बेझाड – कृत्रिम तालका रूपमा विकास गरिएको पाल्पा रामपुरको तालपोखरामा डुङ्गा सयर गर्नेको आकर्षण बढ्दै गएको छ। सामाजिक सञ्जाल, सञ्चारमाध्यममा तालपोखराको फोटोसहित समाचार आउन थालेपछि पर्यटकको सङ्ख्यामा वृद्धि आएको हो।
तालपोखरामा डुङ्गा सयर गर्दा फेवातालको झल्को मेटाएको पाल्पा बगनासकाली गाउँपालिका आर्यभन्ज्याङ्की नारायणी भट्टराईले बताइन। तालपोखराको भौतिक पूर्वाधार अगाडि बढ्दै गएको खण्डमा फेवातालले जस्तै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पहिचान बनाउनसक्ने उनी बताउँछिन्।
करीब ५५ रोपनी क्षेत्रफलमा फैलिएको कृत्रिमताल अवलोकन गर्न आउने आन्तरिक पर्यटकको अहिले चाप बढ्दै गएको हो। दिनहुँ दुई सय भन्दा बढी पर्यटकले डुङ्गा सयर गर्ने गरेको तालपोखरा संरक्षण समितिका सचिव सुनिल देवकोटा बताउँछन्।
फेवातालको स्वरूपमा निर्मित तालपोखरामा डुङ्गा सयर गर्ने, तालको बीचमा रहेको जलेश्वर महादेवको मूर्तिमा पूजा गर्ने, फोटो खिचाउनेको चहलपहल रहेको छ। “डुङ्गा सयर गरेर ताल वरिपरि घुम्दै आनन्द लिन आउनेको सङ्ख्या दिनानुदिन बढ्दै जाँदा आम्दानी पनि राम्रै हुँदै गएको छ” देवकोटाले भने।
साउनबाट यता पाँच हजार पर्यटकले डुङ्गा सयर गरेको र दुई लाख ५० हजार रुपैयाँ बराबरको आम्दानी भएको छ। २०७४ माघ २४ गतेदेखि तालपोखरामा डुङ्गा सञ्चालन शुरु गरिएको हो। यहाँ नियमितरूपमा दुईवटा डुङ्गा सञ्चालनमा छन्।
अहिलेसम्म डुङ्गा सञ्चालनबाट रु आठ लाख बराबरको आम्दानी भएको समितिका सचिव देवकोटाले जानकारी दिए। डुङ्गाबाट उठेको आम्दानीको ४० प्रतिशत रकम डुङ्गा चलाउनेलाई दिने व्यवस्था गरिएको छ। प्रतिव्यक्ति रु ५० टिकट कायम गरिएको छ।
आम्दानीको स्रोत बढाउन तालपोखरामा माछाका भुरासमेत राखिएको छ। अहिले १६ हजार माछा यहाँ रहेका छन्। माछा बिक्रीबाट करीब रु २० लाख बराबरको आम्दानी गर्ने समितिको सोच छ।
कृत्रिम तालसँगै २० रोपनी क्षेत्रफलमा पार्क निर्माण गरिएको छ। पार्कबाट पनि राम्रै आम्दानी गर्ने वातावरण मिलेको छ। अहिलेसम्म पार्कबाट रु २५ हजार बराबरको आम्दानी भएको छ। पार्क प्रवेश शुल्क प्रतिव्यक्ति रु पाँच कायम गरिएको छ।
मासिक रु ५० हजार खर्च हुने गरेको छ। दानपेटिकाबाट रु एक लाख भन्दा बढी रकम सङ्कलन भएको छ। तालपोखराको भौतिक पूर्वाधारमा हालसम्म रु एक करोड २० लाख रकम खर्च भइसकेको छ भने बाँकी रु एक करोड बराबरको रकम लाग्ने अनुमान छ। अहिलेसम्म पाल्पा, स्याङ्जा, तनहुँ, नवलरासी, रुपन्देही, कास्की, चितवन, नेपालगञ्ज, इलाम, अछामलगायत थुप्रै जिल्लाका आन्तरिक पर्यटक भित्रिसकेको तालपोखरा संरक्षण समितिका अध्यक्ष भरतराज देवकोटाले बताए।
“निकट भविष्यमा पाल्पा सदरमुकाम तानसेन र पोखरा आएका बाह्य पर्यटकलाई रामपुरमा भित्र्याउने योजनाका साथ काम गरिरहेका छौँ” उनले भने, “तालपोखराको विकासका लागि स्थानीयवासीले महायज्ञ सञ्चालनबाट रकम सङ्कलन गरी २०६६ बाट यसको काम अगाडि बढाएका हुन्।
रामपुर नगरपालिकाले आ व २०७३/७४ मा एक लाख २५ हजार, ०७४/७५ मा २८ लाख र ०७५/७६ मा रु २० लाख रकम भौतिक पूर्वाधारका निम्ति सहयोग गरेको समितिका लेखापाल पुरुषोत्तम ढकालले जानकारी दिए। सरकारले हालैमात्र एक सय पर्यटकीय क्षेत्र अन्तर्गत तालपोखरालाई पनि पर्यटकीय क्षेत्रका रूपमा सूचीकृत गरेको छ। रासस