काठमाडौँ – आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयलाई समाचार बनाइएको छ ।
कान्तिपुर
–आजको कान्तिपुरमा पासाङल्हामु मार्ग अवरुद्ध शिर्षकमा समाचार छापिएको छ । विदुर नगरपालिका १० तिरतिरे भीरमा पहिरो जाँदा पासाङल्हामु मार्ग दुई दिनदेखि अवरुद्ध भएको छ । पहिरो त्रिशूली–वेत्रावती खण्डमा गएको हो । पहिरोका कारण यात्रु र सवारी आउजाउमै समस्या भएको छ । मंगलबार बिहान पहिरो गएपछि अवरुद्ध सडक खुलाउन गल्छी–मैलुङ सडक आयोजनाले ठेकेदार तुन्डी कम्पनीलाई भनेको जनाएको छ ।
उक्त कम्पनीले ३ एक्साभेटरले काम गरिरहेको भनिए पनि अझै सकिएको छैन । उक्त खण्ड रसुवागढी नाका जाने मूल सडक हो । सडक रोकिएपछि सयौं सवारी बीचबाटोमै रोकिएका छन् । त्यसैगरी रसुवागढी भन्सारबाट छुटेका मालवाहक कन्टेनर, यात्रुवाहक बस, जिप गरी ८०र९० वटा वेत्रावतीमा रोकिएको उत्तरगया गाउँपालिका ५ का अध्यक्ष ईश्वर थापाले बताए ।
अन्य सवारी रसुवाको कालिकास्थान, स्याफ्रुबेंसी, टिमुरेमै छन् । मानसरोवरबाट नेपाल आएका विदेशी पर्यटक पनि अलपत्र छन् । ‘रसुवागढी नाकाबाट बल्लतल्ल आइयो,’ मानसरोवरबाट आएका गाइड श्याम बस्नेतले भने, ‘बेत्रावतीदेखि २र३ घन्ट हिँडेर आइयो ।’
प्रहरी, प्रशासन र विदुनगरपालिकाका पदाधिकारीले पहिरोको अवलोकन गरेका छन् । उक्त सडकमा दैनिक ३ हजारभन्दा बढी सवारी आवतजावत हुने गर्छन् । गल्छी–मैलुङ सडक निर्माणको क्रममा भीर काटेर सडक स्तरोन्नति गर्न भीर काटिएको समाचारमा उल्लेख छ ।
त्यस्तै बल्ल छोपियो धरहराको भग्नावशेष शिर्षकमा दामोदर न्यौपानेको समाचार छापिएको छ । भूकम्पले क्षतिग्रस्त धरहराको भग्नावशेष संरक्षण गर्न पाल ओढाइएको छ । काठमाडौं महानगरपालिका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले बुधबार पाल ओढाएकी हुन् । २०७२ सालको भुइँचालोले भत्काएर बाँकी रहेको ठूटो तीन वर्षदेखि खुलै थियो । यही कारण घाम–पानीले मक्किँदै गएको थियो । वारुण यन्त्रको सहायताले ठूटोको टुप्पोमा पुगेर पाल ओडाइएको छ । ‘प्रधानमन्त्री केपी ओलीले मेरो धरहरा मै बनाउँछु भनेर घोषणा गर्नुभएको थियो,’ पाल ओढाएपछि उपमेयर खड्गीले भनिन्, ‘तर काम अझै सुरु भएन । काम बिस्तारै सुरु होला । त्यसबीचमा यसलाई जोगाउनुपर्छ भनेर पाल हाल्न लगाएकी हुँ । अब घाम पानीकै कारण यो भत्कँदैन ।’
उपप्रमुख खड्गीले गुठी संस्थानले धरहरा छेउमा ९ आना जग्गामा व्यापारिक भवन बनाउन अनुमति दिएको र त्यसलाई रोक्ने क्रममा हेर्न आउँदा धरहरा गल्दै गएको देखेको बताइन् । ‘सम्पदाको यस्तो बिजोग देखेर सहनै सकिनँ । यसलाई जोगाउनुपर्छ भनेर पाल हाल्न लगाएकी हुँ,’ उनले भनिन् ।
