Saturday, November 23, 2024

विज्ञहरू भन्छन्, ‘हात्तीको कोरिडोरमा निजगढ विमानस्थल बनाउनु अनुपर्युक्त

काठमाडौं–साढे २४ लाख रूख काटेर हात्तीको कोरिडोर (मार्ग) मा विमानस्थल बनाउनु जैविक एवं वातावरणीय दृष्टिले अनुपर्युक्त रहने विज्ञहरूले ठहर गरेका छन्।

सरकारले विमानस्थल निर्माणका लागि आवश्यक पर्ने ८ हजार ४५ दशमलव ७९ हेक्टर क्षेत्रफल जमिनमध्ये ७ हजार ९ सय ६९ दशमलव ३७ हेक्टर वन क्षेत्रका २४ लाख ५० हजार ८ सय २१ रुख कटान (जुन वातावरणीय प्रभाव मूल्यांकन (इआइए) मा उल्लेख छ) गरी बारा जिल्लाको कोल्हवी नगरपालिका र जीतपुर उपहानगरपालिका क्षेत्रमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको तयारी गरिरहेका बेला विज्ञहरूले वन, वातावरण र जैविक विविधतामा दीर्घकालीन असर पुग्ने बताएका हुन्।

पढ्नुहाेस् –निजगढ विमानस्थल : यी हुन् वातावरणमा पर्न सक्ने प्रतिकूल प्रभाव

इआइएमा उल्लेख भएअनुसार रूख कटानबाट मात्र २१ अर्ब २१ करोड ५७ लाख १० हजार प्रत्यक्ष क्षति पुग्नेछ। ‘अहिले विमानस्थल प्रस्ताव गरिएको क्षेत्र हात्तीको मुख्य कोरिडोर हो, केही किलोमिटर नजिक पर्सा राष्ट्रिय निकुञ्ज छ,’ वनविज्ञ डा. रवीन्द्र श्रेष्ठले भने, ‘रूख काटेर विमानस्थलको संरचना विस्तार गर्दा झापा र कोसीटप्पु वन्यजन्तु आरक्षदेखि पर्सा र चितवन निकुञ्जसम्मको वन्यजन्तुको ‘कनेक्टिभिटी’ तोडिन सक्छ।’

१० जेठ २०७५ मा स्वीकृत भएको विमानस्थलको इआइए रिपोर्ट बनाउने मध्येका एक विज्ञ रहेका श्रेष्ठले भने, ‘हामीले जुन अवस्था फेला पार्यौं त्यही रिपोर्टमा छ। विमानस्थल बनाउन मिल्ने नमिल्ने भनेर इआइएले भन्ने होइन।’

आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा डा. श्रेष्ठले व्यक्तिगत रुपमा भन्नुपर्दा ‘जैविक विविधतामा क्षति पुर्याएर हात्तीको कोरिडोरमा विमानस्थल बनाउन अनुपर्यक्त रहेकाे र त्याे हितकर नहुने’ बताए।

पढ्नुहाेस् :  यस्ताे छ निजगढ विमानस्थल निर्माण क्षेत्रको वातावरणीय तथा जैविक महत्व

इआइएमा उल्लेख भएअनुसार आयोजना क्षेत्रमा तथा त्यसको ववरपर विभिन्न २३ प्रजातिको स्नतनधारी छन्।  ‘यस आयोजना क्षेत्र पर्सा राष्ट्रिय निकुञ्जको नजिकै रहेको कारणले यस संरक्षित गरिएका एसियन हात्ती, बाघ, हाइना, अजिङ्गर, जाइन्टा हर्न्बिल, सारस, बकुल्लाहरू छन्,’ वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत भइसकेको इआइएमा भनिएको छ।

श्रेष्ठका अनुसार हात्ती कोहल्बी, भल्वाईखोर र टाँगिया बस्ती हुँदै रौतहटको जंगलसैया साझेदारी वन, गैंडाटार हुँदै सर्लाहीको बागमती जान्छन्। बागमतीबाट सप्तरी, कोसीटप्पु वन्यजन्तु आरक्ष हुँदै झापासम्मै ओहोरदोहोर गर्ने गरेको उनले बताए।

