Friday, September 20, 2024

भारतसँग यी तीन नयाँ समझदारी हुँदै

काठमाडौं– १४ र १५ भदौमा काठमाडौंमा आयोजना हुन लागेको बिमस्टेकको चौथो शिखर सम्मेलनको क्रममा नेपाल र भारतबीच दुई वटा समझदारीमा हस्ताक्षर हुने भएको छ।

बिमस्टेकका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आएका बेला काठमाडौं–वीरगञ्ज–रक्सौल रेलमार्ग र बल्क कार्गो सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर हुने भएको हो।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएका हुन्। एक सय १३ किलोमिटर लामो रेलमार्गका लागि प्रारम्भीक सम्भाव्यता अध्ययन भइसकेको छ।

गत चैतमा प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा भारतीय सहयोगमा काठमाडौं–रक्सौल रेलमार्ग बनाउने सहमति भएको छ। एक वर्षभित्र रेलमार्गको सम्भाव्यता अध्ययन सक्ने संयुक्त वक्तव्यमा उल्लेख छ।

सर्भे र अध्ययन गरेर विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाउने तथा त्यसको कार्यान्वयन र मोडालिटीबारे दुर्इ पक्षले अन्तिम रुप दिने सम्झौता भएको थियो। अबकाे एक वर्षभित्र सम्भाव्यता अध्ययन पूरा भएमा त्यसपछि डिपिआर निर्माण गरेर आगामी पाँच वर्षमा रेलमार्ग निर्माण सक्ने लक्ष्य लिइएको छ।

अहिले निर्माण भइरहेको जयनगर– जनकपुर रेलमार्गलाई काठमाडौंसम्म विस्तार गर्ने लक्ष्य लिइएको हो। ६९ किलोमिटर लामो जनकपुर–जयनरग रेल्वे र जोगबनी (विराटनगर रेल्वे सन् २०१८ भित्रै सम्पन्न गरेर सञ्चालनमा ल्याउने सहमति यसअघि दुई प्रधानमन्त्रीबीच भएको थियो।

यसैगरी, काठमाडौं बसाइँका क्रममा मोदीले पशुपतिमा निर्माण भएको धर्मशालाको उद्घाटन र हस्तान्तरण गर्ने कार्यक्रम छ। १५ भदौमा प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी मोदीबीच दुईपक्षीय वार्ता हुने पराराष्ट्र मन्त्रालयले जनाएको छ।

पढ्नुहाेस् : भारत र चीनको रेल : काम सँगसँगै, कुन पहिले आउला ?

त्यसैगरी, भारतसँग ऊर्जा बैंक सम्बन्धी समझदारी  गर्ने तयारी छ। बिमस्टेक सम्मेलनमै सो समझदारी गर्ने तयारी अपुुग भएपछि आगामी अक्टुबरसम्म समझदारी गर्ने गरी दुबै देशले काम गरिरहेका छन्।

सो सहमति भएमा नेपालले आफूलाई बढी भएको समयमा विद्युत भारतलाई बिक्री गर्ने छ, भने आवश्यक परे भारतसँग खरिद गर्ने छ। ऊर्जा बैंकका लागि नेपालले भारतसँग दुई वर्ष अगाडि प्रस्ताव राखेको थियो।

ताजा समाचार

सम्बन्धित समाचार