२४ माघ, ललितपुर
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बाँसले हरित अर्थतन्त्रको प्रवद्र्धन र वातावरणमैत्री समाज निर्माणमा योगदान पु-याउने विश्वास व्यक्त गरेका छन् ।
खोटाङको दिक्तेलमा आगामी फागुन १५, १६ र १७ गते ‘प्रथम राष्ट्रिय बाँस सम्मेलन’को जानकारी दिन आयोजित पूर्वतयारी कार्यक्रममा उनले आर्थिक दिगोपनाका लागि हरित अर्थतन्त्र महत्वपूर्ण हुने धारणा राख्दै सहर केन्द्रित सम्मेलनलाई बाँस सम्मेलनले चुनौती दिएको उल्लेख गरे ।
बाँससम्बन्धी विषयवस्तुमा आधारित रहेर खोटाङमा आयोजना हुने सम्मेलनले नयाँ अभ्यास र हरित अर्थतन्त्रलाई प्रोत्साहन गर्ने अधिकारीले धारणा राखे । ‘दैनिक जीवन बाँस उपयोगी र दिगो हुन्छ, आर्थिक दिगोपनाका लागि हरित अर्थतन्त्रलाई प्रवद्र्धन गर्न यसको भूमिका महत्वपूर्ण हुन्छ ।
पूर्वमन्त्री गणेश साहले धर्म, संस्कृति, परम्परा, घरेलु तथा साना उद्यमलगायत जनजीविकासँग जोडिएको बाँसका वहुउपयोगी आयामिक पाटो रहेको उल्लेख गर्दै बाँसमा आधारित उद्योग प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वासका साथ सम्मेलन तय भएको जानकारी दिए ।
वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रका महानिर्देशक डा. राजेन्द्र केसीले बाँसलाई ‘हिमालयन बाम्बो ब्रान्ड’ बनाएर अन्तरर्राष्ट्रिय बजारमा निर्यात गर्न सकिने भएकाले सम्मेलन उपलब्धिमूलक हुने विश्वास व्यक्त गरे । बाँसको मानव जीवन र जनजीविकासँग अन्योन्याश्रित सम्बन्ध रहेको बताउँदै उनले ग्रामीण क्षेत्रमा आवश्यकता र सहरी क्षेत्रमा सौखका रूपमा बाँसका सामग्रीको प्रयोग बढ्दै गएको उल्लेख गरे ।
उनका अनुसार नेपालमा २३ जातिका ८१ प्रजातिका बाँस पाइन्छन् । संसारमा पाइने बाँसमध्ये नेपालमा १९ प्रतिशत अभिलेख छन् ।
तराईदेखि पहाड र हिमालमा पनि पाइने बाँसलाई गरिबको साथी मात्रै नभई धनीहरूको सौख पूरा गर्ने वस्तुका रूपमा प्रचारप्रसार गरी यसको प्रवद्र्धनमा जोड दिनुपर्ने बताएका केसीले आयात, निर्यात क्षेत्रमा बाँसको भूमिका महत्वपूर्ण बनिरहँदा यसबाट बन्ने धेरै सामग्रीबाट प्रशस्त फाइदा लिन सक्नुपर्ने धारणा राखे ।
ग्रीन बम्बो क्रियशन प्रालिका प्रतिनिधि प्रदीप दंगालले बाँस छिटो हुर्कने वनस्पति भएकाले बाँसलाई केन्द्रमा राखी आर्थिक समृद्धि हासिल गर्न सकिने बताए । ‘नेपाली समाजमा जन्मदेखि मृत्युुसम्म बाँसको उपयोग हुन्छ, रूखले भन्दा बढी अक्सिजन दिने र कार्वन उत्सर्जन गर्ने बाँसको बजार व्यवस्था फैलिन सकेको छैन’, उनले भने ।
सम्मेलनका लागि करिब डेढ वर्षदेखिको तयारी भइरहेको गरिरहेको बताउँदै दंगालले नीति निर्माण तहमा प्रभाव पार्न सम्मेलनले हरित अर्थतन्त्रको प्रवद्र्धन गर्दै स्वच्छ र वातावरणमैत्री समाज निर्माणमा योगदान पुग्ने विश्वास व्यक्त गरे । बाँससम्बन्धी विविध सम्भावना, अवसर र चुनौतीको खोजी गर्ने, बाँसको खेतीलाई सुधार र विस्तार गर्दै अन्य खेती हुन नसक्ने जग्गामा बाँसखेती विस्तार गर्ने, बाँसबाट प्राप्त हुने विविध वस्तु तथा सेवाको प्रदर्शनी सम्मेलनमा हुने दिक्तेल नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले जानकारी दिए ।
बाँसखेती गर्ने किसानको प्रवद्र्धन र प्रोत्साहनका लागि सरोकार भएकाहरूको ध्यानाकर्षण गर्दै आवास तथा सामग्री उत्पादनमा बाँसको उपयोगिता बढाउने सम्मेलनको उद्देश्य रहेको उनले बताए । सम्मेलनमा एक सय सरकारी तथा गैरसरकारी निकाय, एक सय वन उपभोक्ता समूह, ५० विश्वविद्यालय तथा अनुसन्धान केन्द्र, एक सय विद्यार्थी सहभागी हुने छन् ।
रासस