काठमाडौँ – आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन्।
कान्तिपुर
– आजको कान्तिपुरमा बाघको बाटोमा राजधानी शिर्षकमा समाचार चित्रांग थापा र मोहन बुढाऐरको छापिएको छ। कैलाली, गोदावरी नगरपालिकाको तेघरी वन क्षेत्रलाई प्रदेश ७ को राजधानी बनाउने प्रदेशसभाको निर्णयविरुद्ध अस्थायी राजधानी धनगढीमा आन्दोलन चर्केको छ । यही विषयलाई लिएर प्रतिपक्ष दलका सांसदले समेत आइतबार प्रदेशसभा बैठक ठप्प पारे । विज्ञहरूले वातावरणीय प्रभाव मूल्यांकन र चुरे फेदीमा पर्न सक्ने दीर्घकालीन प्रभाव अध्ययनबिनै गरिएको निर्णयले वनसँगै जैविक मार्गसमेत मासिने खतरा औंल्याएका छन् । उनीहरू वन क्षेत्र मासेर संरचना बनाउँदा धेरै सोचविचार र अध्ययन हुनुपर्ने बताउँछन् ।
‘तेघरी वन क्षेत्रमा राजधानी तोकेपछि पक्कै वातावरणीय प्रभाव मूल्यांकन गरेरै काम होला भन्न सकिन्छ,’ तराई भूपरिधि कार्यक्रमका संयोजक बुद्धि रिजाल भन्छन्, ‘चुरे फेदीमा भौतिक संरचना बनाउँदा निश्चित रूपमा वातावरणमा धेरै असर पर्छ ।’ उनका अनुसार कार्यक्रमले विश्व वन्यजन्तु कोषको सहयोगमा तेघरीमा जैविक विविधिता र वातावरणको संरक्षणबारे सन् २००४ देखि काम गर्दै आएको छ । बाघ संरक्षणमा प्राप्त उपलब्धि जैविक मार्ग संरक्षणबाट सम्भव भएको उनले बताए । ‘सीमापारि भारतको दुदुवा नेसनल पार्कको बाघ तेघरी जंगलमा देखा पर्न थालेको छ । केही समयअघि तराईको बाघ ब्रह्मदेव हुँदै डडेलधुराको जोगबुढासम्म पुग्यो । बाघ ओहोरदोहोर गर्न लालझाडीसँग जोडिएको मोहना जैविक मार्गको महत्त्व सबैभन्दा बढी छ, यो तेघरी वन क्षेत्रसँग जोडिएको छ,’ उनले भनेको समाचारमा उल्लेख छ।
महानगरमै थन्किए धूलो पखाल्ने मेसिन शिर्षकमा विद्या राईको समाचार छापिएको छ । काठमाडौं महानगरपालिकाले सडकको धूलो पखाल्न जेट मेसिन खरिद गरेको डेढ महिना भइसक्दा पनि प्रयोगमा ल्याएको छैन । खरिद प्रक्रियापछिका केही आन्तरिक काम बाँकी रहेकाले सञ्चालनमा ल्याउन नसकेको वातावरण विभागका प्रमुख हरि कुँवरले दाबी गरे। ‘आन्तरिक परीक्षण तथा चेक भइरहेकाले आकस्मिकबाहेक पूर्ण रूपमा प्रयोगमा ल्याइएको छैन,’ उनले भने।
महानगरले डेढ महिनाअघि ५ वटा जेट मेसिन ल्याएको हो। बिमस्टेक बैठकका बेला दुइटा प्रयोग गरिएको थियो। हाल दुइटा मेसिन महानगरको वातावरण विभाग परिसर र ३ वटा सभागृहको पार्किङमा थन्काइएका छन्। अत्यधिक धूलोका कारण महानगरमा सासै फेर्न गाह्रो भएपछि जेट मेसिन खरिद गरिए पनि दैनिक प्रयोगमा ल्याइएको छैन।
वातावरण विभागका अनुसार सडकको धूलो सफा गर्न प्रयोग हुने ब्रुमर पनि थप ल्याएपछि मात्रै प्रयोग गरिनेछ। महानगरले चीन सरकारको अनुदानमा ती ब्रुमर भित्र्याउन लागेको हो। महानगरले चीन सरकारलाई १२० दिने कार्यादेश पठाएको छ। उसले साउन अन्तिम साता २ महिनाभित्रै ब्रुमर ल्याउने बताएको भए पनि हालै मात्र कार्यादेश पठाएको हो। समाचारमा उल्लेख छ ।