खड्गीले धरहरा क्षेत्रलाई स्मारक पार्कमा विकसित गर्नुपर्ने बताइन् । ‘धरहराको ठुटो जोगाउनुपर्छ भनेर मैले महानगरभित्र आवाज उठाउँदै आएको छु,’ उनले भनिन्, ‘प्रधानमन्त्रीले पनि भग्नावशेष जोगाएर अर्को ठाउँमा अर्कै धरहरा बनाउने आश्वासन दिनुभएको छ । मेरो माग पूरा गर्छु भन्नुभएको छ प्रधानमन्त्रीले ।’
धरहराको भग्नावशेष छोप्न करिब १० हजार रुपैयाँ खर्च भएको खड्गीले जानकारी दिइन् । ‘पैसा ठूलो कुरा होइन, भावना ठूलो हो,’ सम्पदा संरक्षण अभियन्ता सञ्जय अधिकारी भन्छन्, ‘सानो कामसमेत नगरेर यति महत्त्वपूर्ण सम्पदाको बिजोग बनाइएको थियो । सरकार सम्पदा संरक्षणमा संवेदनशील थिएन भन्ने उदाहरण हो यो ।’
भत्केकोपाटी–नगरकोट सडकस् विस्तार ढिलाइले व्यवसायी मारमा शिर्षकमा समाचार छापिएको छ । जिल्ला प्रशासन कार्यालय भक्तपुरले सम्झौता अवधिभित्र काम सम्पन्न नगर्ने निर्माण कम्पनी शैलुङ कन्स्ट्रक्सनका शारदा अधिकारीलाई गत जेठमा कारबाहीका लागि गृह मन्त्रालय पठायो । केही ठेकेदार कम्पनीलाई कारबाही गरेको गृह मन्त्रालयले तीन पल्टसम्म म्याद थप गर्दासमेत कमलविनायक भत्केकोपाटी–नगरकोट सडक विस्तारको काम सम्पन्न नगर्ने शैलुङलाई कारबाही गर्न सकेन । सडक समयमै नबन्दा पर्यटकीय गन्तव्य नगरकोट जाने सडक थप जीर्ण बन्दै गएको छ ।
२०७२ को भूकम्प र नाकाबन्दीले ठप्प नगरकोट उभिने तरखर गर्दागर्दै सडक विस्तार ढिलाइले व्यवसाय धराशायी बन्दै गएको पर्यटन व्यवसायीको गुनासो छ । ‘नगरकोटको मुख्य सडक विस्तारका नाममा थप अलपत्र पारिएको छ,’ पर्यटन व्यवसायी अशोक थापाले भने, ‘सडक थप जोखिमपूर्ण र खाल्डामय बनेको छ ।’ नगरकोट आउने आन्तरिक तथा बाह्य पर्यटकले सडकको अवस्था बुझेपछि आउन रुचि नै नगर्ने उनले बताए । यही कारण नगरकोट आउने पर्यटक आगमनमा कमी आएको उनी बताउँछन् ।
नागरिक
–आजको नागरिकमा सिक्टा सिँचाइ आयोजना खेलाँची : भत्केको नहर कसले बनाउने शिर्षकमा रुद्र खड्का र अर्जुन ओलीको समाचार छापिएको छ ।
किसानको खेतमा पानी नपुग्दै दुईपटक सिक्टा सिँचाइ आयोजनाको मूल नहर भत्किएपछि अब त्यो नहर कसले बनाउने भन्ने विवाद उत्पन्न भएको छ ।
४५ किलोमिटर लामो मूल नहरमध्ये ४२ किलोमिटर बनाउने सिटिसिई कालिका ज्वाइन्ट भेन्चरले आफ्नो दायित्व सकिएको दाबी गरेको छ । सिँचाइ विभागले भने अझै पनि भत्केको नहर बनाउने दायित्व कालिकाकै भएको जिकिर गरेको छ । विभागले भत्केको मूल नहर बनाउने दायित्व कालिकाको भएको बताइरहँदा आयोजनाले भने सन् २०१७ को जनवरीपछि ठेकेदारको दायित्व अवधि थपेको छैन।
