काठमाडौँ – आजको पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विषयमा समाचार छापिएको छ ।
नागरिक
–आजको नागरिकमा कलंकी–नौबिसे सडक जाम : पार गर्न ९ घण्टा शिर्षकमा सरिता श्रेष्ठकाे समाचार छापिएको छ। दसैं मान्न भनेर राजधानीबाट घर हिँडेकी स्याङ्जाका नन्दी थापालाई कलंकीदेखि धादिङको नौबिसे–धार्केसम्म आइपुग्न करिब ९ घन्टा लाग्यो। अरू बेला एक घन्टामा पार गर्न सकिने करिब २६ किलोमिटरको यो सडक खण्ड छिचोल्न अहिले ८ देखि १२ घन्टासम्म लाग्न थालेको छ। बिहान साढे पाँच बजे गाडी चढेकी थापा दिउँसो ३ बजे बल्ल धार्के आइपुगिन्। ‘चाडपर्व नजिकियो। आफन्त र साथीभाइसँग खुसी बाँड्न घर हिँडेका थियौं,’ धार्केमा बुधबार भेटिएकी उनले नागरिकसँग भनिन्, ‘ट्राफिक जामले बेलैमा गन्तव्यमा पुग्न मुस्किल देखियो।’
एक सातादेखि यात्रुले यो सडक खण्डमा ट्राफिक जामको सास्ती खेप्नुपरेको छ। खाल्डाखुल्डी परेर बिग्रिएको सडकमा अहिले सवारीसाधन बन्द गरेर मर्मतको काम थालिएको छ। मर्मतका लागि भन्दै यो सडकखण्डमा राति ८ बजेदेखि बिहान ५ बजेसम्म गाडी बन्द गरिएको छ। राति गाडी चलाउन रोक लगाएर सडक मर्मत थालेपछि जाम बढ्दा यात्रुले झन् सास्ती खेप्नुपरेको हो।
राति रोकिएका गाडी बिहान एकैपटक छुट्दा जाम हुने गरेको छ। साघुँरो, उकालोओरालो, घुमाउरो मोड रहेको नौबिसे नागढुंगा सडकखण्डमा दैनिक ट्राफिक जामले यात्रु आजित छन्। राजधानी भित्रिने र राजधानीबाट पूर्वपश्चिमका जिल्ला जाने यात्रु जामको मारमा परेका छन्। ‘सामान्य बेला सिम्लेबाट कलंकी पुग्न डेढदेखि दुई घन्टासम्म लाग्छ, अहिले ९/१० घण्टासम्म लाग्छ छ,’ थापाले भनिन्, ‘चाडपर्वका बेलामा सडक मर्मत गर्ने र उकालो बाटोमा बढी भार लिएर राजधानी प्रवेश गर्ने सवारीसाधन बाटोमै बिग्रिनाले पनि जाम हुन्छ।’
कंलकीदेखि नागढुंगा निस्कनै चारदेखि छ घन्टासम्म लाग् छ। कलंकीदेखिको ट्राफिक जाम धार्के हुँदै सिम्लेसम्म आइपुगेपछि बल्ल कम हुन्छ। चाडपर्वमा खाद्यान्नलगायत सामग्री लिएर राजधानी हिँडेका मालवाहक ट्रक उकालो बाटोमा बिग्रिँदा पनि जाम झनै बढेको समाचारमा उल्लेख छ।
त्यस्तै उठ्दैछ सांस्कृतिक शहर दोलखा शिर्षकमा रमेश खतिवडाको समाचार छापिएको छ। भूकम्पले तहसनहस प्राचीन दोलखा बजारका सम्पदाको पुुनर्निर्माण भइरहेको छ। बजारका निजी घरसँगै मठमन्दिर, डबली, पाटीपौवालगायत वर्षौं पुराना सांस्कृतिक सम्पदा पुनर्निर्माण हुँदैछन्। ससाना केही सम्पदाको निर्माण सकिएको छ। धार्मिक र पुरातात्विक महत्वका ठूला सम्पदा निर्माण हुने क्रम जारी छ । केही सम्पदा पुनर्निर्माणमा स्विस सरकारले सघाएको छ।
