काठमाडाैँ – नेपालमा ५ वर्षको अवधिमा ३७ वटा पाटेबाघ बढेपनि चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा भने घटेको तथ्यांक सार्वजनिक भएको छ।
राष्ट्रिय बाघ गणना, २०१८ को आइतबार सार्वजनिक तथ्यांकअनुसार नेपालमा हाल २ सय ३५ वटा बाघ छन्। सन् २०१३ को तथ्यांक अनुसार नेपालमा पाटेबाघको संख्या १ सय ९८ थियो।
तर, बाघ गणना २०१८ का अनुसार चितवनमा २७ वटा बाघ घटेको पाइएको छ। सन् २०१३ को गणनामा १ सय २० वटा बाघ रहेकोमा अहिले यो संख्या ९३ मा झरेको छ। यसअघि सन् २००८/२००९ को तथ्यांक अनुसार त्यहाँ ९१ वटा बाघ रहेका थिए।
बाघ गणनामा संलग्न राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक एवं प्राविधिक समितिका संयोजक गोपालप्रकाश भट्टराई चितवनमा आएको बाढी र आहार प्रजातीको कमी लगायतले बाघको संख्यामा कमी आएको हुनसक्ने बताउँछन्।
त्यो बाहेक चितवनमा बाघ एकआपसमा जुधेर एवं कालगतिले मर्नुले पनि संख्यामा कमी आएको हुन सक्ने संरक्षणकर्मीहरु बताउँछन्।
चितवन राष्ट्रिय निकुञ्जका अनुसार सन् २०१३ देखि २०१८ को अवधिमा १५ वटा बाघ मरेका छन्। जसमध्ये ६ वटा बाघ गत वर्ष मात्र मरेका थिए।
चितवन राष्ट्रिय निकुञ्ज सूचना अधिकारी नुरेन्द्र अर्यालले जुधेर र आफ्नै कालगति बाघ मर्ने गरेको बताए। ‘आहाराका लागि एक अर्कोसँग जुधेर र उमेर पुगेका बुढा बाघहरू मरेका हुन्,’ उनले भने। उनका अनुसार आर्थिक वर्ष २०७३–०७४ मा ४ वटा पाटे बाघ मरेका थिए।
सन् २०१३ मा सार्वजनिक भएको तथ्यांक अनुसार चितवन राष्ट्रिय निकुञ्जमा १ सय २० वटा बाघ रहेका थिए। यसअघि सन् २००८–२००९ को तथ्यांक अनुसार त्यहाँ ९१ वटा बाघ रहेका थिए। चितवनमा हाल ३० वटा भाले, ५० पोथी पाटेबाघ छन् भने १२ वटा डमरू छन्।
बाघविज्ञ डा. चिरञ्जिवी पोखेरेल बाघको संख्या बढेपनि प्रगति ‘तथ्यांक’ स्थिर रहेको टिप्पणी गर्छन। ‘समग्रमा २ सय ३५ को संख्यामा बाघ पुग्नु अघिल्लो ४ वर्षको तुलनामा राम्रो हो,’ उनले भने, ‘फिगरले चितवनमा २७ वटा बाघ घटेको देखाएको छ, यस्तै शुक्लाफाँटा पनि स्थिर खाले डाटा आएको छ। चितवनमा यसरी बाघको संख्या घटेको देखिनुमा चोरीसिकारी, आहारा प्रजाति, बाढीका कारण रहेको हुनसक्छ।’
शुक्लाफाँटामा पनि अघिल्लो गणनामाभन्दा एउटा बाघ घटेको देखिएको छ। त्यहाँ ९ वटा भाले र ६ वटा पोथी छन् । अरु वातावरण ठिक भएपनि भालेको संख्या कम हुँदा संख्या बढाउन गाह्रो भएको डा पोखरेलले बताए।
नेपालले सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर पारेर २ सय ५० पुर्याउने लक्ष्य लिएका बेला मुलुकका अन्य राष्ट्रिय निकुञ्जमा भने संख्या बढेको छ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काका नेपाल बाघको संख्या दोब्बर पार्ने लक्ष्य नजिक छ । ‘नेपाल बाघ दोब्बर पार्ने लक्ष्य नजिक छ,’ उनले भने, ‘तर दोब्बर पार्न बासस्थान, आहारा लगायतका चुनौती पनि थपिँदै गएका छन्।’
