Monday, October 28, 2024

पत्रपत्रिकामा आज : भेलमा बग्दै बजेट, अपस्तालकाे फाेहार व्यवस्थापनमा बेवास्ता

काठमार्डाैँ– आजको पत्रपत्रिकामा वातावरणीय तथा विकास निर्माणका मुद्दाका विभिन्न विषयका समाचार छापिएका छन्।

कान्तिपुर
-आजको कान्तिपुरमा बाढीपीडित भन्छन्– ‘हाम्रो सरकार अझै आएन’ शिर्षकमा समाचार छापिएकोछ । स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनताका उम्मेदवारहरूको प्रमुख एजेन्डा थियो– बाढीपीडितलाई राहत तथा पुनःस्थापना । निर्वाचनपछि सबैभन्दा नजिकको स्थानीय सरकारले एक वर्ष पार गरिसक्यो । अन्य दुई सरकारले समेत आगामी वर्षका लागि बजेट र नीति तथा कार्यक्रम ल्याइसके । तर, बाढीपीडितको पीडामाथि तीनै सरकार मौन छन् ।
सुर्खेतको बराहताल गाउँपालिका, पञ्चपुरी, वीरेन्द्रनगर र भेरीगंगा नगर क्षेत्रमा बाढीपीडितहरू चार वर्षदेखि विस्थापित जीवन बिताइरहेका छन् । तीमध्येका एक हुन्– गिरीघाट शिविरका ५४ वर्षीय रामबहादुर सुनार । ‘उति बेला एक भोटको पनि महत्त्व थियो, आए आश्वासन दिए, चुनाव पनि जिते,’ उनले भने, ‘अब न यहाँ फर्केर आउँछन् न त राहत,पुनःस्थापनाको पहल गर्छन् ।’ २०७१ साउन २८ र २९ गते भेरी नदीलगायत सुर्खेतका खोलानालामा आएको भीषण बाढीले धनजनमा ठूलो क्षति पुर्‍यायो । १ सय १५ को मृत्यु भयो । ९ सय ७० परिवार विस्थापित भए । उनीहरू अहिले खुइलिएका पालको आश्रयमा रहेको समाचारमा उल्लेख छ ।

त्यस्तै भेलमा बग्दै बजेट शिर्षकमा अर्को समाचार छापिएको छ । बडागाउँ–अग्लापुल सडक कालोपत्रे गर्न कुस्मा नगरपालिकाले गत साता मात्रै काम थालेको थियो । तर ८ नम्बर वडामा गरिएको ढलान २ दिनमै बाढीले बगाइदियो ।
फलेवास नगरपालिकाले असार लागेपछि नगरभित्रका सबैजसो सडक चौडा पार्ने काम तीव्र पारेको छ । फलेवासकै मुडिकुवा–झकलाक सडक कालोपत्रे गर्न बेस बिछ्याउने काम धमाधम भइरहेको छ ।
असारमा बजेट सिध्याउन हतार–हतार काम अघि बढाइएका विकासे योजनाका यी केही उदाहरण मात्रै हुन् । जलजला, मोदी, महाशिला, पैयुँ र बिहादी गाउँपालिकाहरूको हालत पनि उस्तै छ । जब असार सुरु हुन्छ तब वर्षभरि खर्चन नसकेको बजेट सडकमा खन्याएर विकास गरेजस्तो देखाउने प्रवृत्ति स्थानीय सरकारले पनि दोहोर्‍याएका छन् । ‘असार लागेपछि खाना खाने फुर्सद पनि छैन,’ स्थानीय तहमा कार्यरत एक कर्मचारीले भने, ‘वर्षभरि नभएको काम अहिले हुन्छ । धेरैजसो काम सडककै छन् ।’ योजना सम्झौता, स्टिमेट, चेक निर्माणदेखि भुक्तानीसम्मका कामले स्थानीय तहका कर्मचारीलाई भ्याइनभ्याइ भएको समाचारमा उल्लेख छ ।

नागरिक
-आजको नागरिकमा बर्सेनि बल्झिने घाउ : नेपालगञ्जमा डुबान समस्या शिर्षकमा समाचार छापिएको छ । न्युरोडका गोपाल गिरीको परिवार बर्खायामका बेला सधैं तनावमा रहन्छ। सामान्य वर्षा हुँदा पनि सडकमा जमेको पानी उनको घरभित्र पस्छ । २०६४ सालदेखि गिरी परिवारले डुबान समस्या खेप्दै आएको छ। ‘बर्खा लागेपछि त रातभर राम्ररी सुत्न पाइँदैन, घरभित्र पानी पसेर हैरान बनाउँछ,’ गिरीले दुखेसो पोखे। दुई दशकअघि न्युरोड बनेपछि गिरीले जग्गा खरिद गरी २०५९ मा सहिद सेतु बिक चोकनजिक घर बनाएका थिए। घर बनाइसकेपछि सुरुका केही वर्षसम्म सहज भए पनि २०६४ बाट निरन्तर डुबान समस्या बल्झिन थालेको उनले सुनाए।
बसपार्क रोडदेखि त्रिवेणी मोडसम्म उत्तरदक्षिणमा रहेको न्युरोडको दुवै किनारमा नाला छन् । तर, वर्षौंदेखि ती नालाबाट पानी बग्न छाडेको छ। नालामा फोहोर र माटो भरिएको छ । नालामा बग्ने पानी सडक हुँदै घरघरमा पस्ने गरेको पीडित स्थानीय बासिन्दा बताउँछन् । स्थानीयका अनुसार न्युरोडपछाडि पश्चिमतर्फ रहेको मुख्य नाला अतिक्रमणमा परेको छ। न्युरोडकै बासिन्दाले पछाडितिर नाला च्यापेर घर बनाएका छन् । अतिक्रमणका कारण करिब ६ मिटर चौडाइ रहेको उक्त नाला साढे ३ मिटरसम्म खुम्चिएको स्थानीयको भनाइ छ । न्युरोड र न्युरोड पछाडिका नालामा पानी बग्ने बित्तिकै ५० प्रतिशत डुबान समस्या समाधान हुने डुबानपीडित गिरी ठोकुवा गर्छन् । न्युरोडबाट दक्षिणतर्फ बग्नुपर्ने पानी उल्टो दिशातर्फ बग्ने गरेको उनले सुनाए । सामान्य वर्षाले न्युरोडस्थित सेतु बिक चोक जलामय हुन्छ र यहाँका दर्जनौं घरमा पानी पस्ने समाचारमा उल्लेख छ।

अन्नपूर्ण पाेस्ट
अाजकाे अन्नपूर्ण पाेस्टमा अस्पतालकाे फाेहाेर व्यवस्थापनमा बेवास्ता शिर्षकमा समाचार छापिएकाे छ । स्वास्थ्य सेवा विभागले निजी तथा सरकारी अस्पतालमा गरेकाे अनुगमनबाट अस्पतालहरूले मेडिकल र अन्य फाेहाेरकाे उचित व्यवस्थापन नगरी बेवास्ता गरेकाे र स्विपरकै भरमा छाडेकाे खुलेकाे छ । अस्पतालले अन्य फाेहाेरभन्दा हानिकारक रसायनजन्य मेडिकल फाेहाेरकाे व्यवस्थापन नगर्दा वातावरण प्रदूषित बनिरहेकाे पाइएकाे समाचारमा उल्लेख छ।

ताजा समाचार

सम्बन्धित समाचार