Tuesday, November 5, 2024

दशैँ : सात लाखले काठमाडौं छाडे, दैनिक ७५ हजार बाहिरिँदै

काठमाडाैँ– दशैं नजिकिदै जाँदा काठमाडौं उपत्यका छाड्ने क्रम दिन प्रतिदिन बढिरहेको छ। दशैं मनाउन वर्षेनि २० देखि ३० लाखको हाराहारीमा यात्रु काठमाडौं बाहिरिने गरेकोमा यसपाली असोज एक गतेदेखि अहिलेसम्म ८८ हजार ४ सय सवारी स्थलमार्ग हुँदै बाहिरिएको छ भने ७ लाख २४ हजार २ सय ५१ यात्रुले काठमाडौँ छाडिसकेका छन् ।

ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसएसपी वसन्त पन्तका अनुसार हाल दैनिक ७ हजार ५ सय सवारी स्थलमार्ग हुँदै बाहिरिन्छन् भने, ७५ हजार यात्रुले उपत्यका छाड्ने गरेका छन् । फूलपातीपछि यो संख्यामा झनै वृद्धि हुने उनको भनाइ छ।
यातायात व्यवस्था विभागका अनुसार फूलपाती पछिका लागि अहिले सम्म ४१ हजार टिकट बुकिङ भइसकेको छ।
मौसमी कामका लागि काठमाडौं आएका र विद्यार्थीहरू दशैं मनाउन घरतिर जानेक्रम शुरु भएपनि पेशा, व्यवसायका क्रममा काठमाडौं रहेकाहरू घटस्थापनादेखि फूलपातीको बेलामा छाड्ने गरेको पाइन्छ। दशैंंका लागि सुनधारा, नयाँबसपार्क, चाबहिल, कोटेश्वर, गौशाला, कलंकी, माछापोखरी लगायत क्षेत्रमा रहेका यातायात व्यावसायीका टिकट काउन्टरबाट सर्वसाधारणले टिकट बुकिङ गरिरहेका छन्।

९ असोजबाट टिकट बुकिङ शुरु भएकोमा यातायात व्यावसायीहरूले दिउँसो सञ्चालन भइरहेका गाडीलाई राति पनि चलाउने तयारी गरिरहेका छन्। यातायात व्यावसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाका अनसार यो वर्ष दशैंका लागि नयाँ गाडी थप गरिएको छैन । तर, दशैंका बेला यात्रुको चापलाई मध्येनजर गरी एउटै गाडी राति र दिउँसो समेत चलाउनु पर्ने अवस्था आउन सक्छ। ‘यसपाली हामीले नयाँ गाडी थपेका छैनौँ, त्यसैले अलिकति समस्या त देखिएला तर दिनरात गरेर भए पनि सर्वसाधारणलाई गाडी अभाव हुन दिन्नौँ,’ उनले भने, ‘भएका गाडीलाई नै यात्रुको चाप र आवश्यकता हेरेर कुन क्षेत्रमा चाहिने हो त्यस क्षेत्रमा पठाउने तयारीमा छौँ।’

सरकारले यातायात समितिका बैंक खाता रोक्का गरिदिएकाले नयाँ गाडी किन्न नसकिएको एवं बिग्रिएका गाडी मर्मत गर्न नसकिएको उनको दाबी छ ।

यातायात व्यवस्था विभागका सूचना अधिकारी गोकर्णप्रसाद उपाध्याय पनि यसपाली दशैँमा स्थलयात्रामा केही समस्या हुनसक्ने बताउँछन्। यातायात व्यवसायीले नयाँ गाडी नथपेकाले फूलपाती पछि हुने चाप थेग्न समस्या हुनसक्ने उनको भनाइ छ। ‘व्यावसायीले नयाँ गाडी नथपेकाले गाडीको अभाव देखिन सक्छ। पठनपाठन गर्ने तथा फूलपाती अगाडि बिदा हुनेहरू अगाडि नै जानुभयो भने चाप केही हदसम्म भने पनि कम हुन्छ,’ आग्रह गर्दै उनले भने ।

कालोबजारी रोक्न अनुगमन
विगतका वर्षमा देखिएको कालोबजारी, बिचौलियाको रवाफ लगायतलाई मध्येनजर गर्दै यी समस्याको समाधान गर्न यातायात व्यवस्था विभागले अनुगमन टोली गठन गरेको छ। टोलीले यात्रुले टिकट पाए नपाएको, बिचौलियाले दुःख दिए नदिएको र समितिले टिकट दिए/नदिएको अनुगमन गर्नेछ। साथै अनुगमनका क्रममा त्यस्तो देखिए, जरिवानादेखि यायायात समितिको रुट परमिट नै खारेज गर्ने सम्मको कारबाही गरिने विभागका सूचना अधिकारी उपाध्यायले बताए।

व्यावसायीहरूले नयाँ गाडी नथपेकाले बिचौलियाहरू र कालोबजारी सक्रिय हुन सक्ने देखिएकाले अनुगमन टोली गठन गरिएको उनको भनाइ छ । अनुगमन टोलीसँगै नेपाल प्रहरी, ट्राफिक प्रहरी तथा उपभोक्ता संरक्षण मञ्चले पनि पहरेदारी गर्ने उनको दाबी छ ।

‘यदि कुनै यात्रुले त्यस्तो समस्या भोग्नु पर्यो भने हामीले राखेको यात्रु सहायता केन्द्रमा आएर खबर गर्नसक्नुहुनेछ हामी तत्काल समाधान तर्फ लागिहाल्छौ,’ उनले भने ।

ताजा समाचार

सम्बन्धित समाचार