सिँचाइ मन्त्रालय स्रोतले ठेकेदारको काममा शंका लागिरहेका बेला आयोजना प्रमुखले दायित्व अवधि थप गर्दै कालिकासँग सम्झौता गर्नुपर्ने आवश्यकता देखिएको बतायो । ‘अहिलेका आयोजना प्रमुख रमेश बस्नेतले नहर मर्मत गर्ने ठेकेदारको दायित्व अवधि थप नगर्दा भत्केको नहर कसले बनाउने भन्ने विवाद देखिएको हो,’ स्रोतले भन्यो, ‘सन् २०१५ मा मूल नहरको काम सकिएपछि तत्कालीन आयोजना प्रमुखले मर्मतको दायित्व अवधि थप गरेका कारण दुई वर्षअघि भत्केको मूल नहरको मर्मत कालिकाले नै गरेको थियो ।’
तर, अहिलेका आयोजना प्रमुख बस्नेतले ठेकेदारसँगको मिलेमतोमा मर्मतको दायित्व अवधि थप नगरेका हुन् या भूलबस त्यसो गरिएको हो भन्ने पत्ता लगाउन अनुसन्धान गर्नुपर्ने माग गरिएको छ । उनै बस्नेतले नै किसानको खेतमा पानी पुग्न नपाउँदै कालिकाका सबै बैंक ग्यारेन्टी फुकुवा गरिसकेका छन् । कुनै पनि आयोजना निर्माण भएपछि पाँच प्रतिशत बैंक ग्यारेन्टी र गरेको कामको पाँच प्रतिशत रकम फुकुवा गरिने समाचारमा उल्लेख छ ।
त्यस्तै धरापजस्तै हुलाकी सडक शिर्षकमा पुष्पराज जोशीको समाचार छापिएको छ । धनगढीदेखि फूलबारीसम्मको ११ किलोमिटर हुलाकी सडक ठाउँठाउँमा भत्किएर धरापजस्तै भएको छ । धनगढीको क्याम्पसचोकदेखि फूलबारीको जिरो प्वाइन्टसम्मको ११ किलोमिटरको यात्रा मोटरसाइकल तथा अन्य साना ठूला सवारीसाधनका लागि कष्टपूर्ण बन्दै गएको छ।
हुलाकी सडकमा बनेको साना कल्भर्ट भत्किएर फलामे छड निस्कँदा सडकमा धराप बिछ्याएझैं लाग्ने गरेको छ । ‘धनगढीदेखि फूलबारीसम्म ठाउँठाउँमा कालोपत्रे उप्किएर उस्तै छ, त्यसमाथि तीन ठाउँका कल्भर्टको पहिलो ‘लेयर’ निस्केर फलामे छड छरपस्ट हुँदा झनै जोखिम बढेको छ,’ फूलबारीका स्थानीय कृत बिष्टले भने, ‘धनगढी–फूलबारी आउजाउ गर्नै जोखिम छ ।’ बेलुकीको समयमा मोटरसाइकलमा यात्रा गर्न झनै जोखिम रहेको उनले बताए । ‘सडकका खाल्डामा पानी भरिँदा जोखिम उस्तै छ,’ उनले भने, ‘कल्भर्टका सरियाले त झनै धराप बिछ्याएझैं लाग्छ ।’धनगढी–फूलबारी सडकखण्डमा पहिलोपटक यात्रा गर्ने सवारी चालकले अझ बढी जोखिम बेहोर्नुपर्ने बाध्यता रहेको धनगढीका डिल्लीराज जोशीले बताए ।
