Wednesday, March 12, 2025

हिउँचितुवासँगको द्वन्द्वले संकटमा पशुपालन

१८ फागुन, मुस्ताङ
पछिल्लो समय उपल्लो मुस्ताङमा हिमचितुवा र मानवबीचको द्वन्द्वले पशुपालन व्यवसाय संकटमा पर्न थालेको छ ।

हिमचितुवाको आतंकले स्थानीय पशुधनमाथि आक्रमण गरी पटक–पटक क्षति तुल्याउने घटना दोहोरिँदा उपल्लो मुस्ताङका किसानको सदियौँ पुरानो पशुपालन व्यवसाय संकटमा पर्न थालेको हो । जिल्लामा हिमचितुवाको एकीन तथ्यांक छैन ।

अन्नपूर्ण सरक्षण क्षेत्र आयोजना (एक्याप)को स्वामित्वमा रहेको उपल्लो मुस्ताङमा हिमचितुवाले चरन क्षेत्र, खर्क र पशु गोठमै पसेर पशुधनको क्षति गरिदिँदा उपल्लो मुस्ताङका पशुपालक किसानको व्यवसाय नै लोप हुने खतरा बढेको हो । जलवायु परिवर्तनले हिमाली उच्च लेकमा चरन क्षेत्र साँघुरिँदै जान थालेको, चरन क्षेत्रमा घाँस पलाउन छाडेको र घाँसको खोजीमा हिमचितुवाको मुख्य आहार नाउर बस्ती तल झर्ने गरेको पाइएको छ ।

हिमालकी रानी हिमचितुवा आहारको खोजीमा नाउरलाई पछ्याउँदै बस्तीसम्म आइपुग्दा घरपालुवा पशुचौपाया क्षति हुने जोखिम बढेको हो । तर संरक्षिणविद्हरूले हिमचितुवा सडक र बस्तीमा झर्नुमा फरकफरक भनाइ राख्ने गरेका छन् । पछिल्लो २ वर्षयता उपल्लो मुस्ताङमा हिमचितुवा सडक र बस्ती नजिक देखिन थालेका छन् ।

गत वर्ष मुस्ताङमा २ वटा हिमचितुवा कागबेनी गाउँ नजिकै देखापरेको थियो । हिमचितुवा दिनदहाडै सडक र बस्तीमा देखिन थालेपछि स्थानीय पशुपालकले पालन गरेका घरपालुवा घोडा, खच्चड, याकचौँरी, भेडाच्यांग्रालगायतमा क्षति हुने जोखिम बढेको हो ।

२ वर्षअघि लोघेकर दामोदरकुण्ड–२ ढाक्मरमा स्थानीय किसान मिङमार गुरुङको ७९ वटा च्यांग्रा हिमचितुवाले आक्रमण गरी मार्यो ।

तारबारसमेत लगाइएको च्यांग्रा गोठमा जाली नाघेर चारवटा हिमचितुवा खोरमा पसेर गुरूङको ठूलो संख्यामा च्यांग्रा क्षति पुर्यायो ।यस्तै, चालु वर्ष फागुनको पहिलो हप्ता मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–३ समरका स्थानीय पशुपालक नवीनकुमार गुरुङको गोठमा रहेको ३३ वटा च्यांग्रामध्ये चारवटा हिमचितुवाले आक्रमण गरी मार्यो । नवीन र मिङ्मार केवल प्रतिनिधि पात्रमात्र हुन् ।

मुस्ताङमा हिमचितुवाले लोमान्थाङ, लोघेकर दामोदरकुण्ड, वारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङका दर्जनौँ पशुपालक किसानलाई हिमचितुवा र अन्य वन्यजन्तुले पशुधनमा क्षति तुल्याउन गरेको छ । यसैका कारण मुस्ताङमा घरपालुवा पशुपालन व्यवसायमा हिमचितुवा र वन्यजन्तुको थप जोखिम बढेको हो ।

राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)लोमान्थाङले चालु आवको १० महिनामा हिमचितुवाले १३ वटा पुशधनमा क्षति तुल्याएको बताएको छ । एक्याप लोमान्थाङ कार्यालय प्रमुख उमेश पौडेलका अनुसार चालु आव २०८१/८२ को साउनदेखि माघ मसान्तसम्ममा ३ वटा घोडा, ६ वटा च्यांग्रा र ४ वटा याकलाई हिमचितुवाले आक्रमण गरी क्षति बनाएको छ ।

यसैगरी गत वर्ष उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाअन्तर्गतका विभिन्न पशुपालक किसानको कूल १ सय ८० वटा पशुधनमा हिमचितुवाले क्षति बनाएको छ । एक्याप कार्यालय लोमान्थाङको रेकर्डअनुसार गत वर्ष घोडा १४, च्यांग्रा १ सय ५४ र १२ वटा भेडा हिमचितुवाले मारेको थियो । मुस्ताङमा आव २०७९/८० मा मुस्ताङका ५ वटै पालिका गरी १३ घरपरिवारका ६५ पशुधनमा क्षति भएको थियो ।

जिल्लाको पुख्र्यौली व्यवसायका रूपमा याकचौँरी, घोडा र भेडाच्यांग्रा पालन गर्ने गरिएको छ । यो यहाँको आर्थिक व्यवसायका रूपमा मात्र सीमित छैन, हिमाली संस्कृतिसँग पनि जोडिएको छ । यसरी पालन गरिएका याकचौँरी र भेडाच्यांग्रा पशुपालक किसानलाई एक्याप कार्यालयले आवश्यक प्रक्रिया पुर्याएर नियमानुसार राहत वितरण गर्ने गरेको छ ।

तर, एक्यापले वन्यजन्तु क्षतिको राहत वितरण गर्ने गरेको भए पनि उपल्लो मुस्ताङका पशुपालकले राहतका लागि एक्यापको सम्पर्क आउनेको संख्या कम भएको एक्याप लोमान्थाङका कार्यालय प्रमुख पौडेलको भनाइ छ । उनले वन्यजन्तुपीडित घटना घटे पनि राहतको लागि सम्पर्क आउन नसक्दा वन्यजन्तुको क्षति एकीन तथ्यांक संकलन गर्न समस्या पर्ने गरेको बताए।

‘हामीले वन्यजन्तु क्षति भएमा समुदायमा रिपोर्ट गर्न भनेका छौँ, संरक्षण क्षेत्र व्यवस्थापन समिति र प्रहरी युनिट पनि छन्, एक्याप लोमान्थाङ प्रमुख पौडेलले भने, ‘वन्यजन्तु क्षतिका विवरण संकलनदेखि सबै कागजी प्रक्रियाका एक्याप कार्यालयले कर्मचारी खटाएर सहजीकरण गर्छ ।’ अब चाँडै वन्यजन्तु क्षति रकम आउने र त्यसलाई समुदायमा पुगेर पीडितलाई वितरण गरिने उनले बताए ।

एक्याप लोमान्थाङअन्तर्गत उपल्लो मुस्ताङका वन्यजन्तु पीडितले २ वर्षयता राहत पाउन नसके पनि एक्याप जोमसोम कार्यालयले भने वन्यजन्तुपीडितलाई निरन्तर क्षति राहत वितरण गर्दै आइरहेको छ । पशुधनको क्षति भएमा एक्याप कार्यालयको रोहबर, प्रहरी, संरक्षण व्यवस्थापन समिति र पशु भेटेरिनरी अस्पतालका पशु चिकित्सक लगाएको उपस्थिति क्षति लागत अनुमान गरी राहत वितरण गर्ने गरिन्छ ।

एक्यापले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा ३३ ‘क’ले दिएको अधिकार प्रयोग गरी वन्यजन्तु क्षति निर्देशिका, २०८० कार्यान्वयनमा ल्याएको छ । वन्यजन्तुपीडितलाई राहत वितरण गर्ने प्रक्रियालाई सहज र व्यवस्थित गर्ने उद्देश्यले कार्यान्वयनमा आएको नयाँ निर्देशिकाले पशुपालक किसानलाई राहत उपलब्ध गराउन टेवा पुग्ने एक्यापको भनाइ छ ।

सुन्दरकुमार थकाली/रासस

ताजा समाचार

सम्बन्धित समाचार