Sunday, October 27, 2024

ताप्लेजुङमा पहिरोले एक घर पुरियो, छ घर जोखिममा, ग्रामीण क्षेत्रमा त्रास

ताप्लेजुङ – ताप्लेजुङको सिरिजंघा गाउँपालिका–७ खेवाङमा पहिरोले एक घर पुरिएको छ भने छ घर उच्च जोखिममा परेका छन्।

गएराति परेकोे अविरल वर्षाका कारण माथिबाट झरेको पहिरोले स्थानीय मानबहादुर लिम्बूको घर पुरिएको हो। प्रहरीका अनुसार रातभरको वर्षापछि शनिबार बिहान ७ बजेको समयमा अचानक झरेको पहिरोले लिम्बूको घर पुरिएको हो ।

घटनामा मानवीय क्षति भने नभएको बताइएको छ। पहिरोले घरसहित घरभित्र रहेका सम्पूर्ण सामग्री पुर्दा रु नौ लाखभन्दा बढीको क्षति भएको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय, ताप्लेजुङले जनाएको छ । पहिरोपीडित परिवार भने छिमेकीको शरण लिएर बसेका छन् ।

यस्तै, सोही ठाउँका छवटा घर पहिरोको उच्च जोखिममा रहेको बताइएको छ । स्थानीय चन्द्रबहादुर विक, तारावीर विक, इन्द्रप्रसाद दाहाल, ओमप्रकाश साम्यु, नैनबहादुर ताम्जोम र धनबहादुर गौतमको घर जोखिममा परेको जनसाँस्कृतिक युवा समूह खेवाङले जनाएको हो । दैनिकरुपमा भइरहेको वर्षाका कारण झरेको पहिरोले सडक, बालीनालीलगायतमा क्षति पुगेको छ भने ग्रामीण क्षेत्रमा पहिरोको त्रास बढेको छ।

यता उत्तर–दक्षिण ओलाङ्चुङ्गोला लोकमार्ग सडकखण्डमा झरेको पहिरोले यातायात नै बन्द छ। उक्त सडकखण्डअन्तर्गत फरुम्बु खोलामा झरेको पहिरोका कारण यातायात अवरुद्ध भएको हो। उक्त सडक हुँदै फक्ताङ्लुङ गाउँपालिकाको तापेथोकलगायतका ठाउँमा यातायात चल्ने गरेको छ।

यस्तै, सोहीखोलामा निर्माणका क्रममा रहेको मोटरेवल पुलका सामग्रीसमेत शुक्रबार राति आएको बाढीले बगाएको स्थानीय हाङ्नारायण लिम्बूले बताए। यता बिहीबार बेलुकी हाङ्देवाको लप्सेखोलामा आएको बाढीले बगाएर बेपत्ता बनेका सनम राईको अवस्था भने अज्ञात छ । उनको खोजी कार्य अझै पनि जारी रहेको प्रहरीले जनाएको छ ।

बर्खा लागेसँगै ग्रामीण क्षेत्रमा पहिरोको त्रास

मध्य बर्खा नहुँदै मुसलधारे वर्षासहित बाढीपहिरो जान थालेपछि यस जिल्लाका ग्रामीण क्षेत्रमा भने त्रास बढेको छ। केही दिनयता निरन्तरजसो भइरहेको वर्षाका कारण विभिन्न क्षेत्रमा बाढी र पहिरो गएपछि स्थानीय त्रासमा परेका हुन्।

रातको समयमा ठूलो वर्षा हुने गरेको छ। “रातभर वर्षा हुन्छ, भिरालो क्षेत्रमा बस्ने हामीलाई रातभर जाग्राम बस्नुपर्ने बाध्यता छ”, ताप्लेजुङका प्रदीप विकले भने। पहिरो झर्ने डरले पहिलेको घरबाट अन्तै सरेका विकलाई भिरालो जग्गा भएकाले नै ठूलो वर्षा हुँदा ढुक्क नभएको हो। यस्तै, घरमा एक्लै बस्दै आएकी सोही ठाउँकै वसुन्धरा भट्टराई पनि ठूलो वर्षा हुन थालेपछि डेरा सरी बस्नु परेको बताउँछिन्।

