Saturday, November 23, 2024

९ बुँदामा थाहा पाउनुहाेस् निजगढ विमानस्थलकाे तथ्य-तथ्यांक

काठमाडौं–बारा जिल्लाको निजगढमा प्रस्तावित ‘निजगढ अन्तर्राष्ट्रिय विमानस्थल’ को बहस सतहमा आएको छ।

वन तथा वातावरण मन्त्रालयले ९ जेठमा विमानस्थलको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) स्वीकृत गरेपछि अब रुख कटानका लागि कानूनी प्रक्रिया थालिएको छ। तर, विमानस्थलले ओगट्ने क्षेत्र, विमानस्थल निर्माण हुने क्षेत्र, विमानस्थलका लागि काट्नुपर्ने जंगलको क्षेत्र र रुखको संख्यामा फरकफरक तथ्यांक सार्वजनिक भइरहेका छन्।

देशकै ठूलो परियोजना जंगल र केही बस्ती हटाएर बनाउँदा यसले वातावरणीय एवं जैविक विविधतामा पार्ने प्रतिकूल असर एवं दीगो विकासका लागि बहस, पैरवी हुनु स्वभाविक हो।

पढ्नुहाेस्– वन मन्त्रालयको अडान : ‘निजगढ विमानस्थल बन्ने सुनिश्चित गरेर मात्र रूख काटौं’

तर, जनमानसमा गलत तथ्य, तथ्यांक सम्प्रेषण भएमा यसले नकारात्मक सन्देश जाने र बहसले उल्टो यात्रा तय गर्न सक्ने भएकाले हामीले विमानस्थलको ईआईएमा उल्लेख भएको तथ्य-तथ्यांकलाई यहाँ प्रस्तुत गरेका छाैं।

हाकाहाकी अनलाइनले सूचनाको हकसम्बन्धी ऐन–२०६४ को दफा ३ र ७ प्रयोग गरी प्राप्त निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको वातावरण प्रभाव मूल्यांकन (ईआईए) मा उल्लेख केही विषयवस्तु यस प्रकार छ।

विमानस्थल क्षेत्र : बाराको कोहल्बी नगरपालिका–८ र जितपुर सिमरा उपमहानगरपालिका–१ मा पर्छ।

पढ्नुहाेस् – निजगढ विमानस्थल : यी हुन् वातावरणमा पर्न सक्ने प्रतिकूल प्रभाव

विमानस्थलले ओगट्ने क्षेत्रफल : ८ हजार ४५ दशमलव ७९ हेक्टर। जसमध्ये १ हजार ९ सय हेक्टरमा आधारभूत संरचना बन्ने छ। ७ हजार ९ सय ६९ दशमलव ३७ हेक्टर वन क्षेत्र रहेको छ, भने ६२ दशमलव ४२ हेक्टरमा सुकुम्बासी बसोबास र बाँकी ९ हेक्टरमा निजी बसोबास रहेको छ। उक्त विमानस्थल क्षेत्रभित्र पर्ने १ हजार ४ सय ९४ घरपरिवार रहेको बस्ती स्थानान्तरण गर्नुपर्नेछ।

निर्माणस्थलमा : ५ लाख ८५ हजार ४ सय ९९ रुख र १८ लाख ६४ हजार ८ सय २० रुखका पोल (खम्बा आकारका रुख) गरी २४ लाख ५० हजार ८ सय २१ रुख कटान गर्नुपर्ने देखिन्छ। जहाँ १ लाख ९८ हजार ४ सय ५० छिपिएका सालका रुख र ४ लाख ५ हजार गोटा सालका पोल रहेका छन्।

पढ्नुहाेस् : यस्ताे छ निजगढ विमानस्थल निर्माण क्षेत्रको वातावरणीय तथा जैविक महत्व

आयोजना निर्माण स्थलमा प्रतिहेक्टर ३ हजार ९ सय वोटविरूवा रहेको देखिन्छ। सो वन क्षेत्रमा साल, सिसौं, खयर जातका वनस्पती पाइन्छन्। वनमा २१ अर्ब २१ करोड ५७ लाख १० हजार रुपैयाँको प्रत्यक्ष क्षति पुग्ने छ, भने ५ सय ९६ अर्बको काठ, दाउरा उत्पादन हुनेछ। कटानबापत निस्कने काठ, दाउराको मूल्यांकन गर्दा बजार मूल्यमा ५ सय ९६ अर्ब, सरकारी रोयल्टीमा १५ अर्ब आँकलन गरिएको छ।

