काठमाडौँ – आजकाे पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएको छ ।
कान्तिपुर
–आजको कान्तिपुरमाजंगल जोगाउने कि विकास गर्ने ? शिर्षकमा घनश्याम खड्का र अब्दुल्लाह मियाँको समाचार छापिएको छ।
वन र वन्यजन्तु जोगाउने कि अन्तर्राष्ट्रिय विमानस्थल बनाउने भन्नेमा विज्ञबीच मत बाझिएपछि त्यसको निक्र्योल गर्न पूर्वप्रधानमन्त्री माधव नेपाल नेतृत्वको संसदीय उपसमिति निजगढको स्थलगत भ्रमणमा जाने भएको छ ।
संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि वन फँडानी गर्दा पर्ने प्रभावका सम्बन्धमा अध्ययन गर्न गठित उपसमितिको बिहीबार बसेको बैठकले कात्तिक ४ गते स्थलगत अध्ययनमा जाने निर्णय गरेको हो ।
बैठकले वन फँडानी र विमानस्थल निर्माणका सम्बन्धमा राय बुझ्न निम्त्याएका विज्ञमध्ये केहीले कम क्षतिमा विकासको काम अघि बढाउन सुझाव दिएका थिए भने केहीले वन सम्पदा मास्नुको बदला आयोजनास्थल अन्यत्रै सार्नुपर्ने राय दिएका थिए । ‘तपाईंहरूका सुझाव सबै मननीय छन्,’ उपसमितिका संयोजक पूर्वप्रधानमन्त्री नेपालले भने, ‘विमानस्थल कुनै हालतमा रोकिँदैन, वातावरणीय क्षति कम गर्न के गर्न सकिन्छ, आफैं गएर हेर्छौं ।’
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पमा अर्को विमानस्थल बनाउनुपर्ने आवश्यकता भएरै २७ वर्षअगाडि यसबारे अध्ययन थालिएको स्मरण गर्दै नेता नेपालले थपे, ‘हामी अझै अध्ययन नै गरिरहेका छौं । यो कस्तो देश हो, जहाँ अध्ययन मात्रै हुन्छ । काम अगाडि बढ्दैन ।’
त्यस्तै स्कुल बनाउन सत्तल मासिंदै शिर्षकमा दामोदर न्यौपानेको समाचार छापिएको छ । राजधानीको एक स्कुलले धार्मिक महत्त्वको सत्तल मासेर विद्यालयको थप भवन बनाउने योजना बनाएको छ । कालिमाटीस्थित निलबाराही मन्दिर क्षेत्रको नाममा रहेको एउटा सत्तल मासेर नयाँ भवन बनाउने योजना अघि बढेको हो । त्यहाँ तीन सत्तल छन् । मन्दिरका गुठियारको विरोधका कारण विद्यालयको योजना सफल भने भएको छैन । ‘स्कुलमा विद्यार्थी बढ्दै गए,’ विद्यालयकी प्रधानाध्यापक डा। जानुका नेपालले भनिन्, ‘कतै ठाउँ पाइएन । म पनि सम्पदाप्रेमी हुँ । मास्न मन त छैन । केही नलागेपछि के गर्नु रु सम्पदाभन्दा त स्कुलै महत्त्वपूर्ण हो नि । कतै ठाउँ पाइयो भने अन्तै बनाउँछौं । यसका लागि विद्यालय व्यवस्थापन समितिसँग कुरा राख्छु ।’
२०१० सालमा वकिल मुक्तिनाथ झाले खोलेका हुन् यो विद्यालय । टोलमा स्कुलको आवश्यकता महसुस गरेर गुठियारले यहाँका तीनवटै सत्तलमा पढाउन अनुमति दिएका थिए । ‘सत्तलभन्दा स्कुलै महत्त्वपूर्ण ठानेर पढाउने अनुमति दिए हाम्रा पुर्खाले,’ स्थानीयबासी अनिल तुलाधर भन्छन्, ‘पहिला सत्तलमा पढाइयो । सत्तल उनीहरूकै भयो । पछि स्कुलमा मावि संचालन भयो । हामीले हाम्रो सांस्कृतिक गतिविधि हुने चौर दियौं । चौरमा भवन बनाउँदा केही भनेनौं । अहिले त सत्तलै भत्काइदिने कुरा पो गर्छन् ।
अन्नपूर्ण पोस्ट
–आजको अन्नपूर्णमा महानगरको जिम्मामा शंखमूल पार्क शिर्षकमा समाचार छापिएको छ । बागमती किनारमा निर्माण भएको शंखमूल पार्कको व्यवस्थापन तथा सञ्चालन जिम्मा गैरआवासीय नेपाली संघ (एनआरएनए) ले ललितपुर महानगरलाई दिएको छ। संघले बनाएको शंखमूल पार्कको बिहीबार सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले उद्घाटन गरेका थिए।
यो पार्क सबैका लागि खुला गरिएको छ। करिब साढे तीन करोड रुपैयाँ खर्च गरेर पार्क निर्माण गरेको हो। एनआरएनए आफैं सक्रिय भएर सुरु गरेका तीन ठूला आयोजनामध्ये पार्क निर्माण पनि सम्पन्न गरी महानगरलाई हस्तान्तरण भएको छ। संघको बारपाक बस्तीपछिको ठूलो आयोजना हो।
