Sunday, June 30, 2024

बढ्दो वातावरणीय चुनौती

काठमाडौँ । आज विश्व वातावरण दिवस । संयुक्त राष्ट्रसंघले सन् १९७४ देखि यो दिवस मनाउन सुरु गरेको हो ।विशेषतः समकालीन वातावरणीय विषयहरूका बारेमा जनचेतना जगाउने उद्देश्यले संसारभरि नै यो दिवस मनाउने गरिन्छ ।

हरेक वर्ष मनाइने विश्व वातावरण दिवस कुनै एक विषयवस्तुमा केन्द्रित हुन्छ ।  यस वर्षको नारा “वायु प्रदूषण नियन्त्रण गरौँ” भन्ने रहेको छ । यहि नारामा आधारित रहेर विश्वभरका देशहरूले आआफ्नो नारा तय गर्ने गर्दछन् । उक्त नारामा आधारित रहेर नेपाल सरकारले ‘स्वच्छ वातावरण, स्वस्थ जीवन’ भन्ने नारा अगाडी सारेको हो । वायु प्रदूषण यतिबेला सबैभन्दा ठूलो वातावरणीय विषय बनेको छ । यही विषयलाई प्रचार प्रसार गर्ने र जनचेतना जगाउने उद्देश्यले यो नारा तय गरिएको हो ।

हरेक वर्ष विश्व वातावरण दिवस प्रभावकारी ढङ्गले मनाउने जिम्मा सहित कुनै एक देशले आयोजना गर्र्ने गर्दछ । यस वर्षको विश्व वातावरण दिवस चीनले आयोजना गरेको छ ।विश्व वातावरण दिवस मनाउनुको मुख्य उद्देश्य भनेको वातावरणमा देखिएका समस्याबारे छलफल गर्नु, संरक्षणका लागि चेतना फैलाउनु र त्यसका लागि राम्रा–राम्रा योजना तयार गरी सञ्चालनमा ल्याउनु रहेको छ । आजको दिनमा कसैले वृक्षरोपण गरेर प्रकृति बचाऔँ भन्ने नारा सहित अगाडी पनि बढ्ने गर्दछन् । संयुक्त राष्ट्रसंघका अनुसार दशमध्ये नौ जना व्यक्तिहरूले प्रदुषित हावामा स्वास फेर्ने भएकोले मृत्युको एक मुख्य कारण पनि वायु प्रदूषण बनेको छ ।

प्रदूषणले ग्रस्त वायुमा देख्न नमिल्ने स–साना कणहरू स्वास फेर्दा सिधै फोक्सोमा पुग्छन् । यसले क्यान्सर, निमोनिया, मुटु रोग साथै प्राण घातक रोग निम्त्याउने गर्दछ । विश्व स्वास्थ्य संगठनले गरेको अनुमानमा प्रत्येक वर्ष वायु प्रदूषणका कारण विश्वभर करिब ७० लाख व्यक्तिहरूको मृत्यु हुने गर्दछ । वायु प्रदूषण हुने विभिन्न कारणहरू छन् जसमा घरायसी काम, कृषिजन्य पदार्थ, कल कारखाना, तथा सवारी–साधनबाट निस्कने धुवाँ–धुलो र अन्य फोहोरहरू पर्दछन् ।

यसरी निस्कने धुलो–धुवाँ वायुमण्डलमा मिसिन्छ र ओजोन तहलाई पातलो बनाउँछ । ओजोन तह पातलिएपछि सूर्यका विकिरण सोझै पृथ्वीमा पर्ने भएकाले सम्पूर्ण प्राणी र प्रकृतिलाई नै यसले असर गर्दछ । प्रदूषणलाई रोक्न नसके पनि यसलाई न्यूनीकरण गर्न विश्व स्वास्थ्य संगठन र संयुक्त राष्ट्रसंघ मिलेर काम गरिरहेका छन् । यी दुई संघ मिलेर मुख्य गरी जल र वायु प्रदूषणमा केन्द्रित रहेर काम गरिरहेका छन् ।

पछिल्लो समय वातावरणमा नकारात्मक परिवर्तन देखिँदै आएको छ । अध्ययनका अनुसार अस्पतालमा आउने बिरामीहरू वातावरण प्रदूषणको कारणले बढ्दै गइरहेकोे देखिन्छ ।वायु प्रदूषणको प्रकोप ठूलाभन्दा पनि साना बालबालिका र बुढापाकामा बढी परेको देखिन्छ । स्कुल जाने बालबालिकाले मास्कको प्रयोग गरे पनि प्र्रदूषित हावापानीले उनीहरू शारीरिक तथा मानसिक रूपले कमजोर हुँदै गएका छन् ।

बढ्दै गएको वातावरणीय समस्याले चाडैँ नै प्राकृतिक सम्पदाहरू नष्ट हुने वातावरण विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् । यसरी बढ्दै गइरहेको प्राकृतिक सम्पदाहरूकोे विनाशलाई कम गर्नको लागी वातावरणीय क्षेत्रमा काम गर्ने संघ–संस्था र विज्ञहरू लागि परेका छन् । बढ्दो वातावरण प्रदूषणलाई न्यूनीकरण गर्नका लागि विभिन्न तरिकाहरू प्रयोगमा ल्याउन सकिन्छ । सरकारी तहबाट मात्र नभई स्थानीय तहबाट पनि चेतनामुलक कार्य गर्ने हो भने वातावरण स्वच्छ राख्न सकिन्छ ।

सवारी साधन चलाउँदा पेट्रोल र डिजलबाट चल्नेभन्दा पनि विद्युतीय सवारी साधन प्रयोग गर्दा वायु प्रदूषणलाई रोकथाम गर्न सकिन्छ । त्यस्तै खाना पकाउँदा सुधारिएको चुलोलाई प्रयोगमा ल्याउने हो भने घरको वातावरण स्वच्छ रहन्छ । सडक किनारा तथा घरवरिपरि वृक्षरोपण गर्ने हो भने पनि धेरै हदसम्म प्रदूषण न्यूनिकरण गरेर वातावरण सन्तुलित राख्न सकिन्छ ।

वातावरण जोगाउनका लागी यसलाई हानी पुर्याउने कार्यहरू गर्न सकिन्छ, जस्तैः बाटोमा फोहोर नजलाउने, घरायसी फोहोर जथाभावी नफाल्ने, प्लाष्टिकको प्रयोग नगर्ने, वन जङ्गल फँडानी कम गर्ने लगायत विभिन्न क्रियाकलापहरूले वातावरण संरक्षणमा मद्दत पु¥याउन सक्छन् ।

ताजा समाचार

सम्बन्धित समाचार