प्रस्तावित निजगढ विमानस्थल क्षेत्र।

सोधभर्नाबापत रोप्नुपर्ने बिरुवा : ६ करोड २७ लाख ५ हजार २५ वटा। यति ठूलो वृक्षरोपणका लागि ३८ हजार २ सय ९४ हेक्टर जमिन आवश्यक पर्दछ। १ : २५ का दरले वृक्षरोपण गर्नुपर्ने। १३ अर्ब ९७ करोड ७३ लाख १० हजार रुपैयाँ उड्डयनले उपलब्ध गराउने छ। उक्त रकम विरुवा रोप्न र पाँच वर्षससम्म गोडमेल, हेरचाह बापतको हो। ३ करोड ८९ लाख २९ हजार ३ सय ३० रुपैयाँ वातावरण इकाइको कार्य सञ्चालनमा खर्च गरिनेछ।

वन्यजन्तु तथा चराचुरुङ्गी : पर्सा राष्ट्रिय निकुञ्जको छेउमै रहेको एवं टँगिया वृक्षरोपण क्षेत्र तथा सहजनाथ र ताभागढी साझेदारी वन क्षेत्रले ओगटेको विमानस्थल निर्माण क्षेत्रको वनमा २३ प्रजातीका वन्यजन्तु, ५ सय प्रजातीका चराचुरुङ्गी पाइन्छन्।

निर्माणस्थलमा तीन बस्ती : टाँगिया वस्ती, मतियानी र काठघाट लगायत ३ वस्तीहरूका १ हजार ४ सय ९४ जग्गाधनी दर्ता प्रमाणपूर्जाविहीन घरधुरीहरु प्रभावित हुनेछन्। तिनीहरुले ५ सय ३ हेक्टर जमिनमा खेतीपाती गर्दै आएका छन्। जम्मा ७ हजार ४ सय ८७ जना मानिसहरू विस्थापित हुनेछन्। त्यस क्षेत्रमा १ हजार ४ सय ८४ घर रहेका छन्। जसमध्ये काठ र दाउराबाट बनेका १ हजार ४ सय ४५ घरहरूलाई कच्चीघरमा वर्गीकरण गरिएको छ। र, ४९ घरहरूलाई पक्की घर भनि वर्गीकरण गरिएको छ। त्यसका अलावा आयोजना क्षेत्रमा ६ वटा विद्यालय रहेका छन्।

पूर्वसम्भाव्यता : सन् १९९५ मा गरिएको थियो। धेरै सम्भाव्य स्थानको अध्ययन गरिएकोमा बारा जिल्लामा अवस्थित प्रस्तावित सबैभन्दा उपयुक्त पाइयो। र, सरकारले यो स्थानलाई दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा अघि बढाएको छ।

जैविक वातावरण : मिश्रित भावर रहेको यो वन पूर्वपश्चिम राजमार्गको उत्तरी सीमामा अवस्थित छ। पूर्वमा बालबकैया नदी र पश्चिममा पसाह नदी बहन्छन। पसाहमा सुख्यायाममा मुस्किलले पानी बहन्छ भने लालबकैयामा सुख्खायाममा पनि पानी बहन्छ। तर, बर्खामा बाढी आउने गरेको र रुख कटान पश्चात यसले वातावरणीय चक्रमा प्रभाव पार्न सक्नेछ।

पढ्नुहाेस् –निजगढ विमानस्थल: २४ लाख रुख काटे बापत ६ करोड विरुवा रोप्नुपर्ने

प्रस्तावित अन्तर्राष्ट्रिय  विमानस्थल निर्माण क्षेत्रको मुख्य भाग तराईको एक घना जंगलमा पर्दछ। आयोजना क्षेत्रमा अवस्थित सो जंगल व्यापक रुपमा क) सालको वन, ख) तराईको कडा काठको वन र ग) खयर, सिसौंको वनमा वर्गीकरण गरिएको छ।

विमानस्थलको लागत : विमानस्थलको लागत ६ सय ५६ करोड अमेरिकी डलर अनुमान छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बैकल्पिक विमानस्थलका रुपमा लिइएको विमानस्थल लम्बाई पूर्वपश्चिम राजमार्गतर्फ १० किलो मिटर र चौडाई ८ किलो मिटर गरी ८० स्क्वायर किलोमिटरमा बन्न लागेको हो। ४ हजार मिटर लामो र ४५ मिटर फराकिलो तथा दोहोरो धावन मार्ग हुनेछ।

ताजा समाचार

सम्बन्धित समाचार