यता दुई वर्षअघि ठूलो जनधनको क्षति पुगेका जिल्लाका खोक्लिङ, लिवाङ, लिङ्तेप, खेजेनिमलगायतका क्षेत्रका स्थानीयवासीलाई समेत ढुक्क छैन। पहिरोले विस्थापित भई अन्यत्र सरेपनि वर्षातकाे समयमा उनीहरू ढुक्कले सुत्न पाउँदैनन्।

पहिले गएको पहिरोको झझल्को अझै ताजै रहेको र ती क्षेत्रहरू पहिरोको उच्च जोखिममा परेकाले त्यहाँका स्थानीय हरेक वर्षको बर्खाभर त्रासमा रहने गरेका छन्। जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार ताप्लेजुङका साविकका २७ वटा गाविसहरु पहिरोको उच्च जोखिममा छन्।

यस्तै, १३ वटालाई मध्यम र नौवटालाई न्यून जोखिमको क्षेत्रमा समेटिएको छ। यता केही वर्षअघि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट) ले गरेको अध्ययनले पनि ताप्लेजुङ पहिरोको उच्च जोखिममा रहेको देखाएको थियो। उक्त अध्ययनका अनुसार यस क्षेत्रका ८० प्रतिशत नागरिकले सुरक्षित ठाउँ नभएकाले जोखिम हुँदाहुँदै पनि त्यही क्षेत्रमा बस्न बाध्य भएको बताएका थिए भने ९० प्रतिशतले खानेपानी र सिँचाइका लागि पानीको अभाव भएको बताएका थिए।

आपत्कालीन मनसुन कार्ययोजना

यता मनसुनबाट हुनसक्ने विपद्लाई मध्यनजर गर्दै यसको प्रतिकार्यका लागि पूर्वतयारीस्वरुप २२ बुँदे आपत्कालीन मनसुन कार्ययोजना तयार गरिएको छ । मनसुनको समयमा हुनसक्ने क्षतिको सम्भाव्यता अध्ययन गर्दै यसको रोकथाम र भइहाले तत्काल उद्धार र व्यवस्थापन गर्नका लागि जिल्ला विपद् व्यवस्थापन समितिले उक्त कार्ययोजना तयार गरेको हो।

विभिन्न संघसंस्था सम्मिलित नौवटा समूहले उक्त कार्ययोजनाअनुसारका कार्य गर्नेगरी व्यवस्था मिलाइएको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए। यसका लागि खाद्य तथा पोषण समूह, खानेपानी तथा सरसफाइ, स्वास्थ्य तथा पोषण, संरक्षण, शिक्षा, खोज तथा उद्धार, आवास, गैरखाद्य र सञ्चार समूह नै बनाइएको छ। यो वर्षको मनसुन अवधिभर नै यो कार्ययोजना लागू हुने जनाइएको छ।

विपद् व्यवस्थापन क्षमता कमजोर

यता जिल्लाको विपद् व्यवस्थापन क्षमता भने कमजोर देखिएको छ। नेपालकै तेस्रो ठूलो यस जिल्लामा विपद् व्यवस्थापन एवं उद्धारका लागि चाहिने सामग्री र जनशक्ति न्यून रहेको देखिएको हो। विपद्मा तत्काल खटाउन सक्ने जनशक्ति २४७ मात्र रहेको छ भने सवारी साधनसमेत न्यून रहेको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले बताए। उनका अनुसार २० वटा गाडी, एउटा दमकल, तीनवटा टिपर, एउटा ट्र्याक्टर, सातवटा एम्बुलेन्स, २५ वटा मोटरसाइकल र १० वटा रेडियो सेट रहेका छन्।

जिल्लाको भूगोल र जोखिमका हिसाबले यी सामग्री ज्यादै न्यून रहेका छन्। यता वाटरप्रुफ ज्याकेट, बाल्टी, स्ट्रेचर, औषधिको आपत्कालीन झोला, हेल्मेटलगायतका सामग्री पनि न्यून रहेको बताइएको छ । सन्तोष पुर्कुटी/रासस

ताजा समाचार

सम्बन्धित समाचार