संघले सन् २०१६ बाट निर्माण सुरु गरेको यो आयोजना निर्धारित समयभन्दा ढिलो पूरा भएको बताएको छ। पार्क उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सहरी विकासमन्त्री राईले सहरी सौन्दर्य बढाउन यसले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए। राईका अनुसार नेपालमा कुनै पनि विकास निर्माणको अयोजना गर्दा सार्वजनिक खरिद ऐन पालना गर्नुपर्ने र कम अंक मूल्यांकन गर्नुपर्ने प्रावधानका कारण गुणस्तरीय काम हुन नसकेको गुनासो बढेको बताए। उनका अनुसार सरकारले स्टिमेटमा न्यूनतम रकम कबुल गरेर ठेक्का आवेदन गर्न पाइन्छ भन्ने व्यवस्था गर्न लागेको समाचार उल्लेख छ।
राजधानी
–आजको राजधानीमा वातावरणमैत्री बनाउन सुझाव शिर्षकमा सविन शर्माको समाचार छापिएको छ । संघीय संसदको प्रतिनिधिसभाअन्तर्गत अन्तराष्ट्रिय सम्बन्ध समितिले गठन गरेको उप–समितिले दोस्रो अन्तराष्ट्रिय निजगढ विमानस्थलको स्थलगत अध्ययन गर्ने निर्णय गरेको छ । वातावरणमैत्री विमानस्थल निर्माणका पक्षमा रहेको उप–समितिले आगामी ४ कात्तिकमा बारा अन्तराष्ट्रिय विमानस्थलको स्थलगत अध्ययन गर्ने भएको छ।
नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालको संयोजकत्वमा गठित उप–समितिमा सांसदहरु चाँदतारा कुमारी, दिव्यमणिराज चण्डारी, दिपप्रकाश भट्ट, निर्जला राउत छन्। विमानस्थलको डिपिआर तयार नहुँदै निर्माण स्थलमा पर्ने रुख काट्न संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय र वन मन्त्रालयबीच सहमति भएको थियो। आयोजनाको निर्माण कार्य सुरु नहुँदै रुख काट्न लागिएको भन्दै आलोचना भएपछि सोको छानबिनका लागि उप–समिति गठन गरिएको थियो।
हाल तोकिएको स्थानमा केही हेरफेर मात्रै गर्दा पनि धेरै रुखहरु काट्न नपर्ने तर्कसमेत उब्जिएको थियो । नेपाल कम्युनिष्ट पार्टीका नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले मन्त्री र प्रशासकीय प्रमुखलाई आउने कमिशनकै लागि जथाभावी पूर्वाधार बनाउन नहुने बताएका छन्। समिति बैठकले निजगढ अन्तरााष्ट्रिय विमानस्थल आयोजनाको बारेमा अध्ययन गर्न गठित उपसमितिको बैठकमा बोल्दै नेपालले आवश्यकता भन्दा लहडको भरमा कतिपय पूर्वाधार निर्माण भइरहेको बताएको समाचारमा उल्लेख छ ।
नेपाल समाचारपत्र
–आजको समाचारपत्रमा बाहिरी चक्रपथ ५ वर्षमा बन्ने शिर्षकमा समाचार छापिएको छ । तीन महिनाभित्र बाहिरी चक्रपथको डीपीआर तयार गरी ५ वर्षभित्र सम्पन्न हुने ढंगबाट चिनियाँ कम्पनीलाई जिम्मा दिन सरकार सकारात्मक भएको छ । एक चिनियाँ कम्पनीले निःशुल्क डीपीआरसहित बाहिरी चक्रपथको रेखांकन, निर्माण र आर्थिक श्रोत जुटाउने आशय व्यक्त गरेपछि सपनाका रुपमा रहेको बाहिरी चक्रपथ निर्माण अघि बढ्ने आशा जागेको छ ।
तर सरकारले तत्कालै बाहिरी चक्रपथको विस्तृत परियोजना प्रतिवेदन(डीपीआर) र जग्गा अधिग्रहणको काम अघि नबढाउने हो भने यो परियोजना कहिल्यै बन्न नसक्ने चेतावनी विज्ञहरूले दिएका छन् । काठमाडौँ, ललितपुर र भक्तपुर तीनै जिल्लालाई जोड्ने ७२ किलोमिटर लामो बाहिरी चक्रपथ देशको राजधानीको मुहार फेर्ने आयोजना रहेको समाचारमा उल्लेख छ ।
नयाँ पत्रिका
आजको नयाँ पत्रिकामा ‘निजगढ विमानस्थल निर्माणमा वन बाधक बन्दैन’ शिर्षकमा अच्युत पुरीको समाचार छापिएको छ ।
वन तथा वातावरण मन्त्रालयले निजगढमा निर्माण हुने अन्तर्राष्ट्रिय विमानस्थलका लागि वनको मुद्दा बाधक नबन्ने स्पष्ट पारेको छ । मन्त्रालयका सचिव डा। विश्वनाथ ओलीले आयोजना कार्यान्वयन गरी मुलुक विकास गर्ने सन्दर्भमा मन्त्रालय बाधक नबन्ने बताएका हुन् ।
व्यवस्थापिका संसद्, अन्तर्राष्ट्रिय सम्बन्ध समितिले निजगढ विमानस्थलको सम्बन्धमा अध्ययन गरी प्रतिवेदन बुझाउन गठन गरेको उपसमितिको बैठकमा बोल्दै सचिव ओलीले वृक्षारोपण तथा वातावरण संरक्षणका वैकल्पिक उपाय अपनाएर विमानस्थलका लागि रूख हटाउन सकिने बताएका हुन् । करिब १९ सय हेक्टर क्षेत्रफलमा विमानस्थल संरचना बन्ने विमानस्थलको पहिलो चरणमा करिब ९ सय ९० हेक्टर जमिनका रूख कटान गरी विमानस्थल बनाउन सकिने वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनले उल्लेख गरेको मन्त्रालयले जानकारी दिएको समाचारमा उल्लेख छ ।