Monday, October 21, 2024

३ वटा हिमालबाट ११ टन फोहोर संकलन

२४ जेठ, काठमाडौं

सफा हिमाल अभियान अन्तर्गत नेपाली सेनाले ३ वटा हिमालबाट ११ टन फोहर संकलन गरेको छ । सगरमाथा, ल्होत्से र नुप्त्से हिमालको सफाइबाट ११ हजार किलो फोहोर, ४ वटा शव र एउटा मानव अस्थिपञ्जर संकलन भएको हो ।

२ हजार २ सय २६ किलो फोहोर कुहिने प्रकृतिको भएकाले सो फोहोर सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी) लाई बुझाइएको छ । सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार ८ हजार ७ सय ७४ किलो नकुहिने फोहोरको व्यवस्थापन गर्न एभ्नी भेन्चर प्रालिले जिम्मा लिएको छ । शव र मानव अस्थिपञ्जर त्रिवि शिक्षण अस्पताललाई बुझाइएको निर्देशनालयले जनाएको छ ।

नेपाली सेनाले ५५ दिनको अवधिमा विभिन्न प्रकृतिको फोहोर संकलन गरेको हो । गत २९ चैतबाट सुरु भएको हिमाल सफाई अभियान बुधबार (२३ जेठमा) विश्व वातावरण दिवसको अवसर पारेर समापन भएको हो ।

सेनाले विगत ५ वर्षयता सगरमाथासहित विभिन्न हिमाल सफाई गर्दै आएको छ । यसपटक अभियानको नेतृत्व सेनानी आदित्य कार्कीले लिएका थिए । सफाइका लागि १२ जना सैनिक र एक शेर्पासहितको टोली कार्यक्षेत्रमा खटेको सेनाका प्रवक्ता एवं सहायक रथी गौरवकुमार केसीले जानकारी दिए ।

यसपटक १० हजार किलो फोहोर संकलन गर्ने लक्ष्य रहेकोमा लक्ष्य भन्दा बढी संकलन भएको बुधबार सैनिक मुख्यालयमा आयोजित कार्यक्रममा केसीले बताए । ५ वर्षको अवधिमा विभिन्न हिमालबाट १ लाख १९ हजार केजी कुहिने र नकुहिने फोहोर संकलन भएको उनले जानकारी दिए ।

नेपाली सेनाले २०३२बाट वन, वातावरण क्षेत्रको संरक्षण गर्दै आएको स्मरण गर्दै प्रधान सेनापति प्रभुराम शर्माले वातावरण संरक्षण विश्वव्यापी चुनौति भएको बताए । हिमालको संरक्षण समयमा गर्न नसक्दा त्यसको असर आगामी पुस्ताले समेत भोग्नुपर्ने बताएका उनले भने, ‘हामी सबै मिलेर हाम्रा हिमालको संरक्षण गरेनौ भने त्यसको असर वर्षाैसम्म देखिन्छ ।’

ताजा समाचार

सम्बन्धित समाचार