Tuesday, February 11, 2025

बँदेलले बस्तीमा सकस

२८ माघ, महोत्तरी
एक दशकयता गाउँबस्ती छेउछाउ बँदेलको संख्या बढ्नेक्रम जारी छ । सुरूमा सिकारीको चहलपहल छल्न र आहाराको खोजीमा बस्ती पसेका बँदेल गाउँबस्तीमै रमाएर आफ्नो बासस्थान बिर्सन थालेका छन् ।

बँदेलका शाखा सन्तान यतै वृद्धि भएपछि बस्ती नजिकका झाडी यिनको बासस्थान बनेको स्थानीयको भनाइ छ । ‘हाम्रो गाउँको पुछारका झाडीमा बँदेलका ३/४ पुस्ता देखिन्छन्’, जलेश्वर–५ चौरियाका ७५ वर्षीय रहिमन मण्डल भन्छन्, ‘यिनलाई किसानले लगाएका बाली आहारा छँदैछ, बस्न झाडी खोज्छन्, अनि किन सम्झुन् वनजंगल ।’

सीमाक्षेत्रका चौरिया, पतैली, मुसरपट्टि र खैरासम्मका बस्ती नजिक अब झुण्ड–झुण्डमा बँदेलको स्थायी बसोबास बढेको उनले बताए । भारततर्फको पूर्व मटिहानीदेखि पश्चिमको खैरवनीसम्मको करिब ३९ किलोमिटरसम्म बँदेलको सघन उपस्थिति छ । अझ नदीउकास क्षेत्रका काँस झाडीमा झन् बढी बँदेल देखिने गरेको खैरवनीका बासिन्दा कौशीलाल यादव बताउँछन् । नेपालतर्फ मात्र नभएर सीमापारिका भारतीय बस्तीमा पनि उल्लेख्य संख्यामा बँदेल देखिने गरेको उनको भनाइ छ ।

बर्दिबासबाट १५ किलोमिटर दक्षिणको भंग्रहा नगरपालिका क्षेत्रका अधिकांश बस्तीमा अहिले बँदेलको आतंक छ । उखु नकाटिउन्जेल त्यसैको घारीमा बस्ने बँदेल एक ठाउँको उखु काटिएपछि अर्कोतिर बास सारेर बस्ने गरेका भंग्राह–४ का ६५ वर्षीय मुकुन्द दाहालले बताए । बँदेल आतंकले घाँसपात गर्न, खेतबारी हेरविचार गर्न र घुमफिरमा निस्कन डरमर्दो भएको उनको भनाइ छ ।

तर, ५/७ वर्षअघि भर्खर वनबाट बस्ती नजिक आएका बँदेलको जस्तो जंगली व्यवहार भने अहिले यस क्षेत्रमा पाइने बँदेलमा नरहेको दाहालको अनुभव छ । बँदेलले धेरैजसो ससाना केराका कोथा, कोवी, गहुँ, हरिया तरकारीका बोट उखेलेर खाने गरेको किसानको गुनासो छ । ‘हामीले यिनको आतंकले पछिल्ला ४/५ वर्षयता राम्ररी बाली लिन पाएका छैनौँ’, रामगोपालपुर–२ मोहनपुरका मोहम्मद कादिर हुसैन भन्छन्, ‘अब त यिनकै लागि बाली लगाएजस्तो भएको छ ।’

बँदेलजस्तै नीलगाई पनि जिल्लाका दक्षिणी बस्तीसम्म बाक्लै भेटिन्छन् । नीलगाई चाहिँ वनतिर ओहोरदोहोर गरिरहेका अवस्थामा भेटिने गरेको औरही नगरपालिका–४ बैरियाका रामस्नेही यादव बताउँछन् । ‘बँदेल त यतै स्थायी रूपले बस्न थालेका छन्, नीलगाई भने यता चरेर केही दिनको फरकमा वनतिर आउनेजाने गरिरहेका बुझिन्छ’, उनी भन्छन्, ‘यद्यपि नीलगाई पनि ठाउँठाउँमा निकै संख्यामा देखिन्छन् ।’

अब बँदेल र नीलगाई वन्यजन्तु नभएर बस्ती वरपर बसोबास गर्ने जन्तुसरह बनेका यादवसहितका सो बस्तीका बासिन्दा बताउँछन् । जिल्लाका १५ वटै स्थानीय तहका बस्ती वरपर अहिले बँदेल र नीलगाईको उत्पातले किसान दिक्क छन् । यिनको नियन्त्रणमा सरकारले पहलकदमी नलिएको किसानको दुःखेसो छ । ‘हामी स्थानीय तह, प्रहरी, प्रशासनमा हारगुहार गरेको गरिरहेका छौँ’, बलवा नगरपालिकाको रौजाका मन्सुल कवारी भन्छन्, ‘तर भरपर्दो कुनै उपाय खोजिएको देखिँदैन ।’

बँदेल, नीलगाईसँगै अब दुम्सी पनि गाउँबस्ती नजिक बाक्लै देखिन थालेका छन् । दुम्सीको बासस्थान पनि उखुघारी र काँसझाडी नै हुने गरेको स्थानीय बताउँछन् । वनमा मानव चहलपहल बढ्दै जानु, सिकारीको आक्रमण बढ्नु, पानी र आहाराको कमी हुँदै जानुले वन्यजन्तु गाउँबस्तीतिर आउनेक्रम बढेको भंग्रा हा–५ सीतापुरका स्थानीय एवं पूर्व सह–सचिव रामबहादुर भुजेलको ठम्याइ छ ।

रासस

ताजा समाचार

सम्बन्धित समाचार