Sunday, October 27, 2024

सर्वोच्चको ढिलासुस्तीले कलंकी–नागढुंगा सडक विस्तार अन्यौलमा

काठमाडौँ – सर्वोच्च अदालतले तीन वर्षसम्म पनि अन्तिम फैसला नगर्दा कलंकी–नागढुंगा सडक खण्डका स्थानीयवासीले कहिलेसम्म प्रदूषणमा बस्नुपर्ने अझै टुंगो छैन् ।

जनचासो र जनस्वास्थ्यसँग प्रत्यक्ष जोडिएको यो विषयमा सर्वोच्चले तत्काल बाटो खोल्नु पर्नेमा सो हुन सकिरहेको छैन्। काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले चार लेनसहित २२ मिटर फराकिलो बाटो बनाउन सुरु गरेको थियो।

तर २०७२ फागुन ११ गते सडक विस्तार गर्दा घर पूर्णरुपमा नष्ट हुने र उक्त क्षति रोक्नुपर्ने भन्दै स्थानीयवासीले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेपछि सर्वोच्चले सडक विस्तारलाई स्थगित गर्न आदेश दिएको थियो । ४७ जना स्थानीयवासीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाई रिट निवेदन दायर गरेका थिए।

मोफसलबाट काठमाडौँ जोड्ने मुख्य नाका मध्येको एक को नागढुंगा नाका । जहाँबाट दैनिक हजारौँको संख्यामा सवारी आवत जावत हुन्छन् । तर काठमाडौँ प्रवेश गर्नासाथ सडकको स्थिति हेर्ने हो भने भर्खरै सडक खन्दै गरेको ग्रामिण भेगमा पुगेको भान हुन्छ। देशको राजधानी प्रवेश गर्ने नाकाको सडक अहिले लथालिंग अवस्थामा छ ।

कलंकीदेखि नागढुंगासम्मको उक्त सडकखण्ड जम्मा नौ किलोमिटर छ । तर त्यही नौ किलोमिटर सडक पार गर्न पनि सवारीसाधनलाई झण्डै दुई घण्टा लाग्छ । बनाउने नाममा भएका बाटोलाई पनि बिगारेर आवत जावतमा झनै समस्या थपिएको छ ।

कलंकी–नागढुंगा सडकखण्ड निर्माण कार्य सुरु भएको वर्षौ भइसक्दा पनि स्तरोन्नती हुन नसकेपछि स्थानीयहरू सडक चाँडै निर्माण गर भन्दै आन्दोलित भइरहेका छन् । एकातर्फ स्थानीय आफैँले गरेको रिट दर्ताले रोकिएको उक्त विस्तार योजना अर्कोतर्फ स्थानीय आफैँ छिटो बनाउन माग गरिरहेका छन् ।

यसरी स्थानीय र सर्वोच्चको किचलोले गर्दा बन्न नसकेको उक्त सडकबाट उत्पन्न हुने प्रदूषणको मारमा भने यात्रु तथा स्थानीय आफैँ परेका छन् । निकै नै व्यस्त सडक मध्येको एक यो सडक पानी परे हिलाम्य र घाम लागे धुलाम्य हुने गर्दछ ।

नौ किलोमिटर लामो उक्त सडक खण्डको ५ किलोमिटर भित्र पर्ने घरहरू नभत्काइएको कारण पूर्ण रुपमा सम्पन्न गर्न नसकेको बताउँछन् सडक विभागका प्रवक्ता मुक्ति गौतम । उनी भन्छन्, ‘ स्थानीयले रिट दर्ता गरेपछि सर्वोच्चले रोकेको ५ किलोमिटर बाहेको अन्य स्थानमा भने हामी काम गरिरहेका छौँ, ४ किलोमिटर बाटो अब अन्तिम चरणमा पुगेको छ ।’ मौसमले गर्दा पनि सडक विस्तारलाई असर पुर्याइरहेको उनको धारणा छ । ‘आजभोलीमै सकाउने गरी काम गरेका थियौँ तर चैतदेखि नै निरन्तर रुपमा पानी परिरहेको छ, त्यसले गर्दा सडक पिच तथा अन्य कार्य गर्न अप्ठ्यारो परिरहेको छ,’ सडक विस्तारमा आएको समस्याबारे बोल्दै उनले भने।

साथै उनले सर्वोच्चको ढिलासुस्तीले गर्दा ५ किलोमिटर बाटो अन्यौलमा परेको बताउँछन् उनी, ‘सर्वोच्चले चाँडै नै फैसला सुनाएर क–कसलाई मुआब्जा दिनुपर्ने सरकारले दिनुपर्यो त्यसपछि मात्र काम अगाडि बढ्छ’।

ताजा समाचार

सम्बन्धित समाचार