Friday, April 18, 2025

परम्परा जोगाउँदै थारु महिला

थारुको जीवन पानी बिना कल्पना गर्न सकिदैन । उनिहरु एक अर्काका परिपुरक जस्तै हुन । दाङ राप्ति गाउँपालिका वडा नं ७ सिसनियाकी थारु महिला अगुवा चेनकुमारी चौधरीको घर चलाउने मुख्य आधार भनेको माछा व्यवसाय हो । उनी दैनिकजसो घरनजिकैको नदीनालामा माछा मारेर त्यहाँबाट आएको आम्दानीले घर खर्च चलाउँछिन् ।

धेरै माछा मार्दा सानो माछा विहान बेलुका खाने गरेपनि ठूला माछा आम्दानीको स्रोत भएको उनी बताउँछिन् । थारु समुदाय परापुर्व कालदेखी नै माछा मार्दै आईरहेका छन् । उनीहरु दिगो रुपमा माछा मार्ने विधि अपनाउछन् । त्यसैले उनीहरुको हरेक पुस्ताको जिवीका खोलाका माछाले धानेको छ । चेन कुमारी पनि यहि विधिवाट माछा मार्छिन । उनी हेल्का र डेलिया प्रयोग गरेर माछा मार्छिन् । माछा मारेर आम्दानी हुन थाले पछि चेनकुमारी लगायत धेरै महीलाहरु सानो तिनो घरखर्च चलाउन श्रीमानको आम्दानीमा भर पर्नु परेको छैन । आफै कमाउन थाले पछि स्वाभिमान पनि वढेको छ । ‘माछा विक्रि गरेर नुन तेलको जोहो गरेकी छु,’ उनले भनिन्, ‘बच्चाहरुलाई फिस तिर्न सजिलो भएको छ, श्रीमानसंग पैसा पनि माग्न परेको छैन ।’ ‘धेरै जस्तो मान्छेहरु माछा किन्न घरमै आउँछन् ’उनले भनिन् ‘धेरै भयो भने बाहिर पनि जान्छ ,घोराहि सम्म पठाउछु ।’

खोलामा माछा मार्न सधैजसो समुह मिलेर आउने गरेको राप्ति गाउँपालिका ७ की सुनिता चौधरी बताउँछिन् । ‘घरको काम विहान र बेलुका सकेर दिउँसोको समयमा ८–१० जनाको समुहमा मिलेर माछा मार्न खोलामा जाने गरेका छौ, सुनिताले भनिन् ।

खोलामा माछा मारेर दैनिक जिवन सहज वनाइ रहेका स्थानीय महीलाहरुको काममा पछिल्लो समय भने संकट आएको छ । प्रायजसो पुरुषहरुले वम, करेन्ट तथा विषादि प्रयोग गरेर माछा मार्ने गर्दा समस्या आएको हो । जसले गर्दा माछाका अण्डा तथा भुराहरु पनि नष्ट हुन्छन् । अन्ततः माछा कम पाइन थालेको छ । यससँगै महीलाहरुको आम्दानीमा पनि कमी आएको छ ।

‘आजभोलि त बिष हाल्छन ,केरे लाईन लाउछन ,बम हाल्छन,’ चेनकुमारी भन्छिन्, ‘त्यहि भएर चाहि माछा पाईन्न, अब त्यो हेल्का र जालबाट मरेपछि अलि माछा बच्छ ।’ आफ्नै जीवनकालमा यस्तो संकट आएपछि चेनकुमारी र स्थानीय महिलाहरु चिन्तित बनेका छन् । बम करेन्ट तथा विषादी प्रयोग गरेर माछा मार्दा संकट आएको उनीहरुको निष्कर्ष छ । उनीहरु अहिले माछा मार्ने यस्तो विनासकारी विधी रोक्न सक्रिय हुन थालेका छन् । करेण्ट लगाएर माछा मार्दा माछाको प्रजनन प्रक्रियामा समेत असर पुग्ने स्थानीयको बुझाई छ । माछाले अण्डा दिदैन दिए पनि बच्चा हुने सम्भावना नहुने चेनकुमारीको बुझाई छ ।