‘काम विशेषले फूलबारी जाउँ भनेको त पूरै खाल्डै खाल्डाले मोटरसाइकल पन्चर भयो,’ उनले भने, ‘कल्भर्टको पहिलो लेयर उप्किएर तल बिछ्याइएका सरिया निस्कँदा जोखिम झन् बढेको छ ।’ ती कल्भर्टका सरियाले सवारी दुर्घटनाको जोखिम तथा टायर पन्चर हुने र फुट्ने समस्या बढेको जोशीको भनाइ छ।फूलबारीका महेश गोलेका अनुसार फूलबारी क्षेत्र जाने हुलाकी सडकको तीन स्थानमा बनाइएको कल्भर्ट फुटेर फलामे छड निस्किएको छ । उक्त सडकखण्डको कनरीका दुई वटा र बेलीको जंगलमा निर्माण गरिएको एउटा कल्भर्ट फुटेका छन् । निर्माण कम्पनीले सरकारलाई सडक हस्तान्तरण गरेको डेढ वर्ष नबित्दै सडक जीर्ण बनेको उनले बताए । ‘सडक र कल्भर्ट निर्माणमा कमसल सामग्री प्रयोग गरिएको हुनुपर्ने समाचारमा उल्लेख छ।
अन्नपूर्ण पोस्ट
– आजको अन्नपूर्ण पोस्टमा सिक्टा सिँचाइको नहरमा सयौँ प्वाल शिर्षकमा समाचार छापिएको छ । राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको मूल नहर प्रयोगमा नआउँदै झन्डै एकतिहाइ क्षेत्रफलमा वर्षाको पानीका कारण जीर्ण बनेको छ । पश्चिमतर्फको ४४ दशमलव २५ किमि लामो मूल नहरको परुवा खोलादेखि डुडुवा खोलासम्मको १४ किलोमिटर क्षेत्रमा दर्जनौं स्थानमा प्वाल परेको छ । असार र साउनमा परेको सामान्य वर्षाले प्वाल पारेकाले ठूलो वर्षा हुनेबित्तिकै दर्जनौं स्थानमा बाँध भत्किने खतरा छ ।
राप्ती सोनारी गाउँपालिकाको अगैयामा ब्यारेज रहेको सिक्टाको मूल नहरले बढीजसो मानव बस्ती र जंगल क्षेत्रलाई छोएको छ । परीक्षणकै क्रममा नहर भत्किएको, नहर दर्जनौं स्थानमा चर्किएको र नहरको डिलमा सयौं ठाउँमा प्वाल परेकाले ठूलो वर्षा आउँदा जुनसुकै बेला नहर भत्किने खतरा रहेको भन्दै स्थानीय चिन्तित छन् । राप्ती सोनारी–९ ढकेरीका हरि रेग्मी नहर निर्माण क्रममा कमसल सामग्री प्रयोग भएका कारण दर्जनौं स्थानमा बाँध भत्किने खतरा रहेको बताउँछन् ।
ढकेरीको नयाँगाउँ पुलमा नहर भत्किएको दृश्य हेर्दै गरेको अवस्थामा भेटिएका रेग्मीले भने, ‘जमिन धेरै तल छ । नहर माथि छ । नहरको बाँधका लागि थुपारिएको माटोको गुणस्तर कमसल भएर धेरै ठाउँमा बाँध भत्किने खतरा छ ।’
सो क्षेत्रमा घुलनशील माटो छ । जुन सानो वर्षामा पनि पग्लेर बाँधका सयौं स्थानमा प्वाल परेका छन् । रेग्मीले वर्षा नै नहुँदा बाँध भत्किसकेकाले ठूलो वर्षाले स्थानीयलाई चिन्तित बनाएको बताए । नहरको उत्तरमा ढकेरीका मात्र तीन सयजति घर र कौवाडाँडामा केही घर जोखिममा पर्ने देखिन्छ ।
यसअघि परीक्षण क्रममा नहरमा निकै कम मात्रामा पानी छाड्दा यही मूल नहर दुई पटक भत्किसकेको छ । ७ साउनमा राप्ती सोनारी ८ र ९ ढकेरीमा पर्ने चंगाई खोलास्थित सिक्टाको पश्चिम ९दायाँ० मूल नहर र ०७३ असार १४ मा झिभरी खोलाको दोभानमा नहरको बाँध परीक्षणका लागि पानी छोड्दा नै भत्केको थियो । अहिले सोही क्षेत्रमा नहर दर्जनौं ठाउँमा चर्केको छ । सयौं ठाउँमा भ्वाङ परेकाले पानी लिकेज हुने उत्तिकै खतरा छ । यो क्षेत्रमा नहर निर्माण कालिका कन्स्ट्रक्सनले गरेको समाचारमा उल्लेख छ।
