Monday, October 28, 2024

नारायणगढ–मुग्लिन सडकको वैकल्पिक बाटो रोज्न आग्रह

चितवन – नारायणगढ–मुग्लिन सडकखण्डमा निरन्तर पहिरो खस्न थालेपछि वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव दिइएको छ ।
सडकमा छिनछिनमा पहिरो खस्न थालेपछि दिनभर यात्रु जाममा बस्नु पर्ने र कुनै पनि समयमा पहिरो खसेर जनधनको जोखिम हुन सक्ने देखिएको छ ।

राजधानी काठमाडौँ भित्रिन र बाहिरिनका लागि केही लामो यात्रा गरेमा नारायणगढ–मुग्लिन सडकखण्डको जोखिम मोल्नु पर्दैन । तर पनि यो कष्टकर यात्रा छाडेर केही लामो यात्रा गर्न धेरैले चाहेको देखिँदैन। जसका कारण घण्टौँ सडकमा खतरा व्यहोरेर भोकभोकै बस्न यात्रु बाध्य हुनु परेको छ।

नारायणगढबाट मुग्लिनसम्मको दूरी पार गर्न ३६मिनेट लाग्छ तरतर पहिरोका कारण सडक अवरुद्ध हुँदा लामो समयसम्म सडकमा अलपत्र पर्नुपर्ने अवस्था रहेको छ। पश्चिम नेपालबाट काठमाडौँ भित्रिने सवारी साधन बुटवलबाट पाल्पा, स्याङ्जा, पोखरा हुँदै मुग्लिन निस्किएर काठमाडौँ जान सक्ने नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालले बताए।

बुटवलबाट नारायणगढ हुँदै मुग्लिनसम्मको दूरी १५० किलोमिटर हो भने बुटवलबाट पोखरा हुँदै मुग्लिनको दूरी २३३ किलोमिटर पर्छ । ८३ किलोमिटर लामो यात्रा गर्नुपरे पनि जोखिम कम हुने भएपछि यात्रु र सवारी चालकले वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने उनको सुझाव छ । करीब एक घण्टा ३० मिनेट बढी यात्रा गरेपछि यो जोखिम छल्न सकिन्छ ।

त्यसैगरी, पूर्वी नेपालबाट काठमाडौँ जाने सवारीले त्रिभुवन राजपथ हुँदै हेटौँडाबाट नौबिसेको बाटो प्रयोग गर्न सक्छन् । नारायणगढबाट मुग्लिन हुँदै काठमाडौँ जाँदा १४६ किलोमिटर दूरी पर्छ भने नारायणगढबाट हेटौँडा–नौबिसे हुँदै काठमाडौँ जाँदा १८७ किलोमिटर दूरी पर्ने खनालले बताए।

यो दूरी ४१ किलोमिटरमात्रै बढी हो । जुन एक घण्टाको थप यात्राले सहज पार गर्न सकिन्छ । तर पूर्वी नेपालबाट आएका सवारीलाई हेटौँडाबाट सोझै काठमाडौँ जाँदा ११५ किलोमिटरमात्रै पर्छ । हेटौँडा– नारायणगढ–मुग्लिन हुँदै काठमाडौँ जाँदा भने २१८ किलोमिटर पर्छ । यो सडक प्रयोग गरेमा १०३ किलोमिटर दूरी कम हुन्छ । वैकल्पिक मार्ग प्रयोग गर्न सकिएमा यतिबेलाको जोखिममा कमी आउने आयोजनाका प्रमुख रोहितकुमार विसुरालले बताए।

नारायणगढबाट काठमाडौँ जाने यात्रुका लागि पनि यो सडक सहज छ । तर, त्रिभुवन राजपथ सडक साँघुरो भएकाले ठूला सवारी सञ्चालन कठिन छ भने साना सवारीलाई दूरी छोटो पर्छ । यद्यपि यी सडक कम प्रयोग भई सवारीको चाप नारायणगढ–मुग्लिन सडकखण्डमा बढिरहेको छ । प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले वैकल्पिक मार्ग प्रयोग गर्ने र जोखिम कम गर्ने विषयमा आजै छलफल गर्न लागिएको बताए।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले यो सडक प्रयोग गर्दा सावधानी अपनाउन सूचना जारी गर्दै आएको र पहिरो खसेलगत्तै सकेसम्म छिटो सफा गर्ने काम भइरहेको बताए। यद्यपि पहिरो खसिरहेकाले वैकल्पिक मार्ग प्रयोग गराउन सकेमा सवारी चापमा कमी आउने उनले बताए।

राजधानी प्रवेश र बाहिरीने मुख्य लाइफलाइन मानिएको यो सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारी आवागमन गर्छन् । पछिल्लो समय सडक स्तरीय बनेसँगै सवारी चाप थपिएको थियो । यो सडकको स्तरोन्नतिका क्रममा अधिकांश ठाउँमा भित्तो काटिएकाले पहिरोको जोखिम उच्च भएको हो । रासस

ताजा समाचार

सम्बन्धित समाचार