त्यस्तै बर्दिया बाघको वैभव शिर्षकमा कमल पन्थी र ठाकुरसिंह थारुको समाचार छापिएको छ । वन्यजन्तु र प्राकृतिक विविधताले भरिपूर्ण बर्दिया निकुञ्ज अहिलेसम्म ओझेलमै छ । संघीय राजधानीबाट स्थल र हवाई दुवै मार्गबाट लामो दूरीमा रहेकाले यसले फडको मार्न नसकेको हो । मुलुकमा चलेको एक दशकभन्दा लामो ‘द्वन्द्व’ पनि पिछडिनुको कारण हो ।
तत्कालीन माओवादी र राज्यबीचको भिडन्तले बर्दियालगायत मध्य तथा सुदूरपश्चिमका जिल्ला प्रत्यक्ष प्रभावमा परे । त्यसको असर संरक्षणमा पनि पर्यो । त्यही अवधिमा निकुञ्जमा चोरीसिकार बढे । मुलुकमा शान्ति स्थापनासँगै निकुञ्ज संरक्षणमा सुधार आयो । रणनीति फेरिए । कर्मचारी र सुरक्षाकर्मीको उपस्थिति बाक्लियो । संरक्षणकर्मीले दिनरात नभनी काम गर्न थाले । उपभोक्ता चनाखो बने । त्यसको प्रतिफल बाघको संख्या ह्वात्तै बढेको छ । सुरक्षित वातावरण र प्रशस्त आहारा प्रजाति भएकाले दुर्लभ पाटे बाघ बढिरहेका छन् ।
निकुञ्ज र मध्यवर्तीमा स्थानीय समुदायले सञ्चालन गरेका संरक्षण र उपभोक्ताको जीविकोपार्जनका गतिविधि अवलोकन गर्न दुई वर्षअघि बेलायती राजकुमार ह्यारी आएका थिए । उनले डल्लामा सञ्चालन गरिएको होमस्टे अवलोकन गरे । उनको भ्रमणले निकुञ्जको प्रचारप्रसारमा मद्दत पुग्यो । सात वर्षअघि प्रसिद्ध हलिउड अभिनेता लियोनाद्रो डिक्याप्रियो निकुञ्ज घुम्न आएका थिए । उनले निकुञ्ज भ्रमणका बेला अमेरिकी फोटोग्राफरले खिचेको चार डमरुसहितको बघिनीको तस्बिर विश्वव्यापी बन्यो । तस्बिरले बाघलाई ‘सेलिब्रेटी’ बनायो । तस्बिर भाइरल बनेपछि बाघ हेर्न आउनेको संख्या पनि बढेको पर्यटन व्यवसायी जितबहादुर थापाले बताए । दिनहुँ बाघ हेर्न आन्तरिक तथा बाह्य पर्यटक आउन थाले । यसपछि पर्यटक दोब्बर भएको समाचारमा उल्लेख छ ।
नागरिक
–आजको नागरिकमा तेघरी वनक्षेत्र खतरामा शिर्षकमा दिलबहादुर छत्याल र पुष्पराज जोशीको समाचार छापिएको छ । सुदूरपश्चिम प्रदेशको राजधानी तोकिएको गोदावरी–२ को जंगल मासेर भौतिक संरचना बनाउँदा समस्या हुने भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्। प्रदेशसभाले गोदावरी नगरपालिकाको चुरे फेददेखि तेघरीको भावर क्षेत्रसम्म तीन सय ५० हेक्टर जंगल फँडानी गरेर राजधानी बनाउने निर्णय पारित गरेपछि भूगोल र वातावरणविद्ले राजधानीका लागि सो क्षेत्र क्षेत्र उपयुक्त नभएको बताएका हुन्।
विज्ञहरूका अनुसार तेघरी जंगल चुरे, तराई र भारतको दुधुवा नेसनल पार्कसम्म विभिन्न प्रजातिका जनावर ओहोरदोहोर गर्ने जैविक मार्ग हो। त्यस्तै चुरे र तराई बीचमा पर्ने भावर क्षेत्र पानीको मुहान भएको क्षेत्र हो। वनविज्ञ रमेश चन्द सुदूरपश्चिमको राजधानी गोदावरीमा बनाउँदा भविष्यमा ठूलो संकट र समस्या आउने बताउँछन्। ‘जैविक मार्ग अवरुद्ध हुन्छ, भावर क्षेत्रमा जंगल मासिँदा पानी भण्डारण