Friday, November 8, 2024

नेपालमा ‘लहरे सर्प’ को नयाँ प्रजाती फेला

काठमाडौ, बैशाख १४ (हाकाहाकी)– नेपालमा ‘लहरे सर्प’को नयाँ प्रजाति फेला परेको छ ।

स्थानीयवासीले सुगा वा उडुवा सर्प भनेर चिन्ने उक्त लहरे सर्प पहिलो पटक शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको लरिघाट क्षेत्रमा फेला परेको हो ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत लक्ष्मणप्रसाद पौड्याल, रेञ्जर यामबहादुर रावत तथा राष्ट्रिय प्रकृति संरक्षण कोषका डा नरेश सुवेदी, कोषका संरक्षण अधिकृत सन्तोष भट्टराई सम्मिलित टोलीले उक्त सर्पको पहिचान गरेको हो ।

विश्वमा जम्मा १० प्रजातिका लहरे सर्प पाइन्छन् ।
। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख लक्ष्मणप्रसाद पौडेलले दुई वर्षदेखि सरिसृप र उभयचरको अध्ययनका क्रममा यसरी नयाँ प्रजातिको सर्प फेला परेको जानकारी दिनुभयो ।

उक्त प्रजाति नेपालबाहेक भारतमा मात्र फेला परेको छ । उहाँका अनुसार शुल्लाफाँटाका लागि योसहित ११ सर्प, चार भ्यागुता, एक कछुवा, एक छेपारो र एक भालेमुङ्ग्रो नयाँ फेला परेको छ ।

यो प्रजाति सन् २०१९ मा विश्वमै पहिलो पटक भारतको उडिसा र राजस्थानमा फेला परेको थियो ।

दोस्रो पटक भारतकै गुजरातमा भेटिएको थियो ।

लहरे सर्प लौकाको सुकेको डाँठ जस्तो देखिने र भारतको उडिसामा लौकालाई स्थानीय भाषामा लौडङ्का भन्ने गरेकाले सर्पको वैज्ञानिक नाम अहेतुल्ला लौडाँकिया भनेर नामकरण गरिएको छ ।

नेपालमा पहिलो पटक शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा फेला परेको यो प्रजाति पुनः बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पनि भेटिएको थियो ।

पछिल्लो पटक चितवन राष्ट्रिय निकुञ्जको पटना ताल र लामीताल क्षेत्रमा समेत फेला परेको राष्ट्रिय प्रकृति संरक्षण कोष चितवन, सौराहाका संरक्षण अधिकृत सन्तोष भट्टराईले जानकारी दिनुभयो ।

दिउँसोमा सक्रिय हुने, रुख लहरा तथा अग्ला खर घारीमा बस्ने र सुकेको लहराको डाँठ जस्तो शरीरको रङ खैरो हुने भएकाले यो सर्प सजिलै ठम्याउन गाह्रो हुने भट्टराईको भनाइ छ ।

ताजा समाचार

सम्बन्धित समाचार