भादगाउँ – भक्तपुरको टौमढीस्थित प्रसिद्ध भैरवनाथ मन्दिरको जीर्णोद्धार शुरु गरिएको छ। विसं २०७२ को विनाशकारी भूकम्पले क्षतिग्रस्त सो मन्दिर भक्तपुर नगरपालिकाले जीर्णोद्धार शुरु गरेको हो।
नगरपालिकाले न्हुछेराम भेलेको अध्यक्षतामा गठन भएको उपभोक्ता समितिमार्फत सो मन्दिरको जीर्णोद्वार शुरु गरेको हो। पहिलो चरणमा मन्दिरको माथिल्लो छानाको जीर्णोद्वार गरिनेछ। त्यसका लागि नपासँग रु एक करोड ४१ लाखको लागतमा सम्झौता भएको छ।
सो बजेटले मन्दिरको सबैभन्दा माथिल्लो तल्लाको झिँगटी, झ्याल, टुँडाल फेरिनेछ। यसअघि विसं २०७४ मा सो मन्दिर जीर्णोद्वारका लागि रु एक करोड २७ लाख लागत अनुमान गरिएको थियो।
मन्दिर जीर्णोद्धार लागि अहिले बाँसको खट बाँध्ने काम भइरहेको छ। त्यसका लागि करीब ९०० बाँसको व्यवस्था गरिएको भेलेले जानकारी दिए। खट बाँध्न चित्तपोल र ताथलीबाट लामा–लामा ३५० बाँस र अरु साना लम्बाइका ४०० बाँस इलामबाट झिकाइएको छ। भक्तपुर नपा–८ को लाँतीकोचाबाट अरु थप ६० बाँस ल्याइनेछ। रासस