सुक्छ र बाढीले कटान गरेर जमिन बगरमा बदलिन सक्छ’, उनी भन्छन्। भारतको दुधुवा नेसनल पार्कसँगै जोडिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गोदावरी करिडोर ९तेघरी जंगल० भएरै वन्यजन्तुहरू आवतजावत गर्छन्। ‘पहाडका जीवजन्तु यही बाटो भएर तराई झर्ने र भारतका जीवजन्तु पनि शुक्लाफाटा निकुञ्ज भएर तेघरी जंगल हुँदै पहाड उक्लने गर्छन्,’ उनले भने। उनका अनुसार यो मार्गमा मृग, चितुवा, घोरल, नीलगाई, स्याल, ब्वाँसा आवतजावत गर्छन्। ‘यो क्षेत्र अन्तर्राष्ट्रिय जैविक मार्ग भएकाले पनि निकै महत्वपूर्ण छ,’ उनले भने, ‘त्यसैले जैविक मार्ग छुनु हुँदैन।’ चन्दका अनुसार चुरे फेदमा रहेको भावर क्षेत्र मान्छेको पेटजस्तै हो। ‘भावर क्षेत्रमा भण्डारण रहेकाले तराईमा कुवा खन्दा पानी आउँछ,’ उनी भन्छन्।
भाउ नपाउँदा गोदाममै थन्कियो अलैंची शिर्षकमा शिवप्रसाद ढुंगानाको समाचार छापिएको छ ।
ओखलढुंगाका किसानले लगाएको अलैंची तीन वर्षयता बिक्री हुन सकेको छैन। बजार भाउ नपाएपछि किसानले अलैंची बिक्री नगरी गोदाममा थन्क्याएका छन्। बर्सेनि बजार भाउ घटेपछि किसानले भाउ बढ्ने आशमा बिक्री नगरी राखेका हुन्। अघिल्ला वर्षदेखि भाउ बढ्ने आशमा किसानले अलैंची ठेकेदारलाई नदिई गोदाममा राखेका छन्।
अहिले पनि भाउ घटेपछि किसान चिन्तित भएका छन्। ‘दुई वर्षको अलैंची गोदाममै छ, यो वर्ष पनि भाउ घट्यो’, रावादोलुका किसान टेकबहादुर खड्काले भने। तीन वर्षदेखि अलैंची नबेचे पनि झन्झन् बजार भाउ घटेर लगानी नै नउठ्ने अवस्था आएको खड्काको भनाइ छ। उनी मात्र होइन खिजीदेम्बा गाउँपालिकाकाका रावादोलु, भूसिंगालगायत स्थानका किसानले लगाएको अलैंची बिक्री नभएपछि गोदाममै थन्किएको हो। कतिपयले घाटा परेर बिक्री गरे पनि कतिले बिक्री नगरी भाउ पर्खेर बसेका छन्।
‘घाटा परेर बेच्नुभन्दा भैंसीलाई खुवाइन्छ, दुई वर्षअघिको समेत अलैंची बाँकी छ’ खड्काले हास्दै भने। उनले बजार पाउँदा वार्षिक पाँच लाखको अलैंची बेच्दै आए पनि दुई वर्षयता बेच्न सकेका छैनन्। ती वर्ष पहिलोसम्म घरमै ठेकेदार आएर प्रतिकेजी दुई हजार रुपैयाँभन्दा बढी दिएको किसानको भनाइ छ। अहिले भाउ घटेर चार पाँच सयमा झरेपछि किसान चिन्तित बनेको समाचारमा उल्लेख छ ।
राजधानी
–आजको राजधानीमा २५ वर्षपछि पक्की पुल बन्दै शिर्षकमा समाचार छापिएको छ । बाँसटारी– झडेवा सडक खुलको झण्डै २५ वर्षपछि तिनाउ खोलामा पक्की पुल बन्ने भएको छ । सो खोलामा पक्की पुल नहुँदासडकमा गुड्ने सवारीसाधन र यात्रुले वर्षतको समायमा त्रासमा यात्रा गर्दै आएका थिए।
तानसेन नगरपालिका–९ माडीफाँटमा रहेको तिनाउ खोलाको बाढीका कारण बर्सेनि यात्रुले ज्यान गुमाउँदै आएका छन् । गत वर्षको २४ असारमा खोलामा आएको बाढीले जिप बगाउँदा चार यात्रुले ज्यान गुमाएका थिए भने सोभन्दा बालबालिका र गाईवस्तु धेरै बगेको समाचारमा उल्लेख छ ।