Monday, October 21, 2024

चुरेलाई पुनःजिवन दिन वृक्षरोपण

२३ जेठ, धनुषा
चुरे क्षेत्रको जैविक विविधता खस्किरहेका बेला चुरेलाई पुनःजिवन दिन वृक्षरोपण गरिएको छ । धनुषाको लालगढ–९ स्थित बडहरी खोला किनारको बाँझो जमीनमा बर, पीपल, अमला, कटहर, आँप, निम, बकाइनो, लगायतका रैथाने प्रजातिका विरूवा रोपिए ।

खोला किनाराको जमिन संरक्षण गर्ने उद्देश्यले विश्व वातावरण दिवसको अवसरमा विभिन्न प्रजातिका १ सय हाराहारी विरूवा रोपिएका छन् । ढल्केबरस्थित नेपाल प्रहरीको विशेष सुरक्षा गणको खोला किनारामा रोपिएका विरूवाको संरक्षण र हेरचाह सोही गणले गर्ने प्रतिबद्धता जनाएको छ ।

उजाड भूमिमा वृक्षरोपण गरिए पनि विरूवा जोगाउने प्रतिबद्धता जनाउँदै विशेष सुरक्षा गणका प्रहरी उपरीक्षक नरेन्द्र कार्कीले भने, ‘वृक्षरोपण गरिएको क्षेत्र प्रहरी गणको विशेष सुरक्षा घेराभित्र छ । हामी यहाँ नजिकै छौँ र एउटा पनि विरूवा मर्न नदिने वाचा गर्छौ ।’ मधेस प्रदेशको वन तथा वातावरण मन्त्रालयका सचिव उद्धवबहादुर घिमिरेले विरूवा रोपेर शुभारम्भ गरेको कार्यक्रममा सुरक्षाकर्मी, जनप्रतिनिधि, चुरे उत्थानशील आयोजनाका अधिकारी र अन्य सरोकारवाला सहभागी भए ।

संयुक्त राष्ट्रसंघले यो दशकलाई पुनःस्थापनाको दशकका साथ विश्वव्यापीरूपमा विभिन्न कार्यक्रम तय गरिरहँदा नेपालमा पनि मरूभूमिकरण घटाउने, पारिस्थितिकीय प्रणालीलाइ पुनर्जीवित गर्ने, र उत्थानशीलताको प्रवद्र्धनजस्ता कार्यक्रम प्राथमिकतामा रहेको सचिव घिमिरेले बताए ।उनले भने, ‘सबैले मिलेर अभियानका रूपमा स्थानीयस्तरमा यो काम गर्यौँ भने यो सम्भव छ ।’

जलवायु उत्थानशीलताको वृद्धि गर्ने उद्देश्यले यो क्षेत्रमा वृक्षरोपण गरिएको चुरे उत्थानशीलता आयोजनाका मधेस प्रदेश संयोजक चुडामणि खतिवडाले जानकारी दिए । सो आयोजनाले चुरे क्षेत्रका २६ वटा नदी प्रणालीमा जलवायु उत्थानशीलको वृद्धि गर्ने उद्देश्यका साथ विभिन्न कार्य गर्दै आएको छ । आयोजनाले आफ्नो कार्यक्षेत्रमा नर्सरी स्थापना तथा वृक्षरोपण गर्दै आएको छ ।

मधेस प्रदेशमा आयोजनाका १० वटा ठुला र १४ साना कृषि वन (निजी) नर्सरी स्थापना गरिएका छन् । यी नर्सरीमा १० लाख भन्दा बढी विरुवा रहेका र अधिकांश रैथाने प्रजाति भएका आयोजनाले जनाएको छ । वृक्षरोपण गर्न चाहने व्यक्ति/समूहलाई निःशुल्क विरूवा वितरण हुँदै आएको आयोजनाका मधेश संयोजक खतिवडाले जानकारी दिए ।

ताजा समाचार

सम्बन्धित समाचार