नयाँ पत्रिका
–आजको नयाँ पत्रिकामा पानी पर्न थालेपछि सेती किनारमा भागदौड शिर्षकमा उपेन्द्र खनालको समाचार छापिएको छ । सेतीनदी कटानका कारण केही वर्षयता तनहुँ भीमादका दर्जनभन्दा बढी परिवार विस्थापित भइसकेका छन् । बर्सेनि हुने नदी कटान र व्यवस्थित तटबन्ध अभावले भीमाद नगरपालिका क्षेत्रमा सामान्य झरी पर्नासाथ स्थानीयमा भागदौड मच्चिन्छ । पानी पर्नासाथ भीमादवासी सुरक्षित वासको खोजीमा भौँतारिने गरेका छन् ।
भीमाद नगर क्षेत्रमा मात्रै दुई सय घर नदी कटानको उच्च जोखिममा छन् । सेतीनदी नियन्त्रणका लागि नगरपालिकाले दश लाख छुट्याए पनि अपुग भएको नगरपालिकाले जनाएको छ । भीमाद–६ का अध्यक्ष श्यामसुन्दर जोशीले भने, ‘यतिले नदी नियन्त्रणका लागि तारजाली लगाउन पनि पुग्दैन ।’ स्थानीय धु्रव भण्डारीका अनुसार सेतीनदीको बहाव बढ्नेबित्तिकै जमिन कटान सुरु हुन्छ । उनले भने, ‘मेरो घरको शौचालय भत्किसक्यो, घरको जग पनि झर्ने क्रममा छ, पहिरोको जोखिमले गर्दा सबै स्थानीय दिनमा व्यवसाय गरे पनि रात काट्न सुरक्षित स्थानतिर जान्छन् ।’
भीमाद–६ का अध्यक्ष श्यामसुन्दर जोशीले स्थानीय तहको बजेटले सेतीनदी तटबन्ध गर्न नसकिने बताएका छन् । उनले केन्द्रले नै गुरुयोजना बनाएर काम गर्नुपर्ने बताए । ‘तत्काल नदी नियन्त्रणका लागि प्रदेश सरकारले दुई–तीन करोड रकम उपलब्ध गराएर काम थाल्नुपर्छ,’ उनले भने ।
भीमाद नगरपालिकाका सूचना अधिकारी सुनील पाण्डेले नदीआसपास पहिरोको उच्च जोखिममा रहेका घरपरिवारलाई सुरक्षित स्थानमा जान सूचना गरेको बताए । ‘बर्सेनि स्थानीयलाई पहिरोले सताउने गरेको छ, तर राज्यले दीर्घकालीन सोच बनाउन सकेको छैन,’ उनले भने, ‘नदी कटान रोक्न नगरपालिकाले १० लाख छुट्याएको छ । तर, त्यसले केही हुँदैन ।’ नगरपालिकाले संघीय र प्रदेश सरकारसँग सहयोग मागेर नदी नियन्त्रणका लागि पहल थाल्ने योजना बनाएको छ ।
भीमादका अधिकांश स्थानीय दिनमा घर र रात परेपछि डेरामा बस्ने गरेका छन् । उनीहरूको यो दैनिकी नै बनेको छ । सेतीनदीले बर्सेनि कटान गर्न थालेपछि सुरक्षित स्थानमा डेरा खोजेको स्थानीय सुवास कायस्थले बताए । ‘बर्खायाम सुरु हुनासाथ त्रासमा बस्नुपर्छ,’ उनले भने, ‘रातमा कहिल्यै घरमा वास बस्दैनौँ । साँझको समय कुनवेला सेतीनदीले कटान गरेर घर लैजाने हो थाहा छैन, दिनमा व्यापार–व्यवसाय गरे पनि रातमा डेरामा जान्छौँ ।’