बम र करेण्टले गर्दा माछा मार्ने पेशा संकट पर्ने देखेपछि अहिले स्थानीय महिलाहरु संगठित भएर पुरुषहरुलाई सम्झाउने गरिरहेका छन् । ‘हामीलाई पहिला बम हान्दा माछा संकटमा पर्छ भन्ने थाहा थिएन, चेनकुमारीले भनिन्, ‘अहिले समुह बनाएर नदी, पोखरीमा करेण्ठ लगाउने मान्छेलाई रोक्न थालेका छौ ।’ ‘महिला समुह बनाएर करेण्ट लगाउने र विष हाल्नेहरुलाई यस्तो कार्यले माछा सबै मर्छ भनेर सम्झाउने काम गरेका छौ,’ चेनकुमारीले भनिन् । अहिले स्थानीय महिला सामुहिक रुपमा गएर परम्परागत रुपले माछा मार्दा हुने फाईदाका बारेमा गाउँका पुरुषहरुलाई सम्झाउने गर्छन् । परिणाम विगतको जस्तो माछा मार्ने विनासकारी बिधी अहिले निकै कमले प्रयोग गर्छन् ।

‘पहिला प्रहरीको आखा छलेर राप्तिमा जाने माछा मार्ने त्यसपछि यो सानो नदिमा बम बलास्टहरु गथ्र्यौ राप्ति गाउँपालिका ८ का पर्शुराम चौधरीले भने, ‘त्यसरी बिष हाल्ने आदि ईत्यादि करेन्ट लगाउने कामहरु अहिले चाहि एकदम कम भएको छ ।’ ‘पहिलाको तुलनामा अहिले यो क्रम घटेको छ, ’उनले भने, ‘अहिले आफनो परम्परागत चलन चल्तिमा जे छ औजारहरु प्रयोग गर्छौ ।’

विनासकारी विधिका कारण माछाको प्रजाती मात्र होइन मानिसहरु पनि संकटमा थिए । वम तथा करेन्ट लागेर अंगभंग हुन्थ्यो । कतिपयको ज्यानै जाने सम्मका घटना हुदा आश्रीत परिवारको विचल्ली हुने गरेको थियो ।

‘बिष हालेको पानि खाईदिन्थ्यो ,गाईबस्तुहरु मर्थे, राप्ति गाउँपालिका ८ की शान्ता चौधरीले भनिन्, लाईन लगाएर माछा मार्दा मान्छेहरुलाई पनि धेरै खतरा हुन्थे । तर, आजभोली त्यस्तो कार्य निकै कम भईसक्यो ।’ ‘त्यति बेला बिष हालेको माछा त अब धेरै नखाएको भए हुने,’ उनले भनिन् केही बुझ्नेले त खादैन थिए ।’ अब नबुझनेहरुले माछा धेरै टिपेर सुकाउने ,अनि बनाएर खाने त्यस्तो गर्थे । पोखरीमा माछा मार्दा धेरैको चोट पटक लागेर अंगभंग पनि भएका छन् ।

थारु समुदायका पानीमा आधारित थुप्रै परम्पराहरु विकसित भएका छन् । उनिहरुका धेरै सस्कारले खोलाको माछासंग प्रत्यक्ष सम्वन्ध राख्छन । ‘माछा हाम्रो चौधरी चलनमा विवाहमा काम लाग्छ, मुन्ना चौधरी भन्छिन्, ‘बरात जादा खेरी के के चलन हुन्छ, माछासँगै सगुन पनि चाहिन्छ ।’ यस्ता परम्परा जोगाउन सामुहिक रुपमा उनिहरुले गरेको काम महत्वपुर्ण सावित भएको छ ।

उनीहरुले स्थापित गरेको यो संस्कार नया पुस्ताले पनि ग्रहण गर्ने आधारहरु तयार भएका छन् । थारु समुदायले माछा वेच्नका लागि गतिलो वजार पनि पाएका छन । माछाको व्यबसायसँगै, तरकारी खेति र अन्य उद्यममा ब्यबसायिक रुपले सोच्न थालेका छन । अहिले वड्कीसिसहनीयाका महीलाहरुले समुह दर्ता गराएर कानुनी रुपमा संगठीत हुने प्रयास गरीरहेका छन । उनीहरु अव माछा मार्ने विनासकारी विधि रोक्ने मात्र होइन समाज परिवर्तनका अन्य काममा पनि सक्रिय हुन थालेका छन । यसले महीला सशक्तिकरणमा सघाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार