Monday, October 28, 2024

तुलसीको बीउ राखियो, यस्ता छन् तुलसीका फाइदा

काठमाडौं – निर्जला एकादशीका दिन आइतबार घरघरमा तुलसीको बीउ राखिएको छ । हरेक वर्षको जेठ शुक्ल एकादशीका दिन तुलसीको बीउ राख्ने गरिन्छ । तुलसीलाई धार्मिक र सांस्कृतिक हिसाबले मात्रै नभई पर्यावरणीय हिसाबले पनि महत्वपूर्ण मानिन्छ । वैज्ञानिक हिसाबले पनि उपयोगी वनस्पती तुलसीमा धेरै अक्सिजन पाइने हुनाले मान्छेलाई अन्तिम अवस्थामा पनि तुलसीको मठ नजिक लाने गरिन्छ। यस्तै, औषधिको हिसाबले पनि तुलसीलाई महत्त्वपूर्ण वनस्पतिको रुपमा लिइन्छ । तुलसीमा धेरै प्रकारको रोग निवारण गर्ने शक्ति हुने आयुर्वेदका अध्येताहरू बताउँछन्।

बीउ राखेको करिब एक महिनापछि आउने हरिशयनी एकादशीका दिन त्यही बीउबाट उम्रिएको तुलसीको विरुवालाई विधिपूर्वक रोपिन्छ । निर्जला एकादशीका दिन व्रत बस्ने चलन छ । यसलाई भिम एकादशी पनि भनिन्छ । आषाढ शुक्ल एकादशीका दिन हरिशयनी एकादशी मनाउने गरिन्छ । घरआँगनमा रहेको तुलसीको मठ तथा गमलामा विधिपूर्वक तुलसीको बिरुवा रोपिन्छ । तुलसीलाई भगवान विष्णुको अवतारका रुपमा लिएर पुजा गर्ने परम्परा छ ।

तुलसीका उपयोगिता
आँगनमा रोपिने तुलसीलाई जन्मदेखि मृत्युसम्मका विभिन्न कर्ममा प्रयोग गर्ने गरिन्छ । हिन्दु धर्म अनुसार यसलाई बिष्णुको अवतार मानेर पूजा गरिन्छ । पूजा–आजा गर्नु बाहेक तुलसीको महत्त्व अरु धेरै पक्षमा छ । अक्सिजन धेरै दिने यसले हामीलाई धेरै प्रकारका रोगहरूबाट बचाउन मद्दत गर्छ । हरेक दिन तुलसी खानाले कुनै पनि प्रकारको रोग नलाग्ने विभिन्न अध्ययनले देखाएको छ ।

धेरै दिसा लागेमा केही तुलसीको पातसँगै जाइफल पिनेर खाएमा ठिक हुन्छ ।

आउँ तथा शुल परेमा तुलसीको करिब १० वटा पात मिश्रीसंग पिनेर खाने गरेमा ठिक हुन्छ र आवश्यकता परेमा एक हप्तासम्म खानपर्छ ।

दिशामा रगत आएमा १–२ चम्चा तुलसीको गेडा आधा ग्लास पानीमा बेलुका भिजाएर बिहान खाने गरेमा ठिक हुन्छ ।

अल्काई भएमा तुलसीको पात १०–१२ वटा खाएर पानीले निल्ने र तुलसीको पातको लेदो नरिवलको तेलमा फिटेर गुद्धद्वारको घाऊमा लगाउने गरेमा ठिक हुन्छ ।

बालतोड् घाऊ भएमा पिपलको कोपिला र तुलसीको पात पानीमा पिनेर बिहान र बेलुका लेप गर्नाले बालतोड् घाऊ ठिक हुन्छ ।

घाँटी बसेमा घाँटी बसेर बोल्नै नसक्ने भएको छ भने १०–१२ पात तुलसी र ४–५ दाना मरिच मिश्रीको टुक्रासँग चपाएर निल्दा घाँटी बसेको ठिक हुन्छ ।

यसैगरी तुलसीका अन्य धेरै फाइहरू छन् ।
१) तुलसीको पातलाई पानीमा पकाएर काँढा पिउँदा ज्वरो कम हुन्छ ।
२) तुलसीले रगतमा यूरिक एसिडको स्तर घटाएर मिर्गाैलालाई स्वस्थ राख्छ ।
३) तुलसीले रक्तचाप, कोलेस्ट्रोल नियन्त्रणमा राखेर मुटुलाई पनि स्वस्थ राख्छ ।
४) तुलसीको दलको माला बनाएर लगाउँदा तनाव कम हुन्छ ।
५) तुलसीमा हुने थाईमोलले छालासम्बधी समस्या समाधान हुन्छ । यसले रगत सफा गरेर अनुहारमा कान्ति ल्याउँछ ।
६) दिनदिनै तुलसीको चार पाँच वटा पात चपाउँदा माइग्रेन सम्बन्धी समस्या कम हुन्छ ।
७) तुलसीको पातमा एन्टीअक्सिडेन्ट गुण हुनाले प्यानक्रियाटिक बिटा सेल्सलाई सक्रिय बनाउँछ। इन्सुलिन सेन्सिटिभिटी बढाउँछ । ब्लडमा सुगर कम गर्दै मधुमेह पनि नियन्त्रण गर्छ ।

स्रोत : विभिन्न अनलाइन र तुलसीसम्बन्धी जानकार

ताजा समाचार

सम्बन्धित समाचार