Thursday, September 19, 2024

चट्टान फोरेर यसरी बन्दैछ चीनसँग जोडिने राजमार्ग (फोटो/भिडियो)


रसुवा
– चीनले सन् २०१४ मा रसुवागढी नाकालाई नेपालसँगको व्यापार र वाणिज्यको दोश्रो अन्तर्राष्ट्रिय नाकाका रुपमा खुला गर्‍यो । त्यसअगाडि नेपाल र चीनबीच झण्डै सात दशकसम्म प्रमुख व्यापारिक नाका तातोपानी थियो।

रसुवागढी नाका औपचारिक रुपमा खुलेको पाँच वर्ष भइसकेको छ। चीनतर्फ उसले उच्च प्रविधियुक्त भन्सार कार्यालय र फराकिलो बाटो निर्माण सम्पन्न गरिसकेको छ। तर, नेपालतर्फ भने कुनै सुधार भएको देखिँदैन। उही धुलो उड्ने साँघुरो सडकमा चीनबाट आउने मालवाहक ट्रकहरू कुद्ने गर्दछन्।

यद्यपी चीनसँग जोडिने राजमार्ग भने धेरै अगाडिदेखि सञ्चालनमा छ । काठमाडौँदेखि रसुवाको धुन्चे हुँदै चीनसम्म पुग्ने बाटो पासाङ ल्हामू राजमार्ग पहिलेदेखि नै चलिरहेको छ। तर, उक्त राजमार्गमा बर्खामा पहिरो जाने र हिउँदमा हिउँ पर्ने भएकाले बाह्रै महिना सवारी आवतजावत गर्न भने कठिनाइ हुँदै आएको छ। साँघुरो तथा अप्ठ्यारो बाटो, घुम्ती नै घुम्ती तथा बर्सेनी जाने पहिरोले मालवाहक ट्रकलाई उक्त मार्ग हुँदै सामान आयात निर्यात गर्न कठिन हुने गर्दछ।

त्यसैले घुम्ती र पहिरो छिचोल्नु पर्ने सडकको विकल्पमा त्रिशुलीको किनारैकिनार बेत्रावती–मैलुङ– स्याप्रुवेशी सडकको ट्रयाक खुलेको छ । माथिल्लो बाटो भन्दा २५ किलोमिटर दूरी कम पर्ने गरी गत वर्षमात्र काठमाडौंलाई चिनियाँ नाकासँग जोड्ने सबैभन्दा छोटो बाटोको ट्रयाक खुलेको हो।

ठूला ठूला चट्टान फोर्दै र पहिरो छिचोल्दै खोलिएको उक्त सडकमा हाल मालवाहक ट्रक आवतजावत गरिरहेका छन्। अहिले उक्त सडकमा बर्खाबाहेक अन्य समयमा सबै किसिमका गाडी चलाउन सकिन्छ। उक्त सडकको स्तरोन्नति, कालोपत्रे लगायतका विभिन्न काम भने बाँकी नै छ।

गतसाता हाकाहाकीकर्मी शालिक भट्ट र अमिष रेग्मीले उक्त मार्ग हुँदै यात्रा गर्ने क्रममा त्यहाँको तस्बिर/भिडियो क्यामेरामा कैद गरेका छन्।

ताजा समाचार

सम्बन्धित समाचार