काठमाडौँ – निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माण सुरु गर्नु अगाडि नयाँ रुख रोपिने प्रत्याभूति हुनुपर्ने र वातावरणीय क्षतिलाई सकेसम्म कम गर्न माग गर्दै संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ ।
काँग्रेस सांसद गगन थापाको नेतृत्वमा प्रदिप गिरी र दिव्यमणिराज भण्डारीले विहीबार जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएका हुन्।
प्रस्तावमा सरकारले निजगढ विमानस्थल निर्माण कार्यलाई दू्रत गतिमा अगाडि बढाउनु राम्रो भएको र सबैले साथ दिनुपर्ने जनाइएको छ । साथै, यो आयोजना निर्माण गर्दा सबै कुरालाई ख्याल नगरी गरिएको र पश्चिम सेती र बुढीगण्डकी जलविद्युत आयोजना अन्यौलमा परेको जस्तै नपरोस भनिएको छ।
वातावरणीय प्रभाव मूल्यांकन (इआइए) पुनः गर्नुपर्ने, विस्तृत परियोजना प्रतिवेदन(डीपीआर) तयार गरेपछि मात्र अन्य कुरा सोच्नुपर्ने, लगानी कति लाग्ने हो यी सबै विषयमा विस्तृत अध्ययन गरेर मात्र निर्माण कार्य शुरु गर्न माग गरिएको छ।
हाकाहाकीसँग कुरा गर्दै काँग्रेस सांसद भण्डारीले सरकारले बिना तयारी रुख काट्न थालेको बताए। ‘आजभन्दा सात आठ वर्ष पहिले तयार पारिएको इआइए रिपोर्टलाई अहिले मान्न सकिँदैन्,’ उनले भने, ‘धेरै कुराहरूमा परिवर्तन आइसकेको छ, वातावरणीय हिसाबले कुनै पनि कुरालाई ख्याल गरिएको देखिएन् ।’
विमानस्थल निर्माण गर्दा वातावरणीय प्रभावको विषयमा सरकार गम्भीर नदेखिएको उनको भनाई छ। ‘विमानस्थल निर्माण गरिसकेकपछि हुने ध्वनि प्रदूषणलगायतको विषयमा सरकारले केही पनि चासो देखाएको छैन,’ उनले भने, ‘प्रदेश २ मा यसै त वन थोरै छ, झन काट्ने कुरा गर्छन्।’
‘हामी विकास विरोधी होइन, तर विकास गर्दा वातावरणीय विनाश हुनेगरी काम त गर्नुभएन नि भन्ने,’ उनले भने।
चाहिने भन्दा बढी रुख काट्ने प्रवृति गलत
यसैबीच पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता माधवकुमार नेपालले चाहिने भन्दा बढी रुख काट्ने नेपालीको प्रवृति गलत भएको बताएका छन्। ‘कुनै निर्माण कार्य गर्नुपर्यो भने हामी दाह्री खौरेजस्तो गरी रुख सखाप पार्छौ, यो निकै नै गलत प्रवृति हो,’ उनले भने, चाहिने भन्दा बढी रुख काट्न जरुरी नै छैन नी ।’
विहीबार संसदमा सम्बोधनको क्रममा निजगढ विमानस्थलको प्रसंग निकाल्दै उनले विमास्थल निर्माण गर्दा चाहिने भन्दा बढी रुख काट्न नहुने राम्रो काम गर्दाखेरि बात नलाग्ने गरी गर्नुपर्ने बताए।
केही समययता विमानस्थल निर्माण गर्दा वातावरणमा पर्ने प्रतिकुल प्रभावको बारेमा सत्तारुढ विपक्षी सांसदहरूले आवाज उठाइरहेका छन्। उनीहरूले विशेषगरी डिपिआर तयार नभइकन रुख काट्ने कार्यलाई अगाडि बढाउन खोजिएकोमा आपत्ति जनाएका छन्।
त्यसैगरी विमानस्थल निर्माण गर्नै परेपनि कम भन्दा कम क्षति हुने उपाय अवलम्बन गर्न र आवश्यक रुखमात्र काट्न माग गरिरहेका छन् ।