Sunday, October 27, 2024

जथाभावी उत्खनन् : १७ सय घरधुरी जोखिममा (भिडियो सहित)

नेपालगन्ज । राप्ती नदीको कटानको उच्च जोखिममा रहेको फत्तेपुरको ढलैया क्षेत्रमा अवैध ढंगले ढुंगा,गिट्टी र बालुवा उत्खनन् हुँदा फत्तपुर गाउँ नै जोखिम परेको छ ।

ढलैया क्षेत्रबाट राप्ती नदी वर्षातको बेला गाउँ प्रवेश गरेमा सिङ्गो गाउँ नै डुबानमा पर्ने उच्च जोखिम भएको क्षेत्र हो । फत्तेपुरका बासिन्दाहरू एक दशकदेखि राप्ती नदीको कटान र डुबानबाट पीडित हुँदै आएका छन् ।

फत्तेपुर गाउँमा करिब १ हजार ७ सय घरधुरी छन । ती मध्ये करिब ५ सय परिवार नदीको कटान र डुबानबाट प्रभावित भई गाउँबाट विस्थापित भएर वि.सं २०७१ साल देखि जंगलमा टहरा बनाइ बसिरहेका छन् । नदीको कटान र डुबानबाट पीडित हुनेको संख्या वर्षेनी बढ्दै गएको छ ।

स्थानीय बासिन्दाले हुलाकी सडक निर्माण गरिरहेका निर्माण व्यवसायीलाई ढलैया क्षेत्रबाट ढुंगा,गिट्टी र बालुवा उत्खनन् नगर्न पटक–पटक आग्रह गर्दै आए पनि निर्माण व्यवसायीहरूले ३ वटा एक्साभेटरको प्रयोगले उत्खनन्लाई तिब्र पारेको राप्ती सोनारी गाउपालिका बडा नं ७ का वडा अध्यक्ष राम लखन थारूले बताए ।

रातीको समयमा अबैध रूपमा व्यापक मात्रामा ढुंगा,गिट्टी र बालुवा उत्खनन् भए पनि रोक्ने तर्फ स्थानीय प्रहरी प्रशासनले चासो नदिएको अध्यक्ष थारूले बताए ।

गणपति र आशिषकुमार श्रेष्ठ जेभीले नेपालगन्जको पुष्पलाल चौकदेखि नरैनापुर सम्मको करिब ४४ किलोमिटर सडक र नाला निर्माणको काम गरिरहेका छन् ।

दुबै कन्ट्रक्सनले जिल्ला समन्वय समिति बाँकेबाट ढुंगा, गिट्टी र बालुवा उत्खननका लागि अनुमति लिए पनि त्यसको दूरूपयोग गर्दै मेसिन प्रयोग गरेर नदी कटान र डुबानको उच्च जोखिममा रहेको क्षेत्रबाट अबैध रूपमा अन्धाधुन्द रूपमा एक्जाभेटर प्रयोग गरी ढुंगा, गिट्टी र बालुवा उत्खनन् गर्दै आएको सरकारी अधिकारीहरूले नै जानकारी दिएका छन् ।

स्थानीय बासिन्दा र निर्माण ब्यबसायीहरूवीच नदी कटानको जोखिममा रहेको क्षेत्रबाट एक्जाबेटरले ढुंगा, गिट्टी र बालुवा उत्खनन नगर्ने र रातीको समयमा ढुवानी नगर्ने सहमति भए पनि व्यबसायीहरूले सहमती मानेका छैनन् ।

जिल्लामा संचालन भई रहेका राष्ट्रिय गौरबका आयोजनाहरू सिक्टा सिचाई र हुलाकी सडकलाई ढुंगा, गिट्टी र बालुवाको अभाब हुन नदिन कानुनी प्रकृया पुरा गरेर उत्खनन गर्न दिइएको बाकेका प्रमुख जिल्ला अधिकारी रमेश केसीले दावी गरे ।
उत्खनन गर्दा बाढी र डुबानको जोखिम पनि नहोस र विकास निर्माणका आयोजनाहरूका लागि निर्माण सामाग्री पनि अभाव नहोस भन्ने तर्फ ध्यान दिइएको बताउदै उत्खनन भई रहेको क्षेत्रमा अनुगमन गरी नियम विपरित भएको पाइएमा कारवाही गरिने प्रजिअ अधिकारीले हाकाहाकीलाई वताए ।

यसै बिच स्थानीयले गत आइतबार रातीको समयमा ढुंगा, गिट्टी र बालुवा उत्खनन गरि रहेको अवस्थामा ३ एक्जाभेटर नियन्त्ररणमा लिएर कारवाहीका लागि प्रहरीमा बुझाएका थिए ।

निर्माण व्यवसायी र स्थानीय बासिन्दाहरू बिच बाढीको जोखिममा रहेको क्षेत्रबाट रातीको समयमा उत्खनन् नगर्ने सहमती भए पनि व्यवसायीहरूले सहमती विपरित जथाभावी उत्खनन् गरि रहेको वडा अध्यक्ष थारूले बताए ।

ताजा समाचार

सम्बन्धित समाचार