उनका अनुसार बर्दिया राष्ट्रिय निकुञ्जमा ८७, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १६, पर्सा राष्ट्रिय निकुञ्जमा १८ र बाँके राष्ट्रिय निकुञ्जमा २१ वटा बाघ छन्।
दोब्बर पार्ने लक्ष्य नजिक
नेपाल बाघको संख्या दोब्बर पार्ने लक्ष्य नजिक पुगेको छ। सन् २०२२ सम्ममा २ सय ५० को संख्यामा बाघ पुर्याउने लक्ष्य नजिक पुगेको नेपालमा २ सय ३५ बाघ रहेको छ। हालै सार्वजनिक गणना अनुसार बाघको दोब्बर पार्ने लक्ष्य पुर्याउन नेपाल सक्षम हुने देखिएको छ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अधिकारी देखि लिएर अरु साझेदार संस्थाका विज्ञ पनि बाघ दोब्बर हुनेमा लगभग पक्का जस्तै छन्। सन् २०१० मा रसियाको सेन्ट पिटस्वर्गमा भएको सहमति अनुसार नेपालले बाघको संख्या दोब्बर पार्ने लक्ष्य राखेको थियो। तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको सरकारका पालामा सो लक्ष्य लिइएको हो । सन् २०१० मा १ सय २१ वटा बाघ रहेको थियो।
बाघ गणनामा हात्तीको प्रयोग
३७ वटा हात्तीको प्रयोग गरेर बाघ गणना भएको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले चितवन राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्ज, वर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ३७ हात्तीको प्रयोग गरेर बाघ गणना गरेको हो। जसमा चितवन १५ वटा हात्ती, पर्सा र शुक्लाफाँटामा ७–७ वटा हात्तीको प्रयोग गरिएको छ, भने बाँके र बर्दिया ४–४ वटा हात्तीको प्रयोग गरिएको विभागले जनाएको छ।
गणनाको विधि
बाघ गणनाको कार्य क्यामेरा ट्रयापिङ प्रविधिबाट गरिएको छ। गणनाका लागि २ हजार ८ सय १२ ग्रिड बनाई एक हजार ६ सय ४३ क्यामरा ट्«यापको प्रयोग गरिएको हो। बाघको आहारा प्रजातिको सर्वेक्षण लाईन ट्रान्जेक्ट विधिबाट गरिएको विभागका उपमहानिर्देशक गोपाल भट्टराईले जानकारी दिए। बाघ गणनाका लागि डब्लुडब्लुएफ नेपाल र जेड एसएल नेपाल लगायतका संस्थाले आर्थिक सहयोग गरेका छन्। विभागले बाघ गणनाका लागि चितवन–पर्सा कम्प्लेक्स, बाँके–बर्दिया कम्प्लेक्स, शुक्ला–लालझाडी–जोगबुढा कम्प्लेक्स गरी तराईका ३ वटा भू–परिधि क्षेत्र छुट्टाएर क्यामेरा ट्रयापिङ प्रविधिबाट गणना गरेको हो । बाघ गणनाका लागि विभागले गणना गर्ने व्यक्तिलाई तालिमसमेत दिएको थियो।
यसमा सदर चिडियाखानाको जोडिएको छैन । यसैगरी सन् २००८/०९ को गणनामा सुरुमा चितवन नजिकको चुरिया क्षेत्रलाई गणना नगरिएको र पछि गणना गर्दा त्यहाँ थप ३०–३५ वटा बाघ भएको अनुमान गरिएको तत्कालिन समयमा विभागका इकोलोजिष्ट रहेका हालका वन तथा वातावरण मन्त्रालयका सहसचिव डा महेश्वर ढकालले जानकारी दिए। उनका अनुसार गणनाका क्रममा देशभर १ सय ५५ वटा सम्म बाघ आएपनि त्यत्तिबेला चुरीयाको गणना आधार नमान्ने भन्दै १ सय २१ बाघलाई सदर गरिएको थियो ।