Thursday, September 19, 2024

व्यक्तिगत पहल नै डेंगुबाट बच्ने सर्वोत्तम उपाय

काठमाडौँ – व्यक्तिगत पहल, जागरुकता र जनचेतना नै डेंगुबाट बच्ने सर्वोत्तम उपाय रहेको सरकारी अधिकारी र चिकित्सकहरूले बताएका छन्। हाकाहाकीसँग कुरा गर्दै उच्च सरकारी अधिकारी र चिकित्सकहरूले घर समाज र टोलबाट नै लामखुट्टे नियन्त्रण गर्ने पहल अगाडि सारिएमा डेंगु सार्ने लामखुट्टे नियन्त्रणमा आउने बताए।

यद्यपि डेंगु सार्ने लामखुट्टेको प्रकोप रहेका सम्भावित ठाउँहरूको पहिचान गरी नियन्त्रणका लागि समयमै कदम नचालेको भनि सर्वत्र आलोचना भइरहेको छ । यतिमात्र होइन भर्खरै संघीयतामा गएको सन्दर्भमा सरकारी निकायहरूकाबीचमा पर्याप्त समन्वयको अभाव तथा ग्रमीण तहमा पर्याप्त जनशक्ति र औषधिको अभाव देखिएको छ।

विशेषतः बिहान बेलुकी टोक्ने लामखुट्टेबाट डेंगु सर्ने भएकाले उक्त समयमा धेरै नै सजग रहनुपर्ने चिकित्सकहरू बताउँछन।जलवायु परिवर्तनका कारणले विश्व तापमान वृद्धि भइरहेकाले नेपालको पहाडी भूभागको पनि तापक्रम बढीरहेको र डेंगु सार्ने लामखुट्टे पहाडी भेगमा उक्लिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर प्रकाशप्रसाद शाहको भनाइ छ।

डेंगु रोग नियन्त्रणका लागि सरकारी तवरबाट भन्दा पनि व्यक्तिगत तवरबाट नै काम गर्नुपर्ने उनको धारणा छ। ‘यो स्वास्थ्यसँगको लडाइँभन्दा पनि लामखुट्टेसँगको लडाइँ हो,’ उनले भने, ‘त्यसैले हामी रोगसँग भन्दा पनि लामखुट्टेसँग सजग हुनुपर्छ।’

डेंगु लामखुट्टेको टोकइबाट सर्ने भएकाले त्यसबाट बच्न हामी आफैँ पनि त्यस विषयमा सचेत हुन आवश्यक छ। उदाहरणका लागि कुनै तराई भेगको डेंगु संक्रमित मानिस पहाडी क्षेत्रमा जाँदै गर्दा उसलाई अर्को लामखुट्टेले टोक्यो भने टोक्ने लामखुट्टेमा पनि डेंगु लाग्छ। फेरि त्यही लामखुट्टेले अर्को मानिसलाई टोक्दा उसलाई पनि डेंगु सर्छ र यो प्रकोपको रुपमा फैलिन्छ। एउटै घरका धेरै व्यक्ति एकैपटक बिरामी हुनुको कारण पनि यही हो।

यसका साथै डेंगु संक्रमित लामखुट्टेले पारेको हरेक अण्डाबाट निस्कने लार्भा(लामखुट्टे)मा पनि स्वतः रुपमा डेंगुको संक्रमण हुन्छ । एउटा लामखुट्टेले एक पटकमा ५ सय देखि एक हजारसम्म अण्डा पार्छ । र एक हजार संक्रमित लामखुट्टेले मानिसलाई टोक्दा एकैपटक हजारौँ मानिसमा डेंगु देखापर्छ। एउटा लामखुट्टेको औसत आयु एक महिनाको हुन्छ । तर, उसले एक महिनाभित्र हजारौँ मानिसलाई डेंगुको संक्रमित बनाइदिन्छ । लामखुट्टेले सफा पानीमा अण्डा पार्ने भएकाले खुला रुपमा राखिएको पानी पनि डेंगुको मुख्य कारण मध्ये एक हो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर शाह प्रतिकुल मौसम पनि डेंगु फैलनुको कारक भएको बताउँछन्। ‘जलवायु परिवर्तनका कारण अहिले गर्मी बढीरहेको छ, दिनभर गर्मी हुन्छ रातभर पानी पर्छ । यस्तो अवस्थामा लामखुट्टेले अण्डा पार्ने प्रशस्त मौका पाउँछ। एउटा संक्रमित लामखुट्टेले अण्डा पारेमा हजारौँ संक्रमित निस्कन्छ त्यसबाट अर्को हजार। हामीले पानी जम्न नदिएपनि वर्षाको पानी कहाँ कुन ठाउँमा जमेको हुन्छ भन्न सकिँदैन,’ उनले भने।

यो वर्षको साउन १ गतेदेखि हालसम्म देशभरका ४ हजार मानिस डेंगुबाट प्रभावित भइसकेका छन्। चेतनाको कमीले सजगता नअपनाउनाले डेंगुका बिरामी बढीरहेको डाक्टर शाहको बुझाइ छ। डेंगु नियन्त्रणका लागि पहिला लामखुट्टेलाई नै नाश गर्नु पर्ने हुन्छ । लामखुट्टेको नाश भनेको असम्भव कुरा हो। त्यसैले प्रत्येक व्यक्तिले व्यक्तिगत रुपमा नै सजगता अपनाउनु डेंगु नियन्त्रणको मुख्य उपाय भएको डाक्टर शाह बताउँछन्।

उनका अनुसार डेंगु नियन्त्रणका लागि सरकारी तवरबाट पनि ग्रामीण स्तरबाटै चेतनामूलक कार्यक्रमहरू भइरहेका छन्। तरपनि बिरामीको संख्या दिनानुदिन बढिरहेकाे छ। यसको मुख्य कारण भनेको मानवीय लापरवाही हो। डाक्टर शाह डेंगुबाट बच्न आफू वरपरको वातावरण सफा राख्नुपर्ने बताउँछन् । वरपर पानी जम्ने स्थान छ भने त्यसको व्यवस्थापन गर्नुपर्छ । कुनै स्थानमा पानी जमाएर राख्नु पर्ने नै भएमा त्यसलाई छोपेर राख्नुपर्ने उनको सुझाव छ।

उनका अनुसार यदि कुनै मानिसलाई डेंगु लागिहाले जतिसक्दो चाँडो नजिकको स्वास्थ्य संस्थामा गएर उपचार गराउनुपर्छ। डेंगुको छुट्टै उपचार नभएकाले पारासिटामोल तथा झोलिलो पदार्थ खानुपर्छ । यसका साथै बाहिर हिड्दा पुरै शरीर ढाक्ने खालको कपडा लगाउने, लामखुट्टेको टोकाइबाट बच्ने मलम लगाउने लगायतका उपाय अपनाउन सकिन्छ।

ताजा समाचार

सम्बन्धित समाचार