै पहिलो पूर्ण सरसफाइ भएको स्थानीय तह बनाउने अभियानमा हामी छौं ।’

कैलारी गाउँपालिकाको वडा नम्बर १ र ३ का बासिन्दाले पनि सुधारिएको चुल्हो प्रयोग गर्न थालेका छन्। अधिकांश परिवारले भान्सामा चिम्नी चुल्हो जडान गरेको भएपनि कतिले प्रयोग गर्छन् भन्ने यकीन तथ्यांक गाउँपालिकामा नरहेको नायव सुब्ब चौधरी बताए। उनले कार्यक्रम वडा मार्फत चलिरहेको र वडाबाट तथ्यांक लिन बाँकी रहेको बताए।

सरसफाइकार्यक्रम अन्तर्गत घरघरमा चर्पी बनाई प्रयोग गराउने, धारामा फर्स गराउने, सामान तथा भाँडाकुँडा राख्नेखण्ड बनाउने, घर परिपरी बोटबिरुवा रोप्ने, खाल्डाखुल्डी पुर्ने, खाना खानु अघि र खाइसकेपछि हात धुन सिकाउने, बालबालिकाहरुलाई समेत चर्पीमा दिसापिसाव गर्न प्रयोत्साहित गर्ने जस्ता स्वस्थ बानी विकास गर्ने कार्यक्रम चलिरहेको नायव सुब्बा चौधरीले बताए। ‘गाउँपालिकालाई पूर्ण सरसफाइसँगै घरभित्रको धुँवामुक्त बनाउने योजना छ,’ उनले भने, ‘अहिले गाउँपालिका आफैले यो कार्यक्रम चलाउँदै छ । हामी छिट्टै लक्ष्यमा पुग्ने छौं ।’

सुधारिएको चुल्होको प्रयोगले मानिसलाई धुँवाजन्य रोगबाटमुक्त गराउनुका साथै दाउरा बचत गरी कार्वन उत्सर्जन कम हुन गइ वातावरण समेत स्वच्छ राख्न मद्दत गरेको छ। यसले जलवायु परिवर्तन न्यूनिकरणमा मद्दत पुगेको प्राविधिकहरू बताउँछन्।

देशैभर सुधारिएको चुल्हो लगायतका बैकल्पिक ऊर्जामा सहयोग गर्दै आएको बैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका इञ्जिनियर दीनेश त्रिपाठीका अनुसार सुधारिएको चुल्हो बन्द हुने भएकाले कार्वन समेत जल्ने भएकाले यसले कार्बन उत्सर्जनमा समेत कमी ल्याइ जलवायु परिवर्तनमा मद्दत पुर्याउँछ। अन्य बैकल्पिक तथा नविकरणीय उर्जाको तुलनामा सुधारिएको चुलो बनाउन निकै सस्तो समेत छ । सुदूरपश्चिम प्रदेशमा सुधारिएको चुलोको अवधारणा ल्याएका कैलाली कञ्चनपुर ग्रामीण विद्युतीकरण छाता संघठनका जिल्ला कार्यक्रम संयोजक भरत शाहीका अनुसार सुधारिएको चुलो बनाउन सातदेखि आठ सय रुपैयाँ खर्च लाग्छ।

नेपाल सरकारले मुलुकलाई नै घरभित्रको धुँवामुक्त घोषणा गर्ने लक्ष लिएको छ । त्यसका लागि सरकारले ‘वैकल्पिक उर्जा प्रबद्र्धन केन्द्र/राष्ट्रिय ग्रामीण तथा नवीकरणीय ऊर्जा कार्यक्रम/जैविक ऊर्जा सह ईकाई’ गठन गरी देशैभर वायोग्यास, सुधारिएको चुल्हो प्रगोय गराई घरलाई धुँवामुक्त बनाउने अभियान नै चलाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार