२७ माघ, काठमाडौं
देशकै ठूलो तरकारी बजार कालीमाटीको विषादी अवशेष द्रूत विश्लेषण प्रयोगशालाले तरकारी परीक्षणको रिपोर्ट उपभोक्ताले खाइसकेपछि मात्रै सार्वजनिक गर्ने गरेको छ ।
केन्द्रीय कृषि प्रयोगशाला अन्तर्गतको उक्त प्रयोगशालाले बजारमा भित्रिएकामध्ये केही तरकारीको नमूना संकलन गरी परीक्षणको रिपोर्ट निस्किँदासम्म त्यो तरकारी उपभोक्ताले खाइसक्ने गरेको पाइएको हो । गत साता (बिहीबार) कालीमाटी फलफूल तथा तरकारी बजारमा सर्लाहीबाट भित्रिएका गोलभेँडाको नमूना परीक्षणको रिपोर्टमा खान नहुने विषादी भेटियो ।
विषादीको रोकावट दर ३५ प्रतिशतभन्दा बढी हुनुलाई खान अयोग्य मानिन्छ । परीक्षणको रिपोर्टमा ‘अर्गानोफन्टफेट’ नामक विषादीको अवशेष ८३.६५९ र ७२.७५३ प्रतिशत भेटियो । प्रयोगशालाले सर्लाहीका किसानहरू प्रेम गोपाली र धानचरी लामाले ल्याएको गोलभेँडा परीक्षणपछि घातक विषादी भेटिएकाले नष्ट गर्नुपर्ने रिपोर्ट कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिसमक्ष बिहान ६ बजे बुझायो ।
समितिका सुरक्षागार्डसहित तरकारी स्टलमा ८ बजे पुग्दा घातक विषादी भेटिएको गोलभेँडा सबै बजार हुँदै उपभोक्ताको भान्सामा पुगिसकेको थियो । थोरै बाँकी रहेको गोलभेँडा समितिको नेतृत्वमा नष्ट गरियो । कालीमाटी समितिका अनुसार बजारमा सामान्यतया तरकारी राति १२ देखि बिहान ३ बजेभित्र आइसक्छ । बिहान ३ बजेदेखि ६/७ बजेसम्म बजारमा भित्रिएको लगभग सबै तरकारी स्थानीय बजार, खुद्रा बजारहुँदै उपभोक्ताको भान्सामा पुगिसक्छ ।
तरकारी भान्सामा पु-याइसकेपछि बल्ल विषादी परीक्षण भएको रिपोर्ट सार्वजनिक हुने गरेको यो पहिलो घटना भने होइन । कालीमाटीमा मात्र होइन, केन्द्रीय प्रयोगशाला अन्तर्गतका सबै प्रयोगशालामा परीक्षण गर्ने शैली यस्तै रहेको स्वयं प्रयोगशालाका कर्मचारी स्वीकार्छन् ।
कालीमाटी फलफूल तथा तरकारी बजार थोक व्यापारी संस्थाका अध्यक्ष गीताप्रसाद आचार्यले पनि हाल प्रयोगशालाले गर्दै आएको परीक्षणको प्रभावकारिता कमजोर हुँदै गएको बताए । राति आएको तरकारी बिहान ३ बजेदेखि स्थानीय बजारमा पु-याउन थालिन्छ । प्रयोगशालाका कर्मचारी ६/७ बजे आएर नबिकेका तरकारीको नमूना लिएर परीक्षण गरी खान नहुने प्रतिवेदन दिएर केही अर्थ हुँदैन ।
उनले प्रश्न गरे, ‘बजारबाट लगिएको तरकारी ८ बजेसम्म भान्सामा पाकेर उपभोक्ताले खाइसक्छन् । उपभोग गरिसकेको तरकारीमा खान नहुने विषादी भेटियो भनेर प्रतिवेदन दिएर केही अर्थ छ ?’ केन्द्रीय कृषि प्रयोगशालाका प्रमुख शान्ता कार्कीले प्रयोगशालामा काम गर्ने कर्मचारीको सुरक्षाको सुनिश्चितता भए आफूहरूलाई राति प्रयोगशाला सञ्चालन गर्न कुनै समस्या नहुने बताइन् ।
राति प्रयोगशाला सञ्चालनका लागि कर्मचारीलाई सुरक्षा दिने विषयमा एक/दुई चरणमा कालीमाटी समितिसँग कुरा भएको र प्रक्रियामा रहेको जानकारी प्राप्त भएको उनको भनाइ छ । ‘राति आएका तरकारी परीक्षण गरेर प्रतिवेदन तयार गरौँला तर दिएको प्रतिवेदन अनुसार तरकारी नष्ट हुन्छ कि हुँदैन, त्यो पनि सुनिश्चित हुनुपर्ला नि ?’, उनले थपिन् ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले राति प्रयोगशाला सञ्चालन भएमा तरकारी नष्ट गर्न समिति तयार हुने जनाएको छ । बजारमा सुरक्षागार्डदेखि कर्मचारी रातिदेखि काम गरिरहेको हुने भएकाले प्रयोगशालामा काम गर्ने कर्मचारीलाई यहाँभित्र आएपछि असुरक्षा नहुने समितिले जनाएको छ ।
कालीमाटी प्रयोगशालामा कार्यरत कर्मचारी भने तरकारी परीक्षणका लागि नमूना लिनसमेत आफूूहरूलाई समस्या भएको बताउँदै आएका छन् । केन्द्रीय कृषि प्रयोगशालाका अनुसार पछिल्लो पटक उपत्यका भित्रिने तरकारीमध्ये रायो साग, पालुंगो, चम्सुर, मेथी साग, गोलभेँडा, घिउसिमी, पाटे सिमी, ब्रोकाउलीलगायतमा खान नहुने विषादीको अवशेष भेटिएको छ ।
केन्द्रीय कृषि प्रयोगशाला अन्तर्गत कालीमाटीबाहेक बिर्तामोड, बुटवल, पोखरा, सर्लाही, नेपालगन्ज, अत्तरियासहितका १२ स्थानमा प्रयोगशाला सञ्चालनमा ल्याइएको छ । तत्कालीन मुख्यसचिव लीलामणि पौडेलको पहलमा २०७१ सालको असार अन्तिम साता कालीमाटी तरकारी बजारमा द्रूत विषादी परीक्षण प्रयोगशाला स्थापना गरिएको थियो ।
गोरखापत्र दैनिक