नेपाल वन प्राविधिक संघका पूर्वअध्यक्ष डा. सुरजप्रसाद श्रेष्ठ सरकारले प्रदेश २ का बासिन्दालाई वार्षिक ६ करोड यात्रुु धान्न सक्ने विमानस्थलको सपना देखाएर जैविक विविधता नास्न थालेको आरोप लगाउँछन्।  ‘अन्तर्राष्ट्रिय हवाई उड्डयन संगठन (आइसीएओ) को निर्देशिकाविपरीत विमानस्थल बनाइँदैछ,’ उनले भने, ‘वन्यजन्तु आरक्ष तथा निकुञ्ज नजिक विमानस्थलको मार्ग हुनु हुँदैन तर, बारामा बनाउन थालिएको छ।’

त्रिभुन अन्तर्राष्ट्रिय विमानस्थलको बैकल्पिक विमानस्थलका रुपमा लिइएको विमानस्थल लम्बाई पूर्वपश्चिम राजमार्गतर्फ १० किलोमिटर र चौडाई ८ किलोमिटर गरी ८० स्क्वायर किलोमिटरमा बन्न लागेको हो। ४ हजार मिटर लामो र ४५ मिटर फराकिलो तथा दोहोरो धावन मार्ग हुनेछ।

विमानस्थलको धावनमार्ग पर्सा राष्ट्रिय निकुञ्जदेखि करीब १० किलोमिटर मात्र टाढा छ। सुरजको दाबीलाई इआइए रिपोर्टले पनि पुष्टि गरेको छ।

‘अन्तर्राष्ट्रिय हवाई उड्डयन संगठन (आइसीएओ) को निर्दे्शिका अनुसार वन्यजन्तु आरक्षणको धेरै नजिक विमानस्थलको मार्ग हुनु हुँदैन भन्ने उल्लेख गरिएको छ,’ इआइए रिर्पाेटले भनेको छ, ‘विमानस्थलको धावनमार्गमा पर्सा राष्ट्रिय निकुञ्ज नजिकै पर्न जान्छ। र, पर्सा राष्ट्रिय निकुञ्ज धरै नै नजिक हुने भएकाले सो निकुञ्जमा विमानको ठूलो आवाजले नकारात्मक असर पर्न जान्छ।’

इआइए प्रतिवेदनमा भनिएको छ, ‘प्रस्तावित विमानस्थल क्षेत्र घना जंगलमा पर्दछ। आयोजना अन्तर्गत पर्ने सो जंगलमा धेरै सालको वन, तराईको कडा काठ, खयर र सिसौं रहेका छन्।’

प्रस्तावित विमानस्थलको निर्माण क्षेत्रको।पूर्वमा बालबकैया नदी र पश्चिममा पसाह नदी बहन्छन। पसाहमा सुख्यायाममा मुस्किलले पानी बहन्छ भने लालबकैयामा सुख्खायाममा पनि पानी बहन्छ। तर, बर्खामा बाढी आउने गरेको र रुख कटान पश्चात यसले वातावरणीय चक्रमा प्रभाव पार्न सक्नेमा इआइए प्रतिवेदनले संकेत गरेको छ।

आयोजना निर्माणले वायु प्रदूषण, ध्वनी प्रदूषण, भूक्षय, सुक्ष्म वातावरणीय प्रभाव पर्न सक्ने भन्दै इआइए प्रतिवेदनमा भनिएको छ, ‘फ्रेबअरीदेखि मे महिनासम्म आयोजना आसपासका क्षेत्रमा सवारीसाधनको मासिक प्रदूषण जाँच गरिनेछ।’