भूकम्पका कारण दोलखाका प्राचीन मन्दिर, पाटीपौवासहित तीन दर्जन बढी सम्पदामा क्षति पुगेको छ। पुरातत्व विभागका अधिकारीका अनुसार प्रसिद्ध भीमेश्वर मन्दिरबाहेक सहरका प्रायः सम्पदा भूकम्पको धक्काले भत्किएक थिए। यहाँ सय वर्षभन्दा बढी पुराना मठमन्दिर, चैत्य, डबली, पार्टी पौवा गरी ५० भन्दा बढी छन्। तर सहरका अध्येताहरु भने सार्वजनिक र व्यक्तिको स्वामित्वमा रहेका मल्लकालअघिका पुराना संरचनासमेत जोड्दा १ सय १० वटाभन्दा बढी प्राचीन सम्पदा यहाँ रहेको दाबी गर्छन्।
कान्तिपुर
–आजको कान्तिपुरमा विकास भन्दै चुरे विनाश शिर्षकमा अब्दुल्लाह मियाँको समाचार छापिएको छ । चुरे संरक्षण गुरुयोजना स्वीकृत गरेको एक वर्षमै सरकारले चुरे र आसपास क्षेत्रमा विकासका ठूला आयोजना घोषणा गरेको छ । चुरे क्षेत्र विनाश हुने गरी सडक, सिँचाइ, प्रदेश राजधानी, औद्योगिक क्षेत्र, अस्पताल र रंगशालालगायत आयोजना अघि सारिएको हो ।
२०७४ जेठ ४ गते मन्त्रिपरिषद्ले चुरे विनाश रोक्न ‘चुरे–तराई मधेस संरक्षण तथा व्यवस्थापन गुरुयोजना’ स्वीकृत गरेको थियो । डेढ करोड मानिसको भविष्य सुनिश्चित गर्ने उद्देश्य बोकेको २० वर्षे गुरुयोजनाका लागि झन्डै तीन करोड रुपैयाँ खर्च गरियो । २० वर्षभित्र झन्डै साढे दुई खर्ब रुपैयाँ लगानी गरेर चुरे विनाश निर्मूल गर्ने र तल्लो तटीय क्षेत्रलाई सुरक्षित गर्ने लक्ष्य गुरुयोजनामा छ ।
गुरुयोजनाअनुसार चुरे संरक्षणका लागि भइरहेका काम बिथोलिने गरी २०७५ जेठमा सरकारले पूर्व–पश्चिम मदन भण्डारी लोकमार्गलगायत महत्त्वाकांक्षी योजना अघि सार्यो । यसका साथै राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिले अघि बढाएको नदी प्रणालीमा आधारित कार्यक्रम प्रभावित हुने गरी सरकारले ठूला विकास आयोजना घोषणा गरेको छ । ‘हामी चुरे संरक्षण भनेर लागिरहेका छौं, तर विकासविरोधीको टीका लगाइन्छ,’ चुरे समितिका बोर्ड सदस्य विदुर भारतीले कान्तिपुरसँग भने, ‘चुरेलाई कसैले गन्दै नगन्ने, टेर्दै नटेर्ने अवस्था सिर्जना भएको छ ।’ सरकारको घोषणाले अहिलेसम्मको लगानी खेर जाने अवस्था रहेको उनको भनाइ छ ।
राष्ट्रपति चुरे संरक्षण राष्ट्रिय गौरवको कार्यक्रम भए पनि सरकारले त्यसलाई ग्रहण गर्न नसकेको उनले बताए । ‘हाम्रै्र कार्यक्षेत्रमा सञ्चालन हुने अन्य विकास आयोजनाबारे सहकार्य हुनुपर्ने हो,’ भारतीले थपे, ‘सरकार र मातहतका निकाय एक्लाएक्लै हिँडेर उपलब्धि हासिल हुँदैन ।’
मानवीय क्रियाकलापको अत्यधिक चापले चुरेको पारिस्थितिकीय प्रणाली असन्तुलित बनेको छ । जैविक विविधता, वन पैदावार र कृषि भूमिको उत्पादकत्वमा कमी आएको छ ।
उर्बर जमिन र समथर भाग नदी कटान र चुरे शृंखलाबाट बगेर आएका गेगरले बगरमा परिणत भएको समाचारमा उल्लेख छ।
त्यस्तै त्रिभुवन राजपथमा २० हजार खाल्डाखुल्डी शिर्षकमा प्रताप विष्टको समाचार छापिएको छ । मुलुकको सबैभन्दा जेठो राजमार्ग त्रिभुवन राजपथको यात्रा जोखिमयुक्त बनेको छ । राजमार्गको समयमा नै मर्मतसम्भार नभएकाले जोखिमयु्क्त बन्दै गएको हो । साना ठूला गरेर २० हजारभन्दा बढी खाल्डाखुल्डी छन् । ‘गत आवमा करिब २ करोडको लागतमा ६ हजार खाल्डाखुल्डी पुर्ने र लिटेनिङ लगाउने काम गरियो,’ साइड इन्जिनियर आशुतोष कर्णले बताए ।
राजमार्गको विभिन्न भागमा सडक भासिएको छ भने कैयौं स्थानमा सासाना सवारी साधनको टायर पुरिने खालका खाल्डाखुल्डी छन् । राजमार्गका कैयौं खण्डमा पिचको नाम निसानै छैन । स्थानीयवासीहरूले गाउँतर्फ मोटरबाटो लैजाने क्रममा पनि राजमार्ग विभिन्न स्थानमा भासिएर साँघुरो बनेका छन् । ‘खाल्डाखुल्टी र सडक भासिएका स्थानमा कुैन पनि बेला ठूलै दुर्घटना हुन सक्छ,’ लामीडाँडाका पूर्ण लामाले भने, ‘चाडवाड आयो झन् सवारी साधन चाप बढ्दै छ ।’
त्रिभुवन राजपथको हेटौंडादेखि दामेचौरसम्म ९० किलोमिटर पर्छ । उक्त सडक खण्डमा गत वर्ष साना ठूला गरेर २६ हजारभन्दा बढी खाल्डाखुल्डी रहेका थिए । गत वर्षको ठेक्काबाट करिब ६ हजार खाल्डाखुल्डी पुर्ने काम भएको र अझै २० हजार खाल्डाखुल्डी पुर्ने काम रहेको डिभिजन सडक कार्यालयले जनाएको छ । ‘त्रिभुवन राजपथ भएर आवतजावत गर्न समस्या भइसक्यो,’ थाहा नपा ३ शिखरकोटका स्थानीयवासी अरुण रायमाझीले भने, ‘शिखरकोटबाट साढे २ घण्टामा हेटौंडा पुगिन्थ्यो, बाटो खराब भएकाले ४ घण्टा बढी समय लाग्ने भइसक्यो, छिट्टै हिँड्यो खाल्डामा परिएला भन्ने डर विस्तार हिँड्यो, समयमा पुगिँदैन ।’ राजपथको तल्लो र माथिल्लो भागमा डोजर लगाएर मोटरबाटो बनाउने प्रवृत्तिले सडक जोखिमयुक्त बन्दै गएको छ भने अर्कोतिर मर्मत सम्भारको अभावले गर्दा त्रिभुवन राजपथ उच्च जोखिमयुक्त बन्दै गएको छ । त्रिभुवन राजपथको हेटौडादेखि नौबिसेको सोप्याङसम्म सडकको दुरावस्था रहेको छ । गत वर्ष मर्मतसम्भारको ठेक्का पाएका निर्माण कम्पनीहरूले समयमा नै काम नगरेकाले पनि समस्या भएको समाचारमा उल्लेख छ ।
अन्नपूर्ण पोस्ट
–आजको अन्नपूर्ण पोस्टमा राजधानी छिर्न ४५ किमि जाम शिर्षकमा मनिष दुवाडीको समाचार छापिएको छ । नीलकण्ठ नगरपालिकाकी सरिता श्रेष्ठ बुधबार बिहान काठमाडौंबाट धादिङबेसी जान बिहान ६ बजे गाडी चढिन्। कलंकीदेखि जाममा परेकी श्रेष्ठ ९ घण्टा लगाएर अपरान्ह ३ बजे मात्रै धादिङबेसी पुगिन्। सामान्य अवस्थामा धादिङ–काठमाडौं बाटोको सयम ३ घण्टा मात्रै हो। त्रिभुवन राजपथअन्तर्गत नौबिसे–पिपलामोड–नागढुंगा सडकखण्ड अत्यधिक भार बोकेका गाडीका कारण खाल्डो परेर भास्सिएर कुलोजस्तो बनेको छ। काठमाडौंस्थित सडक डिभिजन कार्यालयले मर्मत थालेको छ।
सडक विभागले काम सहज बनाउन भन्दै सोमबारदेखि राति ८ बजेदेखि बिहान ५ बजेसम्म एक सातासम्म दुवैतर्फ सवारी साधन रोकेर मर्मत थालेको हो। यसले सवारी साधन ९ देखि १४ घण्टाभन्दा बढी जाममा बस्न बाध्य भएको समाचारमा उल्लेख छ ।