Monday, October 28, 2024

किम्बु खेती गर्ने किसान घटे

चितवन – चितवनको भण्डारास्थित किम्बु नर्सरी व्यवस्थापन केन्द्रले यसवर्ष १३ लाख किम्बुको बिरुवा हुर्काएको छ ।

केन्द्रका प्रमुख पर्शुराम अधिकारीका अनुसार मंसिर र पुसमा हाँगा काटेर रोपिएका किम्बु यतिबेला रोप्नका लागि तयार भएको र असार र साउन महिनामा मात्रै रोपिने भएकाले ती बिरुवा देशका विभिन्न भागमा पठाउन थालिएको हो।

सरकारीस्तरका धनकुटा, सुनसरीको इटहरी, काभ्रेको खोपासी, भक्तपुरको चीतापोल, धादिङको धुलेबेँसी, चितवनको भण्डारा, तनहुँको बन्दीपुर, कास्कीको मालेपाटन र स्याङजाका रेशम फार्मबाट कृषकलाई प्रति बिरुवा दुई रूपैयाँमा किम्बुका बिरुवा वितरण गरिने उनले बताए।

केन्द्रले ६ हेक्टर जमिनमा गतवर्ष पाँच लाख बिरुवा हुर्काएको केन्द्रले यसवर्ष १३ लाख बिरुवा हुर्काएको हो। सुख्खा ठाउँमा राम्रो उत्पादन दिन सक्ने कान्भा– २ जातको किम्बु केन्द्रले हुर्काउँदै आएको छ। सिँचाइ सुविधा नभएका ठाउँमा किम्बुखेती गरिन्छ।

पछिल्ला वर्षमा रेशमखेती गर्ने क्रम घट्दोे छ। रेशम पाल्नका लागि किम्बुखेती गरिन्छ। विसं २०४९ पछिका केही वर्ष दाताको सहयोगका कारण नेपालमा रेशम पालन बढेर गएको थियो । त्यतिबेला वार्षिक रुपमा ४५ मेट्रिकटन हाराहारी रेशम उत्पादन हुने गरे पनि क्रमशः घट्दै आएर अहिले वार्षिक २५ मेट्रिक टनको हाराहारीमा मात्रै उत्पादन हुने गरेको छ।

चितवन र मकवानपुर जिल्लामा रेशमखेती गर्नेको संख्या ८० जनाको हाराहारी छ। केही वर्ष अघिसम्म यो संख्या दुई सयभन्दा बढी थियो। रासस

ताजा समाचार

सम्बन्धित समाचार