विमानस्थलको क्षेत्र ८ हजार ४५ दशमलव ७९ हेक्टर भएपनि १ हजार ९ सय हेक्टरमा विमानस्थलको संरचना निर्माण हुनेछ। विमानस्थलको लागत ६ सय ५६ करोड अमेरिकी डलर अनुमान गरिएको इआइए प्रतिवेदनमा उल्लेख छ।

‘रुख काट्नु अघि ६ करोड बिरूवा रोप्नुपर्छ’
विज्ञहरूले वातावरणीय दृष्टिकोणले निजगढ विमानस्थल बनाउन अनुपर्यक्त रहेपनि ‘डु नोथिङ’ को विकल्प मान्न नसकिने बताएका छन्।

डा. रवीन्द्रले भने, ‘इआइए स्वीकृत भइसकेको छ, सरकारले निजगढ विमानस्थल बनाएरै छाड्ने हो भने पहिले बिरूवा रोप्नुपर्छ।’

इएआइ रिपोर्टमा पनि ‘दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल देशको हवाई यातायातको क्षेत्र एवं आर्थिक विकासका लागि अति आवश्यक मेरुदण्ड भएको हुनाले ‘डू नोथिङ’ को विकल्प मान्न सकिन्न’ भनिएको छ।

पढ्नुहाेस् – निजगढ विमानस्थल: २४ लाख रुख काटे बापत ६ करोड विरुवा रोप्नुपर्ने, १३ अर्ब ९७ करोड रुपैयाँ लाग्ने

रवीन्द्र रुख कटानको सोधभर्ना बापत ६ करोड १२ लाख ७० हजार ५ सय २५ विरुवा रोप्नुपर्ने भएकाले पहिले त्यसको टुंगो हुनुपर्ने बताउँछन्।

‘इआए रिपोर्ट कागजको खोस्टो मात्र बन्नु हुँदैन, अनिर्वाय रुपमा लागू हुनुपर्छ,’ उनले भने, ‘सो परिमाणमा बिरुवा रोप्न ३८ हजार २ सय ९४ हेक्टर क्षेत्रफल आवश्यक पर्छ। जग्गा खोजेर रोप्ने टुंगो लागे मात्र कटान गर्नुपर्छ। इआइएमा उल्लेख भएअनुसारप्रति विरुवा १ दशमलव २५ मिटरको दुरीमा रोप्नुपर्ने छ।

त्यसका लागि १३ अर्ब ९७ करोड ७३ लाख १० हजार रुपैयाँ पर्यटन मन्त्रालयले उपलब्ध गराउन इआइएमा उल्लेख छ। उक्त रकम विरुवा रोप्न र पाँच वर्षससम्म गोडमेल, हेरचाह बापतको हो।

पढ्नुहाेस् – निजगढ अन्तर्राष्ट्रिय विमानस्थलः साना-ठूला २४ लाख रुख काटिने, रोप्ने ठेगान छैन

तर, अहिले बिरूवा रोप्ने कुनै टुंगो नभएका बेला पर्यटन मन्त्रालयले रूख कटानका लागि कार्ययोजना बनाएर वन तथा वातावरण मन्त्रालयमा पठाएको छ। वन मन्त्रालयले उक्त फाइल मन्त्रिपरिषद्मा पठाए त्यहाँबाट स्वीकृत भएमा रूख कटानको बाटो खुल्नेछ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले २०७४ भदौमा नै विमानस्थल निर्माणका निम्ति रुख कटान गर्ने तथा विमानस्थल निर्माण क्षेत्रमा चक्रपथ निर्माण गर्ने जिम्मा नेपाली सेनालाई दिइसकेको छ।

विमानस्थल निर्माणका लागि रुख काट्न कम्तिमा दुई वर्ष लाग्ने र सम्पूर्ण निर्माणको काम सक्न पाँच वर्ष लाग्ने अनुमान गरिएको छ ।

पढ्नुहाेस् ः  निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको इआइए स्वीकृत, ६ लाख रुख काटिने

 

ताजा समाचार

सम्बन्धित समाचार